काठमाडौँ, २ वैशाखः प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भई आज वैशाख २ गतेसम्म २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही भएको थियो ।

यस अवधिमा गत फागुन ६ गते र चैत ६ गतेका बैठकहरूमा सञ्चालन भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा २६ जना सदस्यहरूले सोध्नुभएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुभएको थियो ।

त्यस्तै सभाको पहिलो बैठकमा पेस भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई गत फागुन ६ गतेको सभाको बैठकले स्वीकृत गरेको थियो । सभाको पहिलो बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम पेस भएको थियो ।

चालु अधिवेशनमा गत फागुन ३० गतेको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भएको थियो ।

सभाको दोस्रो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौतामध्ये ‘विमस्टेक वडापत्र’लाई गत चैत २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धको स्थापनासँग सम्बन्धित सम्झौता’माथिको सामान्य छलफल समाप्त भइसकेको छ ।

त्यसैगरी गत फागनु १४ गतेको बैठकमा पेस भएको आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि यही चैत १, ५, ६ र ७ गतेको सभाको बैठकहरूमा छलफल गरिएको थियो ।

सभाको यस अधिवेशनमा प्रतिनिधिसभामा पाँचवटा सरकारी विधेयक दर्ता भएका थिए । जसमध्ये ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’, समितिमा विचाराधीन रहेको छ, ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ र ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०’ सभामा प्रस्तुत भएका छन् भने ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ दर्तामात्रको स्थितिमा रहेको छ ।

साथै सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक’ माथि राष्ट्रियसभाबाट गरिएको संशोधनलाई यस सभाले स्वीकार गरी पारित गरेको छ  ।

यस अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैरसरकारी विधेयक प्रतिनिधिसभामा प्राप्त भएका थिए । जसमध्ये ‘विद्युतीय व्यापार विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भइसकेको छ ।

त्यस्तै सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त आठवटा विधेयकमध्ये ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सभाबाट पारित भएको छ । बाँकी छवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् । यसरी सभाबाट यो अधिवेशनमा कुल तीन विधेयक पारित भएका छन् ।

प्रतिनिधिसभाको चालु अधिवेशनमा सदस्यबाट दर्ता हुनआएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक र आठवटा लिखित प्रश्नमध्ये ३२ वटा मौखिक र दुईवटा लिखित प्रश्नको उत्तर प्राप्त भएकामा सभाको गत चैत २० गतेको बैठकमा छवटा मौखिक प्रश्नको सम्बन्धित मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भयो ।

यस अधिवेशनमा प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस भयो । सभाको यस अधिवेशनमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारी र संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधन भएकामा शोक प्रस्ताव पारित भएका थिए ।

सभाको विभिन्न बैठकको आकस्मिक, शून्य र विशेष समयमा सभाका सदस्यले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाका सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको थियो । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले दुईपटक, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुईपटक र तत्कालीन खानेपानीमन्त्री महिन्द्रराय यादव एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एकपटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिनुभएको थियो ।

 

संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराउनुभयो ।

बैठकमा उहाँले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराउनुभयो । चालु अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको जनाइएको छ । यस अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन् ।

आजको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताउनुभएको थियो । साथै उहाँले आजको लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो ।

बैठकमा सभामुखले प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नुभएको थियो । उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।

 

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलकः सभामुख

सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा आज आयोजित बैठकमा उहाँले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्नेलगायतका कार्यमा तुलनात्मक रूपमा अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताउनुभएको हो ।

सभामुख घिमिरेले भन्नुभयो, “अघिल्ला अधिवेशको तुलनामा तेस्रो अधिवेशन उपलब्धिपूर्ण भए पनि पर्याप्य भने हुन सकेन । राजनीतिक दलहरूबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका आधारमा आगामी अधिवेशन अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको छु ।”

उहाँले अधिवेशन अवधिभर सक्रियतापूर्वक सहभागी हुने सदस्यलाई धन्यवाद ज्ञापन गर्दै संसदीय कार्यमा सहयोग गर्ने सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षालगायतका सबै संयन्त्रलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

“संसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुन्छन्”, उहाँले भन्नुभयो, “नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वाभाविक रूपमा देखिन्छन् । संसद्मा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्याउँछ ।”

संसद्मा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुनसक्ने सभामुखको भनाइ थियो । संसद् जति क्रियाशील र प्रबुद्ध भयो त्यसले त्यति नै विधि निर्माणमा गुणात्मक प्रभाव पार्ने बताउनुभयो । त्यस अवसरमा उहाँले नयाँ वर्ष २०८१ सालको शुभकामना व्यक्त गर्नुभयो ।

सदनको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको असहमति 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति असहमति  जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले बजेट अधिवेशनको लागि पर्याप्त समय हुँदाहुँदै चालु अविधेशन अन्त्य गर्न सरकारले गरेको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो निर्णय संसदीय मूल्य मान्यता विपरीत भएको बताउनुभयो । उहाँका अनुसार कांग्रेसले सरकारको निर्णयप्रति असहमति जनाएको हो ।

“सदनमा विपक्षी दलहरुले सहकारीको रकम अपचलन र विषयमा कुरा उठाउँदै आएका छन्, सरकारमा सहभागी मन्त्री नै सहकारीको रकम अपचलनमा संलग्न रहेको हुँदा निष्पक्ष र स्वतन्त्र छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उठाउँदै आएका थिए”, उहाँले भन्नुभयो, “सरकारले यस विषयलाई गम्भीरतापूर्वक नलिएर बेवास्ता गर्दै आएको छ । प्रतिपक्षी दलका कारणले सदन अवरुद्ध भएको भनी सत्तापक्षले आरोप लगाएको छ, त्यो आरोप मात्रै हो ।”

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्नता रहेको विषय तथ्य र प्रमाणसहित कुरा उठाउँदै आएको बताउँदै प्रमुख सचेतक लेखकले यसमा सरकार गम्भीर नहुँदा सदन केही दिन अवरोध भएकाले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।

कांग्रेस संसदीय दलको यो बैठकले सहकारीको रकम ठगी गर्नेको विषयमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनका लागि थप दृढतापूर्वक उभिने प्रतिबद्धता गरेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । साथै बैठकले सरकारले सदनलाई पर्याप्त समय दिन नसकेकाले यस अधिवेशनमा संविधान र सङ्घीयता कार्यान्वयनका विषयमा आवश्यक कानुन बन्न नसकेको अरोप समेत लगाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय