खोजी समाचार : विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला 

खोजी समाचार : विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला 

पूर्णप्रसाद मिश्र
काठमाडौँ, ३० वैशाख :

आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा वाग्मती नदी हुनु वास्तुशास्त्रीय मतमा राम्रो हो । वाग्मती नदीले मन्दिरअघिको अग्लो वनको वास्तु दोष निवारण गर्दछ । पशुपतिनाथको आग्नेय कोणमा भान्सा छ । भान्साको यो संरचना वास्तु नियम पालना गरेर बनाइएको छ । यसैगरी शिवजीलाई स्नान गराइएको जल उत्तरपूर्व हुँदै बगेर ब्रह्मनालबाट वाग्मतीमा मिसिनुपनि वास्तुसम्मत छ ।

सुपुष्पदेवले पशुपतिनाथ मन्दिर निर्माण गर्दा सबै वास्तु नियम पालना गरेर बनाएका थिए । पशुपतिनाथ मन्दिर राजा भोजको वास्तु सल्लाहमा बनाएको मानिन्छ । वास्तुविद् राजा भोजको ‘समराङ्गणसूत्रधार’ नामक वास्तुशास्त्रको ग्रन्थ चर्चित छ । पशुपतिकामूलभट्टको निवास दक्षिण पश्चिम भागमा हुनु पनि वास्तुसम्मत छ ।

नैऋत्यकोणको सत्तलमा २०५९ सालमा खोलिएका दुई ढोका, वत्सलेश्वरीसँगैको अर्थात् आग्नेय कोणको ढोका र शङ्कराचार्यमठबाट नैऋत्य कोणमा २०५७सालमा बस्ती हटाएपछि खोलिएको फलामको ढोका बाहेक अरु सबै ढोका उच्च कोटीमा हुनु पनि वास्तुसम्मत रहेको वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ । वास्तुविपरीत पशुपतिनाथमा चार ढोका निर्माण गर्दा पशुपति क्षेत्र र नेपाल राष्ट्रलाई नै नकारात्मक प्रभाव परिरहेको उहाँको भनाइ छ ।

“पशुपतिनाथको नैऋत्यकोणको ढोका भने सबै वास्तुशास्त्रका पुस्तकमा बताएअनुसार गलत छ । यो ढोकालाई आँखी झ्यालको शैलीमा प्वाल प्वाल बनाउनु आसुरी शक्तिको प्रवेश गराउनु हो, नैऋत्यकोणबाट हावा पनि छिर्नु हुँदैन”– वास्तुशास्त्री पोखरेलले भन्नुभयो ।

वास्तुशास्त्रीय ग्रन्थ विश्वकर्मा प्रकाशको द्वारचक्रमा बताएअनुसार पितृ र मृग पदमा पशुपतिनाथका नैऋत्य कोणका ढोका पर्छन् । मृग पदमा पर्दा पुत्र नाश एवं कष्ट हुने पुस्तकमा उल्लेख गरिएको छ । विश्वकर्मा प्रकाशमा भनिएको छ–

अधनं भृङ्गराजाख्ये मृगे पुत्रविनाशनम् ।
पश्चिमे पित्र्ये स्वल्पायुरधनं महद् भयम् ।। (विश्वकर्मा प्रकाश अध्याय ५२ श्लोक ६१, पृष्ठ १८७)

लामो समयसम्म पशुपति क्षेत्र विकास कोषको प्राविधिकका रुपमा काम गर्नुभएका इञ्जिनियर राजेन्द्रधर राजोपाध्यायपशुपति क्षेत्रको संरचनाको विकासले गर्दा देशको अत्यन्त प्राचीन वास्तुकलासमेत पनि बचाउन नसकिएको बताउनुहुन्छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रको विकास गर्ने नाममा पुरातात्विक महत्वको वास्तु बिगार्न थालिएको छ । गलत वास्तुको प्रभाव समग्र देशका साथै पशुपति क्षेत्रको व्यवस्थापन गर्ने अधिकारीलाई पनि परेको वास्तुशास्त्रीय विश्लेषण हुन थालेको छ ।

वास्तु बिगारिएका ढोकाको नाप

पूर्वआग्नेयबाट नैऋत्य कोणसम्मको नाप १३५ फिट छ । पूर्व आग्नेयबाट नैऋत्य कोणको ठूलो ढोकाको बीचसम्मको नाप १२१ फिट छ । पूर्व आग्नेयबाट सत्तलबीचको सानो ढोकासम्मको नाप ८७ फिट छ । पूर्व आग्नेयबाट दक्षिण आग्नेयको सानो फलामको ढोकाको नाप २३ फिट छ । पूर्व आग्नेयबाट दक्षिण आग्नेयको काठको सानो ढोकाको नाप १६ फिट छ । सत्तलको ठूलो ढोकालाई भिआईपी गेट पनि भनिन्छ । अनौपचारिक रुपमा पशुपतिनाथ जाने उपल्लो तहका पदाधिकारी यो ढोकाबाट पशुपतिनाथको दर्शनका लागि प्रवेश गर्ने गरेकाले भिआइपी गेट भनिएको यहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अधिकारीको भनाइ छ । यो ढोकालाई आर्यघाटको काठको ढोका पनि भन्ने गरिएको छ ।

वास्तुशास्त्रका ग्रन्थमा पूर्व, उत्तर र पश्चिमका ढोकाका विषयमा मतमतान्तर पाइन्छ । नैऋत्य कोणका ढोका भने गलत हुने व्याख्या वास्तुशास्त्रका सबैजसो ग्रन्थले गरेका छन् । पशुपतिनाथमा पूर्व, उत्तर र पश्चिममा निर्माण गरिएका ढोका उच्च कोटीको रहेको वास्तुविद् पोखरेल बताउनुहुन्छ । पशुपतिनाथमन्दिरको पर्खालको चार कुना दक्षिण पूर्वमा काटिएर नमिलेको उहाँ बताउनुहुन्छ । आर्यघाट जाने बाटोले गर्दा पशुपतिनाथको चार कुना नमिलेको हो ।

पशुपतिनाथ मन्दिरको दक्षिण–पश्चिम पर्खाल (बज्रघरसँग जोडिएको भाग–१३५ फिटसम्म) ३३.५ फिट छ । नैऋत्य ढोकाको पश्चिमी बाहिरी भाग २० फिट छ । मन्दिरको भूखण्ड चन्द्रभेदी अर्थात् उत्तर दक्षिण लामो छ । वास्तुशास्त्रीय दृष्टिमा यो शुभ मानिन्छ । पूर्व–पश्चिम लामो हुने भूखण्डलाई सूर्यभेदी भनिन्छ । वास्तुशास्त्रीय दृष्टिमा यस्तो भूखण्ड अशुभ मानिन्छ । नेपालको भूखण्ड सूर्यभेदी छ ।

वास्तुविपरीतको ढोका बन्दा बनेनन् गुरुयोजना अनुसारका आधा दर्जन ढोका

कोष सञ्चालक परिषद्का पूर्व सदस्य र कोषाध्यक्षसमेत रहिसक्नुभएका बागमती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्य नैऋत्यकोणको ढोका खोल्ने बेलामा आधा दर्जन अरु ढोकाकोसमेत डिजाइन गरिएपनि वास्तुविपरीतको ढोकामात्र निर्माण गरेर अरु नबनेको बताउनुहुन्छ । त्यसबेला पिङ्गलस्थानस्थित चक्रपथबाट पशुपति मन्दिर प्रवेश गर्ने गरी बाहिरी ढोकासमेत बनाउने गरी डिजाइन बनाइएको थियो । गुरुयोजना अनुसार बनाइएको यो ढोकाको डिजाइन अलपत्र बन्यो । यहाँ पछि नेपाल एसबिआइ बैंकले ढोका निर्माण गरेको छ ।

कलात्मकरुपमा डिजाइन गरिएका यीआधा दर्जन ढोकाको ठेक्काका लागि गोरखापत्र दैनिकमा सूचनासमेत प्रकाशन गरिएको थियो । जसअनुसार धेरैवटा ठेक्का परेको त्यसबेलाका सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका वैद्यले सुनाउनुभयो । यी सबै ढोकाको डिजाइन इञ्जिनियर जीवराज पोखरेलले नै गर्नुभएको थियो । त्यसबेला डिजाइन गरिएको अर्को ढोका गुह्येश्वरीबाट पशुपति निस्कने थियो । जुन ढोका उमाकुण्डसँगैको भागमा बनाउने योजना थियो । यो ढोका अझै पनि बन्ने अत्तोपत्तो छैन ।

त्यसबेला डिजाइन गरिएको भुवनेश्वरीबाट पशुपति निस्कने ढोका पनि अहिलेसम्म बनेको छैन । त्यसबेला डिजाइन गरिएकामध्ये पशुपतिको नैऋत्यकोणको ढोकामात्र बनेको काठमाडौँ महानगरपालिका वडा नं ८ को पूर्व वडा अध्यक्षसमेत रहीसक्नुभएका वैद्य बताउनुहुन्छ । पशुपतिको दक्षिण ढोकामा महादेवको त्रिनेत्र खुल्ने मानिन्छ । यसले नै देख्ने गरी नैऋत्यकोणको ढोका बनाइएको छ । पशुपति मन्दिरको दक्षिणी भागमा उन्मत्त भैरवको मन्दिर बनाउनुअघिसम्म दक्षिण ढोकाले देख्ने ललितपुरको पाटन क्षेत्रमा विभिन्न समस्या भइरहन्थ्यो । तान्त्रिकको सल्लाहअनुसार पशुपति मूल मन्दिरको दक्षिणी भागमा पर्ने गरी उन्मत्त भैरवको मन्दिर बनाएपछिमात्र पाटन क्षेत्रमा आउने गरेको समस्या हल भएको विश्वास गरिन्छ ।

सुनको जलहरी बनाएको जस्ताको टहराको वास्तु पनि गलत

पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी बनाउन पशुपति क्षेत्रको रुद्रगारेश्वरमा जस्ताको टहरा बनाएको थियो । विवादबीच सुनको जलहरी राखिसकेपनि रुद्रगारेश्वरको जस्ताको टहरा भने अहिलेसम्म राखिएको छ । जलहरी बनाउनका लागि सुन गाल्न निर्माण गरिएको जस्ताको टहराको वास्तु पनि गलत रहेको वास्तुशास्त्री पोखरेल बताउनुहुन्छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कोषका कर्मचारीको घेराबीच सुनको जलहरी बनाइएपनि सुनको मात्रामा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । अख्तियारले अनुसन्धान एवं राखिसकेको सुनको जलहरी नापेर विशेष अदालतमा मुद्दा दायर गरेकामा आरोपितले सफाइ पाएका छन् । सुनको जलहरी राख्ने बेलाका कोषका सदस्य सचिव डा प्रदीप ढकाल र त्यसबेलाका कोषाध्यक्ष एवं मुद्दा दायर गर्ने बेलाका सदस्य सचिव डा मिलनकुमार थापालगायत कर्मचारीविरुद्धविशेष अदालतमा मुद्दा दायर भएको थियो ।

पशुपतिनाथमा सुनको जलहरी राखिसकेपछि पशुपतिनाथका प्रधान अर्चक गणेश भट्टलाई गणेशको मूर्ति बनाउन भनी एक किलो सुन दिएको चर्चा अहिले पशुपति क्षेत्रमा चल्न थालेको छ । मूलभट्टले यस्तो बयान अदालतमै दिएको चर्चा पशुपति क्षेत्रमा चलेको हो ।

सुनको जलहरी बनाएको जस्ताको टहराको स्वरुप

रुद्रगारेश्वरको इशान कोणमा सुनको जलहरी बनाउने जस्ताको टहरो बनाइएको छ । यो टहरो पशुपतिनाथ मूल मन्दिरको उत्तरमा पर्छ । जस्ताको टहरोमा प्रवेश गर्ने द्वार दक्षिण–पश्चिम अर्थात् पितृ पदमा बनाइएको छ । यो टहरो बनाएपछि नेपालमा फेरि कोरोना महामारी फैलिएको पशुपति क्षेत्रका गतिविधिमा सूक्ष्म निगरानी गर्दै आउनुभएका वास्तुविद् पोखरेल सुनाउनुहुन्छ ।

जस्ताको टहराको गलत वास्तुकै कारण सदस्य सचिव एवं सुनको जलहरी निर्माणताकाका कोषका कोषाध्यक्ष तथा जलहरी निर्माण समितिका संयोजक थापाले संसदीय समितिमा गल्ती नगर्दा पनि सुन चोरको आरोप आएकाले आत्महत्या गरुँजस्तो लागेको बताउनुपरेको पनि उहाँले सुनाउनुभयो । कोषको कार्यकारी भएर काम गर्ने अधिकारीले यसरी बोल्नुपर्ने अवस्था यहाँ बनाइएको गलत वास्तु संरचनाका कारण आएको वास्तुविद्हरुको विश्लेषण छ ।

वास्तु नियम पालना गरिएका विश्वका प्रमुख मन्दिर

भारतको बालाजी तिरुपति मन्दिरमा वास्तुशास्त्रले बताएअनुसार उच्चकोटी र निम्न कोटीको नियमलाई पालना गरिएको छ । यसैगरी विश्वमै बढी खर्च लगाएर निर्माण गरिएको भारतको दिल्लीस्थित अक्षरधाम मन्दिरमा पनि पूर्णरुपमा वास्तु नियम पालना भएको छ ।

भारतले वास्तु अनुसार राजधानी कोलकाताबाट नयाँदिल्ली सारेपछि समृद्धि प्राप्त हुन थालेको थियो । वास्तु अनुसार जापानको राजधानी क्वेटो शहरबाट टोकियो सारेपछि विकास र समृद्धिले गति लिन थालेको हो । क्वेटो शहरको उत्तरमा पहाड छ । वास्तुशास्त्र अनुसार यसले धनात्मक ऊर्जालाई छेक्छ ।

भारतका धनी मन्दिरहरुको उत्तरपूर्वमा पोखरी छ । यस्तो अवस्था केरलाको स्वामी पद्मनाभ मन्दिर र तिरुपतिको बालाजी मन्दिरमा देख्न सकिन्छ । पशुपतिनाथको उत्तरमा भने कैलाश डाँडा हुनु भौगोलिक वास्तु अनुसार गलत हो ।उत्तरको पहाडले धनात्मक ऊर्जालाई छेकेको छ । उत्तरमा अग्लो हुने नेपाल, भुटान, इथियोपिया, दक्षिण अफ्रिकालगायत देश छन् । जापानका तीन शहर क्वेटो, हिरोसिमा र नागासाकीमा पनि उत्तरमा पहाड छ । यही वास्तु दोष मिलाउन जापानले राजधानी शहर क्वेटोबाट टोकियो सारेको वास्तुशास्त्रीहरुको तर्क छ ।

बेलायतको लण्डनमा निर्माण गरिएको स्वामी नारायण मन्दिरमा पनि वास्तु नियम पालना भएको छ । यसको चर्चा अङ्ग्रेजीमा लेखिएको वास्तुको पुस्तक ‘वास्तु विद्या’ मा गरिएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निम्न कोटीमा रहेको पूर्वको ढोका पूर्णरुपमा बन्द गरेर उत्तरपूर्वमा थोरै जग्गा किनेर दक्षिण फर्काएर उच्चकोटीको ढोका निर्माण गर्नुभएको छ । यसो गरेपछि नै उहाँ पार्टी अध्यक्ष र दुईपटक प्रधानमन्त्री हुनुभएको विश्वास छ ।

वास्तुमा मुहूर्त

वास्तुमा मुहूर्त पनि मिलाउनुपर्छ । (विश्वकर्मवास्तु शास्त्रम् पृष्ठ १४) पशुपतिनाथ मन्दिर परिसरमा २०८० वैशाख १० गतेदेखि अयुत चण्डी महायज्ञ गरिएको थियो । त्यसबेला वृहस्पति अस्त थियो । पशुपति क्षेत्रजस्तो स्थलमा यसरी मुहूर्त नमिलेका बेला शुभ कर्म गर्दा देशलाई नराम्रो भएको वास्तुशास्त्रीहरुको भनाइ छ । मुहूर्त नभएका बेला महायज्ञ नगर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्तिमार्फत् नै आह्वान गरेको थियो । सरकारले चाडपर्व, मुहूर्त निर्णय गर्न स्थापना गरेको संस्थाले सार्वजनिक रुपमा विज्ञप्तिमार्फत् आह्वान गर्दा पनि अयुत चण्डी महायज्ञ रोकिएन । यसको प्रभाव पशुपति क्षेत्रको व्यवस्थापन गर्ने पशुपति क्षेत्र विकास कोषमा परेको वास्तुशास्त्री पोखरेलले सुनाउनुभयो ।

विशेषगरी वास्तुशास्त्रमा देवस्थापना, द्वारस्थापना, गृहारम्भ, प्रासादारम्भ, गृहप्रवेश, वापीतडागादि खनन, शिलान्यास आदि अनेक विषयमा काल अर्थात् समयको महत्व दर्शाइएको छ । आचार्य विश्वकर्माले समयको महत्व बुझाउँदै भन्नुभएको छ–

आदौ कालं परीक्षेत् सर्वकामार्थसिद्धये ।
कालो हि सर्वजीवानां शुभाऽशुभफलप्रद : ।।
कालातिक्रमणे दोषो द्रव्यहानिश्च जायते ।
देवानामपि देवीनांविप्रादीनां विशेषत : ।।
प्रासादभवनारम्भे स्तम्भस्थापनकर्मणि ।
द्वारस्थापनवेलायां भवनानां प्रवेशने ।।
वापीतडागनिर्माणे गोपुरारम्भकर्मणि ।
विमानमण्डपरामगर्भगेहोद्धतो तथा ।।
कालं शुभं परीक्षेत् मङ्गलावाप्ति साधकम् ।
देशभेदेन कालोऽपि भिन्नतां प्रतिपद्येत ।।
इष्टिकान्यसनं शस्तं शुभकाले विशेषत ः ।
तस्मात्सर्वप्रयत्नेन शुभं कालं न लङ्घयेत् ।।

यसैले वास्तुशास्त्रमा काल अर्थात् समय अत्यन्त महत्वपूर्ण छ । कालको ज्ञान कालविधान ज्योतिषशास्त्रको अधीनमा छ । यसैले कालको ज्ञानका लागि ज्योतिषशास्त्रको ज्ञान हुनुपर्छ ।

विश्वकर्मा वास्तुशास्त्रका अग्रणी व्यक्तित्व मानिनुहुन्छ । उहाँले वास्तुशास्त्र सुरु गर्दा सुरुमै पशुपतिनाथको प्रार्थना गर्नुभएको छ ।

विश्वकर्म शिवस्तुति :
नम : कैलाशनाथाय पशूनां पतये नम : ।
नमोऽष्टमूर्तये गौरीकमनाय नमोनम : ।। १ ।।

वास्तुपुरुषको उत्तरपूर्वमा शिर हुन्छ । पशुपतिनाथको उत्तरभागमा रहेको पेटी २०६० सालअघि भत्काइएको थियो । वास्तुपुरुषको दक्षिणपश्चिम भाग अर्थात् आग्नेय कोणमा गोडा र मलमूत्र त्याग गर्ने स्थान हुन्छ । यस ठाउँको संरचना बिगारेर वास्तु अनुसार गलत स्थानमा ढोका निर्माण गरिएको छ ।

पशुपति क्षेत्र विकास, कोष संस्कृति संरक्षण महाशाखाका पूर्व प्रमुख गौरीशङ्कर पराजुली नैऋत्यकोणमा २०५९ सालमा खोलिएको ढोका ठूला पर्वमा मात्र खोलेर अरु बेला बन्द गर्ने गरिएको बताउनुहुन्छ । ठूला पर्वमा पशुपतिनाथ मन्दिरमा आउने भक्तजनलाई दु्रत गतिमा दर्शन गराउने उद्देश्यले वसन्त चौधरी सदस्यसचिव भएका बेला यो ढोका खोलिएको जानकारी उहाँले दिनुभयो ।

पहिले कोषले रु ५०० र रु एक हजारको टिकट काटेर भक्तजनलाई पशुपतिनाथ मन्दिरको दर्शन गराउन पनि यही ढोका प्रयोग गर्ने गरेको थियो । पशुपतिको मुख्य क्षेत्रमा रहेको बस्ती २०५७ सालमा हटाएपछि यो ढोका खोलिएको हो ।

यो ढोका खोल्ने बेलामा पनि वास्तु नमिलेको विषयको चर्चा भएको कोषका पूर्व कर्मचारी मुकुन्द पाण्डे बताउनुहुन्छ । कोष सञ्चालक परिषद्कोतत्कालीन सदस्यसमेत रहनुभएका सुन्दरप्रसाद शाहले पनि वास्तु नमिलाई ढोका खोल्ने कुराको बिरोध गर्नुभएको थियो । यो ढोकासँगैको सत्तल शाह परिवारकै पुर्खाले बनाएकाले यसको संरक्षण परिवारले नै गर्दै आएको छ ।

नैऋत्य कोणमा खोल्न लागिएको ढोका वास्तुविपरीत छ भन्ने चर्चा चलेपछि अध्ययन गर्न कोषका तत्कालीन सदस्य सचिव वसन्त चौधरीको संयोजकत्वमा समिति पनि गठन गरिएको थियो । त्यसबेला मूल मन्दिरको सिधा दक्षिण ढोका खोल्नुहुँदैन अलक्षण लाग्छ भनी चर्चा भएको पूर्व कर्मचारी पाण्डेले स्मरण गर्नुभयो ।

वैदिक उद्बोधन सङ्घले प्रकाशन गरेको ‘वैदिक वास्तु’ पुस्तकमा कुलचन्द्र कोइरालाले लेख्नुभएको ‘पशुपतिको वास्तु’ शीर्षकको लेखमा शास्त्रीय दृष्टिमा पशुपति क्षेत्रको वास्तु केही गलत देखिएको उल्लेख छ । ज्योतिषाचार्य बराहमिहिरले बीस प्रकारका देवभवनको गणना गरेको पाइन्छ । जसलाई मेरु, मन्दर आदि नाम दिइएको छ । मेरु नामक प्रासादको ३२ हात छ कोणवाला चार ढोका दश भूमिका ६४ हात अग्लो भनेर बराहमिहिरले व्याख्या गरेको पाइन्छ ।

बराहमिहिरपछि विकसित हँुदै गएको प्रासाद वास्तुमा नागरशैली चतुरस्र, बेसरशैली वृत्त (वर्तुल) र द्राविडशैली अष्टास्त्र हुनुपर्छ भन्ने उल्लेख गरिएको पाइन्छ । कौटिल्यले पनि कुन देवता कहाँ स्थापना गर्ने भनी उल्लेख गरेको ‘वैदिक वास्तु’ पुस्तकमा लेखिएको छ ।

समराङ्गण सूत्रधार पुस्तकमा नगरभित्र र बाहिर देवता स्थापना गर्ने विषय उल्लेख गरिएको छ । बाहिर स्थापना गरेको देवताको मुख नगरपट्टि फर्काएर गर्नुपर्ने र पूर्वपश्चिम ढोका फर्काउन हुन्छ । दक्षिणतर्फ बनेका मन्दिरको उत्तरमुख गरी ढोका नबनाउने निर्देशन पाइन्छ । यसैगरी दक्षिण फर्काउन पनि निषेध गरिएको छ–

निवेशनानि कुर्वीत त्रिदशानां यथाक्रमम् ।
नगराभिमुख चित्रि वन भाञ्जि शुभानि च ।। समराङ्गण सूत्रधार अध्याय १०–११०
प्राच्यां प्रत्यङ्मुखान् कुर्यात् प्राङ्मुखांश्चाम्बु भृद्दिशि ।
याम्योदक्पाश्र्व योस्तस्य प्रादक्षिण्येन वंशगान् । समराङ्गण सूत्रधार अध्याय १०–११
दक्षिणस्यां नकुर्वीत त्रिदशानप्युदङ् मुखान् । समराङ्गण सूत्रधार अध्याय १०–१२

अर्थात् नगराभिमुख बनाएर देवताहरु क्रमपूर्वक स्थापना गर्नु । चित्र, वन, भाञ्जि (शालभान्जि) र अन्य शुभ कुरा पनि नगराभिमुख बनाउनु शुभ छ । पूर्व स्थापित देवताको मुख पश्चिम, पश्चिममा स्थापना गरेको देवता पूर्वाभिमुख, दक्षिण र उत्तर स्थापित देवताको मुख भने पाश्र्ववर्ती (पूर्व वा पश्चिममै फर्काएर) स्थापना गर्नु । देवताको स्थापना दक्षिण र उत्तर मुख पारेर नगर्नु भन्ने शास्त्रीय वचन छ ।

पशुपतिनाथ मन्दिरको चारैतिर ढोका भएपनि पश्चिम ढोकालाई मुख्य ढोकाका रुपमा प्रयोग गरिन्छ । वास्तुशास्त्र अनुसार पशुपतिनाथ मन्दिरको निर्माणकालमा देवपत्तन प्रमुख शहर रहेको यसबाट पुष्टि हुन्छ । गौशाला नजिकको बगैँचालाई आज पनि भण्डारखाल भनिन्छ । भाण्डागारको अपभ्रंश नै भण्डारखाल हो । यसबाट पनि प्राचीच दरबार यसै क्षेत्रमा थियो भन्ने अनुमान गर्न सकिन्छ । यस कुरालाई अन्य अनुसन्धानकर्ताले पनि स्वीकार गरेको ‘पशुपतिको वास्तु’ शीर्षकको लेखमा लेखक कोइरालाले उल्लेख गर्नुभएको छ ।

बराहमिहिरले जस्तै भोजराजले पनि देवताको स्थापना गर्दा नदी, समुद्र, जलाशय भएको ठाउँमा शहरबाट थोरै टाढा घना जङ्गल तथा पर्वत भएका ठाउँमा नै असल हुन्छ भन्ने स्वीकार गरेका छन्–

नदीनामम्बुधीनां च समन्तान्नगरस्य च ।
कान्तारेष्वद्रिषु स्थानं सर्वश्रेष्ठमुपासते ।। समराङ्गण सूत्रधार अध्याय १०–११२

पशुपतिनाथको मन्दिरमावास्तुशास्त्रकारको यो कथन अनुसार नै संरचना निर्माण गरिएको छ । वास्तुशास्त्रअनुसारलिङ्ग स्थापना गर्दा शहरभन्दा बाहिर गर्नुपर्छ । श्मशान दक्षिणमा हुनुपर्छ । श्मशानमा स्थापना गरिने लिङ्ग पनि दक्षिणमा नै हुनुपर्छ ।

पशुपतिनाथ मन्दिरको जग राख्दा मेरु नामक प्रासादको कल्पना गरिएको कोइरालाको लेखमा उल्लेख छ । नापमा भने बराहमिहिरको समयभन्दा केही विकसित भइसकेको र थपघट गरी बनाउने चलन पनि चलेको बुझिन्छ । मयले भने नापको आधारमा नामकरण नगरेर एक दुई तीन भूमि (तला) को आधार लिएको पाइन्छ । पछिका वास्तुशास्त्रमा १६ तलासम्मको कथन छ । १२ तलासम्मको उचाइ भएको गणना चाहिँ सर्वसम्मत मानिन्छ । सबैतिर सात वा नौ तलाको राजदरबार बनाउने परम्परा थियो ।

पशुपतिाथ मन्दिरको उचाइ परिमाण ६४ हातभन्दा कम छ । यसको पहिलो निर्माण पाँच छाना भएको, बीचमा तीन छाना भएकोमा गङ्गा रानीले एक छाना घटाई दुई छानामात्र राखेको कुरा वंशावलीकारको कथनबाट थाहा पाइन्छ । लगभग ६५ हातको उचाइ भएको पुरातन पशुपतिनाथ मन्दिरको निर्माण मेरु प्रासादको कल्पनामा गरिएको थियो होला भन्नुपर्छ । पछिका वास्तुशास्त्रकारले हुनुपर्ने उचाइ (लम्बाइको दोब्बर) मा एक भाग (चतुर्थांश) कम गर्न सकिने व्याख्या गरेको पाइनुले विभिन्न प्राकृतिक प्रकोपबाट सुरक्षा गर्ने दृष्टिकोणमा उचाइ परिमाण घटाएको हुनसक्ने लेखक कोइरालाले उल्लेख गर्नुभएको छ ।

पशुपतिनाथ मन्दिरको अहिलेको उचाइ ५१ हात २० अङ्गुल छ । मन्दिरको वास्तविक जगको परिमाणको दोब्बरमा एक चतुर्थांशभन्दा बढी नै छ । मयमतमा प्रसिद्ध राष्ट्रिय देवताका रुपमा मान्यता पाएका देवालयको निर्माण गर्दा गाउँमा होस् अथवा शहरमा नै होस् अन्य घरभन्दा नीचो गरेर बनाइयो भने त्यस ठाउँका मानिस नीच स्वभावका हुन्छन् र नारीहरु दुःशील हुुन्छन् भन्ने कुरा व्यक्त गरिएको छ–

ग्रामे वा नगरे वात्कृष्टे देवालयं तु नीचं स्यात् ।
नीचा भवन्ति पुरुषा स्त्रियोऽपि दुःशीलतां यान्ति । मयमत अध्याय ९ श्लोक ८१
तस्मात् सममधिकं वा तत्सङ्ख्येव प्रयोक्तव्या : ।
हरिहरसदनं वास्तुकमन्यत् सर्वं यथेष्टं स्यात् । मयमत अध्याय ९ श्लोक ८३

यो नियम शिव र विष्णुको मन्दिरका लागि मात्रै भनिएको भएतापनि रत्न मल्लले तुलजाको मन्दिर बनाउँदा उक्त वास्तुशास्त्रीय वचन पालना गरेका थिए भन्ने कुरा प्राचीन लोकोक्तिबाट पनि अवगत हुन्छ । तुलजाको पूजामा शिव (कामेश्वर) पूजाको अनिवार्यता हुन्छ र तुलजा एवम् देवगुलितले दुवै मन्दिरमा शिवको सान्निध्य छ ।

वरिपरिको ठाउँ, जहाँ घर बनेका छन् त्यसभन्दा उच्च पारेर नै पशुपतिनाथ मन्दिर पनि बनाइएको अनुमान हुन्छ । परम्परालाई सकभर नबदल्ने परिपाटी हिन्दू जातिमा छ । यसैले पुनःनिर्माण वा जीर्णोद्धारका क्रममा पशुपतिनाथ मन्दिरका मौलिक तत्वहरु यथावत् राखेर नै गरिएको कुरा मान्नुपर्ने निष्कर्ष कोइरालाले लेखमा दिएपनि पछिल्लो समय त्यस्तो हुन नसकेको वास्तुशास्त्री पोखरेल बताउनुहुन्छ ।

जीवराज पोखरेल र सुदर्शनराज तिवारी प्राचीन वास्तुमा पनि दख्खल राख्ने इञ्जिनीयर हुनुहुन्छ । उहाँहरुले बनाएको नक्सा अनुसार खोलिएको ढोका वास्तुविपरीत नहुनुपर्ने तर्क गर्ने वास्तुविद्हरु पनि छन् । वास्तुविद् डा खिलानाथ बस्ताकोटी ढोका नैऋत्यकोणमै खोलिएको भए त्यो गलत हुने बताउनुहुन्छ । दक्षिणको केन्द्रमा मात्र वास्तुअनुसार सही ढोका हुने उहाँले सुनाउनुभयो ।

पशुपति क्षेत्रका उन्मत्त भैरव र यज्ञशाला पुनःनिर्माणको डिजाइन तयार गर्नुभएका इञ्जिनीयर शङ्करनाथ रिमाल पशुपतिनाथको दक्षिणमा अघोर मुख हुने भएकाले पहिले बानेश्वरबाट पाटनसम्मका जग्गा कसैले नकिन्ने गरेको स्मरण गर्नुहुन्छ । आफ्ना बाजेले बानेश्वरमा सस्तो जग्गा पाएपनि पशुपतिनाथको दक्षिण क्षेत्र परेकाले नकिनेको उहाँले जानकारी दिनुभयो । यसैले नैऋत्य कोणमा ढोका खोलिनु गलत हुने कोषको पूर्व प्राविधिक सल्लाहकारसमेत भएर काम गरिसक्नुभएका रिमालले सुनाउनुभयो । पशुपतिनाथ मन्दिरको दक्षिणको अघोर मुखको आँखा छल्न यसो गरिएको हो ।

गलत ढोका खोल्न पुरातत्वको स्वीकृति

वास्तुशास्त्र अनुसार गलत ढोका खोल्न पुरातत्व विभागले पनि स्वीकृति दिएको तथ्य खुलेको छ । कोषले २०५९ वैशाख ३ गते विभागलाई चलानी नं. ११६५ को पत्र पठाई दक्षिणतर्फको सत्तल भत्काई जीर्णोद्धार गर्न स्वीकृति माग गरेको थियो । सोही सत्तल रहेको स्थानमा प्रवेशद्वार निर्माण गर्न २०५९ वैशाख ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बलबहादुर केसीको उपस्थितिमा छलफलसमेत भएको थियो । छलफलमाउक्त सत्तलको मौलिक स्केलसँग मिल्ने गरी प्रवेशद्वारसहित सत्तल पुनःनिर्माण गर्ने सहमति भएको विभागले कोषलाई दिएको पत्रमा उल्लेख छ । विभागले २०५९ साल वैशाख २५ गते कोषलाई मागे अनुसारको स्वीकृति दिएको थियो ।

स्वीकृतिमा ‘प्रस्तुत सन्दर्भमा यसैसाथ संलग्न डिजाइनअनुसार परम्परागत निर्माण सामग्रीहरु प्रयोग गरी सो सत्तलको जीर्णोद्धार संरक्षण गर्न र दक्षिणतर्फको ढोकालाई प्रवेशद्वारको रुपमा प्रयोग गर्न यस विभागको सहमति रहेको व्यहोरा निर्णयानुसार अनुरोध गरिन्छ ।’ भनी उल्लेख गरिएको छ । निर्णयानुसार अनुरोध गरी पठाइएको भनी पत्रमा उल्लेख गरिए पनि एकै पत्रबाट सबै काम भएको विभागका सूचना अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । पत्र पुरातत्व अधिकृतले तयार पारी हस्ताक्षर गरेपनि नाम स्पष्ट छैन । उपरोक्त अनुसार लेखी पठाउने स्वीकृतार्थ भनी स्वीकृति दिने अधिकारी र सदर गर्ने विभागका तत्कालीन महानिर्देशकको हस्ताक्षर भएपनि नाम भने कसैको पनि खुल्दैन । विभागमा त्यसबेला को महानिर्देशक थिए भन्ने पत्ता लगाउन नसकिएको सूचना अधिकारी पौडेल बताउनुहुन्छ ।

नैऋत्य कोणमा नयाँ ढोका खोल्न कोषले त्यहीँ रहेको सत्तल पुनःनिर्माणको मौका छोपेको पत्रबाट स्पष्ट हुन्छ । ढोका खोल्ने विषयमा छलफल गर्न तत्कालीन मन्त्री बलबहादुर केसी पनि लागिपरेको कोषमै भएको छलफलमा गएबाट प्रष्ट हुन्छ । विभागले ढोका खोल्ने स्वीकृति दिँदा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को कुन दफा अनुसार दिएको भन्ने पत्रमा खुलाइएको छैन ।

पूर्वमन्त्री केसीसँग यस विषयमा प्रतिक्रिया माग्दा आफू वास्तुशास्त्रको ज्ञाता नभएको सुनाउनुहुँदै सबै कुरा मिलेको छ भनेपछि नैऋत्यकोणको ढोकाको शिलान्यासका क्रममा पूजा आफैँले गरेको स्वीकार्नुहुन्छ । विदुर पौडेल, नरोत्तम वैद्यलगायतसँग सल्लाह गरेर नै आफूले काम गरेको पूर्व मन्त्री केसीको स्पष्टोक्ति छ । पौडेल र वैद्य दुवैजना पशुपति क्षेत्रमै बस्ने र यहाँको प्राचीनताका विषयमा जानकार भएकाले उहाँहरुको सहमति भएकैले आफूले पनि यो विषयलाई नरोेकेको उहाँले सुनाउनुभयो ।

शैव मतअनुसार पनि नैऋत्यको ढोका गलत

पशुपति क्षेत्र विकास कोष गठन भएपछि पहिलो कार्यकालमा त्यसको नेतृत्व गर्नुभएका श्रीयन्त्रका साधक एवं श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाइँ शैव मत अनुसार पनि नैऋत्य कोणको ढोका गलत रहेको बताउनुहुन्छ । लिच्छवि राजासुपुष्पदेवले पशुपतिनाथको मन्दिर निर्माण गराउँदा वास्तुसम्मत गराएका थिए । उहाँका अनुसार वास्तुसम्मत संरचना २०१६ सालसम्म रहेको थियो । राजा महेन्द्रको विश्वासपात्रका रुपमा रहेका विष्णुमणि आचार्य दीक्षितलाई २०१६ सालमा काठमाडौँ उपत्यका निर्माण समितिको अध्यक्ष बनाइएको थियो । सो समितिले पशुपतिनाथलगायत राजधानीका मन्दिरको जीर्णाेद्धार र मर्मत सम्भार गर्नेक्रममा पशुपतिनाथको पश्चिमढोकाको स्वरुप बिगारेको उहाँले जानकारी गराउनुभयो ।

“पशुपतिनाथको पश्चिम मूलढोका छिर्दा सामान्य मानिसले निहुरिनु नपर्ने अग्ला मानिसले निहुरिनुपर्ने थियो, पश्चिम मूल ढोकालाई अशास्त्रीय बनाउने काम राजा महेन्द्रकै पालामा सुरु भयो, राजाले गठन गरेको समितिले यो काम गरेको हो, यो समितिमा सुवर्णशमशेर पनि हुनुहुन्थ्यो, मूल मन्दिर परिसरका कतिपय संरचनालाई चर्चको स्वरुप दिइयो, कतिलाई गुम्बज शैलीमा रुपान्तरण गरियो”, चापागाइँले भन्नुभयो ।

पशुपतिनाथमा पश्चिमको ठूलो ढोका खोल्ने समितिको इञ्जिनीयर कुलरत्न तुलाधर रहेको सुदर्शनराज तिवारी बताउनुहुन्छ । महेन्द्रको स्वर्गारोहण भएर वीरेन्द्र राजा भएपछि भने दीक्षितलाई सो समितिबाट हटाइयो । राष्ट्रदेवका रुपमा पूजित पशुपतिनाथको वास्तु संरचना बिगार्न थालेदेखि नेपालमा नराम्रा घटना हुन थालेकामा वास्तुशास्त्रीहरुको एकमत छ ।

विसं २०५९ मा नैऋत्य कोणमा खोलिएको ढोका पनि अग्लो छ । शैव मत अनुसार नैऋत्य कोणमा भगवान् शिवको छैटौँ मुख कालाग्नि रुद्रको प्रत्यक्ष दृष्टि हुन्छ । कालाग्नि रुद्र आत्यन्तिक प्रलयमा प्रयोग हुने मुख हो । भगवान् शिवले पाशुपतास्त्रको प्रयोग गरेपछि आकाश पनि नरहने बेलामा यस्तो ढोकाको प्रयोग हुने शैव मतको मान्यता छ । अलक्ष्मी अर्थात् दुःख, दारिद्रय, गरिबीको स्थान पनि नैऋत्य कोण हो । यसैले यो ढोका गलत स्थानमा बनाइएकामा वास्तुशास्त्रीको एक मत रहेको छ । यसको प्रभाव पशुपति क्षेत्रमा मात्र नभई समग्र देशमै हुनेमा पनि वास्तुशास्त्रीहरुले समान धारणा राखेका छन् ।

पशुपतिनाथमा यस्तो ढोका बनाउँदा वास्तुविद्, धर्मशास्त्रका जानकारसँग सल्लाह लिइएन । कोषले उपलब्ध गराएको नैऋत्यकोणको ढोका निर्माणसम्बन्धी नक्साको डिजाइन जीवराज पोखरेल र सुदर्शनराज तिवारीले गरेको उल्लेख छ । तिवारी आफू सो समितिमा बसेपनि नैऋत्य कोणबाट ढोका खोल्न थालेपछि असहमति राखेर बाहिरिएको बताउनुहुन्छ । उहाँका अनुसार राजा वीरेन्द्रकै पालामा दक्षिणतिर वीरेन्द्र सहाराका नाममा ढोका खोल्न थालिएको थियो ।राजा वीरेन्द्रकै अघि इञ्जिनीयर भरत शर्माले पशुपतिनाथको दक्षिणतिर वीरेन्द्र सहारा खोल्नु शास्त्रीय रुपमा गलत हुने भनी बिरोध गरेपछि यो काम रोकिएको इञ्जिनीयर तिवारीले सुनाउनुभयो ।

अहिलेसम्म पाइएका प्रमाणका आधारमा छानायुक्त अर्थात् छत्रेशैलीको मन्दिर बनाउने पहिला व्यक्ति वा राजा सुपुष्पदेव देखिएको गोपाल वंशावलीमा उल्लेख छ । सुपुष्पदेवले पशुपतिनाथ मन्दिरबाटै यसको सुरुवात् गरेका थिए । लगभग आठौँ नवौँ शताब्दीताका निर्मित पशुपतिनाथस्थित नागरशैलीको ढुङ्गे मन्दिर चाखलाग्दो छ । ढुङ्गैढुङ्गाबाट बनेको उक्त मन्दिर नेपालमा प्राप्त नागरशैलीको परिचायकका रुपमा रहेको सबैभन्दा पुरानो नमूना भएको श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको ‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तकमा प्रा मोहनप्रसाद खनालले लेख्नुभएको ‘नेपाली स्थापत्यविधामा श्रीपशुपतिमन्दिर’ शीर्षकको लेखमा उल्लेख छ । यसबाट प्राचीन कालदेखि नै नेपालमा नागर वा शिखरशैलीका मन्दिरहरुको पनि प्रचलन थियो भन्ने प्रष्ट हुन्छ ।

पशुपतिको प्रादुर्भावसँगसँगै नेपालको धार्मिक र राजनीतिक इतिहास सुरु हुन्छ । समयको हिसाबले यो कति सय वर्ष पुरानो घटना हो र यसका आख्यान उपाख्यान कति हदसम्म भरपर्दा हुन् भन्ने कुराको निक्र्योल अहिलेसम्म हुन सकेको छैन । तरपनि गोपालकाल अर्थात् गोठाले युगदेखि नै पशुपतिको उत्पत्तिको साथै ‘नेपाल’ नामले यो देश सम्बोधित हुन थालेको कुराचाहिँ निश्चित छ ।

इसापूर्वभन्दा केही शताब्दीअघिका राजा सुपुष्पदेवले पशुपतिमा तामाको छानायुक्त छत्रेशैलीको मन्दिर बनाउन लगाएको उल्लेख गोपाल वंशावलीमा आएको छ । त्यसपछि छैटौँ शताब्दीका राजा अंशुवर्माले माटिङ्ग्रामस्थित छत्रेशैलीको ‘माटिङ देवकुल’ (मन्दिर) को जीर्णोद्धार गरेर राखेको अभिलेख प्राप्त छ । यसको साथसाथै अंशुवर्माले तयार गर्न लगाएको नेपाली अर्थात् छत्रे वा तलेशैलीमा निर्मित कैलासकूट भवनको वर्णन लिच्छविकालका शिलालेखमा बडो गर्वसाथ गरिएको छ, जो यसप्रकार छ– “क्षितितलतिलकभूतात्कुतूहलिजनतानिमेष नयनावलोक्यमानात्कैलासकूटभवनात्” (पृथ्वीतलको टीकाजस्तो भएको कैलासकूट भवनलाई सारा दुनियाँहरुले आँखा झिमिक्कसम्म नगरी कौतुहलताकासाथ हेरेर टोलाइरहन्छन्) भन्ने वर्णनबाट कैलासकूट भवनको भव्यताको अनुमान सजिलैसँग गर्न सकिन्छ । त्यतिमात्र होइन, छैटौँ शताब्दीको अन्त्यताका नेपाल भ्रमणमा आएका चिनियाँ यात्री युआनच्वाङ कैलासकूट भवनको सौन्दर्य र भव्यतालाई देखेर छक्क परेका थिए । युआनच्वाङको ताङवृत्तान्तमा उल्लिखित उक्त वर्णनको सारांश निम्न प्रकार छ–

“कैलासकुट भवनको बीचमा चारैतर्फ बार्दलीयुक्त तामाको छाना भएको साततले भव्य भवन रहेको छ । यसका दलिन, डडाली, कठबार, खाँबा आदि सबै सुन्दर र किम्मती पत्थरले बनेका छन् । भवनको चार सुरमा तामाका नल लागेका छन् । नलसँग जोडेर तलतिर सुनौला मकर (गोही) बनाइएका छन् । मकरका मुखबाट जोडले पानी निस्किरहन्छ । छानामाथि हालिएको पानीको नलबाट फोहराजस्तै गरी पानी तल झर्दछ । त्यो पानी छहराजस्तो भई सुनौला मकरको मुखबाट भुइँमा खस्दछ” भन्ने उक्तिले लिच्छविकालमा विकसित नेपाली स्थापत्यकलाको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

राजा गुणकामदेवले पशुपतिलाई ११ वटा कोष चढाएर ईशानेश्वरको मन्दिरमा तामाको छाना हालेका थिए । लिच्छवि राजा सुपुष्पदेवले पशुपतिनाथको पहिलो मन्दिर बनाएपछि मध्यकालका राजा शिवदेवले पुनःनिर्माणमा प्रमुख योगदान दिएका थिए । सो कुराको सङ्क्षिप्त विवरण गोपाल वंशावलीमा निम्न प्रकारले दिइएको छ–

“उनविंशति सम्वच्छरशतद्वये परिवर्तमान ।। राजा श्रीशिवदेव वर्ष २७ मा ७ तेन श्रीपशुपतिभटारकस्य देवल सुवण्र्णसंखलीसंछादन कृतम् तत कीर्तिभगतापुरे वलवलदेवी तप कृत्य नन्दी वन्ध्याय नीता ।। पनालिका कुप, प्वस्करणी थाने स्थाने कृता ।। चतु (र्भूमिक) पञ्चपुरसमयुक्त श्रीराजगृह सुनिखादितम् ।। तत पश्चात् श्रीपशुपतिभटारकाय, रजतपद्मपिण्डिकाघटितम पूव्र्व दम्म व्यवहार नास्ति सुवर्णरक्तिकास्त व्यवर्तते । स्वश्रीसिंहाकृति रुप्यदम्म व्यवहार कृता ।। सुवर्णमयी श्रीशिवस्यांकृति शिवकाङ्क कृत्य : ।। पूव्र्वशिखरदेवस्य परिवार सहितेन, जीर्णोद्धार कृता : ।।”

शिवदेवले पशुपतिनाथ मन्दिर पुनर्निर्माण गरेको पुगनपुग तीन सय वर्षपछि अर्थात् नेपाल संवत् ४१७ आषाढ शुक्लपञ्चमी बुधबारका दिन राजा अनन्त मल्लले पशुपतिको चार सुरमा चारवटा सुनको सिंह (शार्दूल) राख्न लगाएका थिए । त्यसपछि ध्वजापताकासहितको मन्दिरलाई सुनको पाताले छाएर प्रतिष्ठा गरे । त्यसै दिन चाँगुनारायणमा पनि ध्वजारोहण गरेका थिए ।

संवत् १४०६ अर्थात् नेपाल संवत् ४७० पौषमा बङ्गालका सुल्तान शमसुद्दिनका सेनाले नेपाल उपत्यकामा आक्रमण गरी पशुपतिलगायत अनेकौँ देवीदेवताका मूर्ति र मन्दिरहरु धेरैकालसम्म अलपत्र रहे । सो घटना भएको लगभग ११ वर्षपछि अर्थात् विसं १४१७ मा जयसिंहरामवद्र्धनले पशुपतिको पुरानो मूर्तिजस्तै नयाँ मूर्ति स्थापना गरी सोहीबमोजिम मन्दिर बनाउन लगाए । कुनैपनि प्राचीन मन्दिर वा मूर्तिको पुनर्निर्माण गर्दा पुरानै नमूना बमोजिमको मूर्ति वा मन्दिर बनाउने परम्परा थियो भन्ने कुरा चाँगुका गरुडनारायणको पादपीठमा भएको अभिलेखबाट पनि बुझ्न सकिन्छ ।

जयसिंहरामवद्र्धनले पुनर्निर्माण गर्न लगाएको पशुपतिको मन्दिरलाई लगभग २९० वर्षपछि कान्तिपुरका राजा शिवसिंह मल्लकी पत्नी गङ्गारानीले जीर्णोद्धार गर्न लगाएकी थिइन् भन्ने उल्लेख वंशावलीमा पाइन्छ । तर त्यसको लगत्तै अर्थात् २० वर्ष पनि पुग्दानपुग्दै राजा नृपेन्द्र मल्लले पुन ः पशुपति मन्दिरको जीर्णोद्धार गरेका थिए । जीर्णोद्धार गरेको २० वर्ष पनि नपुग्दै किन यो मन्दिरलाई पुन : जीर्णोद्धार गर्नुपरेको हो ? त्यसको कुनै प्रसङ्ग पाइँदैन ।

नेसं ४८० (विसं १४१७) मा जयसिंहरामवद्र्धनले पुनर्निर्माण गर्न लगाएको पशुपतिको मन्दिरलाई त्यसको लगभग ३३७ वर्षपछि अर्थात् नेसं ८१७ (विसं १७५४) मा कान्तिपुरका राजा भूपालेन्द्र मल्लले राजमाता ऋद्धिलक्ष्मीको आज्ञाअनुसार जगैदेखि भत्काएर बनाउन लगाएका थिए । सो कुराको स्पष्ट विवरण तात्कालिक ठ्यासफूमा पाइएको छ । त्यसैले नेपाली वास्तु परम्परामा बनेको पशुपतिको उक्त मन्दिर प्राचीनकालदेखिकै छत्रेशैलीमा निर्मित स्थापत्यकलाको ज्वलन्त उदाहरणका रुपमा आज पनि विद्यमान छ ।

मन्दिर निर्माणगर्ने विषयलाई लिएर बृहत्संहितामा यस्तो लेखिएको छ–“जलाशय तथा नदीको नजिक, वनको निकट, पर्वत एवं झर्ना भएको ठाउँ वा नागबेली भएर बग्ने नदीको किनारमा देवताहरु रमाउँछन् ।” त्यसैले मन्दिर बनाउनुपर्दा माथि उल्लिखित स्थानमध्ये कुनै एक स्थानको चयन गरी मन्दिर बनाउने परम्परा पछिसम्म रहेको पाइन्छ । प्रायश ः मन्दिर निर्माण गर्दा आचार्य बराहमिहिरले निर्धारित गरेको शास्त्रीय नियमलाई पछ्याउँदै ६४ वास्तु चक्रको आधारमा बनाएको देखिन्छ ।

लगभग आठौँ शताब्दीताका निर्मित पशुपतिस्थित शिखरशैलीको पाषाण मन्दिरलाई छाडेर नेपाल उपत्यकामा अन्य प्राचीन मन्दिरहरुको सर्वथा अभाव छ । यसको मुख्य कारण १३ औँ शताब्दीमा शमशुद्दीन तुगलकद्वारा गरिएको विध्वंशकारी आक्रमण हो । यस विनाशकारी आक्रमणपछि निर्माण गरिएका मन्दिरहरु पनि वास्तुशास्त्रमा उल्लिखित विधानबमोजिम वास्तुपुरुषको लक्षणअनुसार बनेको दृष्टिगोचर हुन्छ ।

प्राचीनकालमा वास्तुसम्मत बनाइएका प्राचीन मठ मन्दिरमा संरचना बनाउँदा वास्तुविद्को सल्लाह लिइनुपर्ने पशुपति मन्दिरका प्रधान अर्चक (मूलभट्ट) गणेश भट्ट बताउनुहुन्छ । नैर्ऋत्यकोणमा २०५९ सालमा खोलिएको ठूलो ढोकाका वास्तुसम्मत नभएका कारण समस्या आएको भनी विभिन्न कोणबाट टिप्पणी भएपछि वास्तुशास्त्रीहरुकाबीच शास्त्रार्थ गराएर यसको निरुपण गरिनुपर्नेमा उहाँको जोड रहेको छ ।

विसं २०५९ मा यो ढोका खोल्न लाग्दा वास्तुविद् पोखरेलले पशुपति मन्दिरका तत्कालीन प्रधान अर्चक (मूलभट्ट) महाबलेश्वर भट्टको ध्यानाकर्षण गराउँदा उहाँले आफूले यो ढोका नखोलौँ भन्दा कोषका पदाधिकारीले नमानेको प्रतिक्रिया दिनुभएको थियो ।

ज्योतिषशास्त्रका आधारमा लम्बाई, चौडाईद्वारा हुने फाप र अफाप आदिको विचार गरी तदनुरुप नै मन्दिरहरु निर्माण गरेको पाइन्छ । निर्देशित स्थानमा दिशा मिलाएर कुन देवी देवताको मन्दिर बनाउनुपर्ने हो सोहीअनुसार झ्याल, ढोका, तोरण, टुँडाल र कुशलहरुको साजसज्जामा तदनुरुप नै अन्तर पारेर बनाइएको देखिन्छ । त्यसभन्दा बाहेक प्रायः सबै मन्दिरहरुमा वास्तुशास्त्रले निर्देशित गरेका माङ्गलिक चिह्नहरु राख्ने परम्परा पछिसम्म पनि विद्यमान थियो ।

नेपाली शैलीका मन्दिरहरुमध्ये पशुपति, चाँगुनारायण, तलेजु, न्यात पौ :, त्रैलोक्यनारायण, माजुदेवल र भीमसेन मन्दिर आदि प्रमुख मानिन्छन् । यी मन्दिरको लम्बाई, चौडाई र उचाईका विषयमा गणना गर्दा वास्तुशास्त्रीय पद्धतिको प्रचुरता पाइन्छ ।

काठमाडौँस्थित तलेजु, त्रैलोक्यनारायण, माजुदेवल र भक्तपुरको न्यात पौ : आदि मन्दिरहरुको निर्माण र परम्परामा भने अलि बेग्लै विशेषता रहेको छ । त्यो हो त्यसको जग र वास्तुविधान । माथि उल्लिखित मन्दिरहरुको सर्वेक्षण र अध्ययन गर्दा सामान्य भुइँभन्दा १२ तलासम्म माथि उठाएर तीन तले वा पाँच तले छानायुक्त मुख्य मन्दिरको निर्माण गरिएको छ । भुइँभन्दा माथि १५ तलाको परिमाण राखी बनाइएको यी मन्दिरलाई स्थापत्यकलाको अनुपम नमुना मान्नुपर्ने देखिन्छ ।

वास्तुशास्त्रमा १२ तलासम्मका मन्दिरहरुको व्याख्या गरिएको छ । द्राविडशैलीका केही मन्दिर १६ तलासम्मका छन् । नेपाली शिखरशैलीको मन्दिरको निर्माण विधि मत्स्येन्द्रनाथको रथ निर्माण प्रक्रियामा पाइन्छ । तान्त्रिक विधि विधानद्वारा बनाउनुपर्ने यो रथमा नौ तलाको आधारशिला विद्यमान छ ।
राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *