<strong>बामदेव गौतमलाई बर्दियाली पत्र</strong>

बामदेव गौतमलाई बर्दियाली पत्र

प्रिय कमरेड, बामदेव गौतमज्यु, न्यानो अभिवादन !

तपाईंले पटक पटक बिर्संदै सम्झिदै गरेको तपाईंको राजनीतिक कर्मभूमि बर्दिया जिल्ला क्षेत्र नं.१ को मतदाताको हैसियतमा यो पत्र लेख्दैछु। हुनत तपाईंले म जस्तो सामान्य नागरिकको कुरा सुन्नुहोला र आफ्नो बिचार बनाउनुहोला भन्ने लाग्दैन किनभने राजनीतिका कतिपय घटनाले तपाईंल न त आफ्नो बिचारले न त अरुको बिचारले चल्नुहुन्छ भन्ने जस्तो देखिएको छ, बिचार बिहिन जस्तै। यो म किन भन्दैछु भने तपाईं राजनीतिमा सदैव अरुबाट प्रायोजित हुनुभयो, अर्काको गोटी वा शक्ति आर्जनको सिंढी बन्नुभयो, तपाईंको बिचार स्पष्ट नहुँदा सायद यो अवस्था आएको हो की ? हामी बर्दियालीहरु नेताको पछि लाग्ने की नीतिको ? पटक पटक यो प्रश्न उठिरहन्छ।
नेपालको कम्युनिष्ट राजनीतिको जगमा तपाईंले ईटा थप्ने काम त अवश्य गर्नुभएको छ तर तपाईंले भत्काएका ईंटा तपाईंले थपेका भन्दा बढी वा कम कति छन् त्यसको कुनै हिसाब छैन। वि.सं. २०४६ सालमा भर्खर १० वर्ष पुरा गरेको अवस्थामा विद्यालयका अग्रज दाजु दिदी सँगै प्रजातन्त्रको लागि जिन्दावाद, मुर्दावादका नारा लगाइयो यद्यपी त्यो बालमस्तिष्कमा प्रजातन्त्र के हो भन्ने कति नै थाहा हुँदो हो र? प्रजातन्त्र घोषणा भएपश्चातको विजय सभामा मञ्चमा राखिएका दुई थरी झण्डा हँसिया हथौडा र चार तारा अंकित देखेपछि मात्र काँग्रेस र कम्युनिष्ट पार्टी रहेछन् भन्ने जानकारी भयो। २०४८ सालमा संसदीय निर्वाचनको प्रचारका क्रममा मैनापोखरको बगैंचामा आयोजित सभामा तपाईंको झण्डै तीन घण्टा लामो भाषण सुनेपछि तपाईंप्रतिको लगाव बढ्यो र कम्युनिष्ट बिचार अंगाल्नु पर्दछ भन्ने चेतना जागृत भयो र कक्षा ८ मा पढ्दै गर्दा विद्यालय प्रारम्भिक कमिटिमा आवद्ध भई संगठित भइयो। त्यसपछि लामो समय झण्डै दुई दशक भन्दा बढी अवधि २०६९ सम्म विद्यार्थी र युवा संगठनका विभिन्न जिम्मेवारीमा रहेको म सायद मेरा समकक्षी र नयाँ पुस्तामा मात्र परिचित हुँला, कारण म कुनै पनि नेताका घर दैलोमा जिम्मेवारीको भिख माग्न पुगिन त्यसैले म आफुमा निकै गर्व गर्दछु।
२०५४ सालमा पार्टी विभाजन हुँदा बर्दियामा बामदेवको विकल्प खोजिनु हुँदैन भनेर तपाईं कै पछाडि लागियो। यद्यपी चुनावी नतिजा प्राविधिक कारणले तपाईंको पक्षमा पार्न सकिएन। २०४८, २०४९ र २०५१ का निर्वाचनमा उमेर नपुगेकाले मताधिकार प्रयोग नगरेता पनि तपाईंलाई जिताउने नाममा २०५४ सालमा विदेशीएका व्यक्तिको नाममा तपाईंलाई मत प्रकट गरेर अपराध गरियो र त्यस यताका हरेक निर्वाचनमा तपाईंको उम्मेदवारीमा आँखा चिम्म गरेर मत प्रकट गरिंदै आएको छ। २०५६ सालमा बामदेव बर्दियालाई चाहिने नेता भनेर तपाईंको पक्षमा लागियो। ट्रकमा सारी लगेर बाँडे, चाउचाउका कार्टुन बाँडे, पैसाका बिटा बाँडे भन्ने सुनियो केही नेता तपाईंको निर्वाचन खर्चमा पनि भ्रष्टाचार गरेर रातारात धनाढ्य बने। म चाहिँ मतदान केन्द्रमा व्यापार गर्न स्थानीय विपन्नलाई प्रेरित गर्दै आफ्नो निजी पैसा सापटी बाँढेर तपाईंलाई भोट मागें। तपाईंसँग चुनावी सभा बाहेक भेट पनि भएको छैन र मेरो व्यक्तिगत चिनाजान समेत छैन। आज तपाईंका भूमिकाले तपाईंको नाममा आफुले गरेको योगदानमा आफैंप्रति खेद सिर्जना गरेको छ।

पार्टीले तपाईलाई विधान संशोधन गरी उपाध्यक्ष र संगठन विभाग प्रमुखको महत्वपुर्ण जिम्मेवारी दिएर न्याय गरेको छ त्यो भूमिका निर्वाह गर्नुस्। संगठन विभाग जस्तो जिम्मेवारी सहि तरिकाले निर्वाह गर्न सक्नुभयो भने सांसद त के अध्यक्ष नै पाउनुहुन्छ, यति सामान्य कुरा नबुझ्नु भएकै हो भन्ने त लाग्दैन तर बुझेको जस्तो देखिएन। पार्टीका संगठित सदस्यको संख्या सम्म यकिन गर्न सक्नु भएन भने कसैले प्रधानमन्त्रीको कुर्सीमा राखिदियो भने पनि मुलुक कसरी चलाउनुहुन्छ कमरेड?

प्रिय कमरेड,
आज विश्व कोरोनासँग जुधिरहेको बेला नेपालमा भने तपाईंहरुको राजनीतिक भाले जुधाई चरम उत्कर्षमा पुगेको छ। चिन र अमेरिका जस्ता स्थायी राजनीतिक प्रतिद्वन्दीहरु समेत एक बनेको बेला तपाईंहरु आफ्नै पार्टीको नेतृत्वको सरकार असफल बनाउन मरिहत्ते गरिरहनुभएको छ। त्यसमा तपाईंलाई एउटा प्रमुख कारण र पात्र बनाएर प्रस्तुत गरिएको छ, यदि त्यसो हो भने आफुलाई सच्याउनु नै तपाईंको राजनीतिक भविष्यको लागि लाभकारी हुनेछ। तपाईं २०७४ सालको संसदीय निर्वाचनमा पार्टीको उम्मेदवार भएर पराजय भएको यथार्थ कसैमाथि दोष थोपरेर अन्यथा बन्न सक्दैन, सत्य सत्य नै हुन्छ। यसपटक निर्वाचन ५ वर्षको लागि हारेको र ५ वर्ष संसद यात्रा स्थगित भएको नबुझ्ने तपाईं मानीलिउँ प्रधानमन्त्री नै हुनुभयो भने पनि कसरी मुलुक चलाउलानुहोला? चुनावी नतिजाको समीक्षा गर्नुको सट्टा पार्टी भित्रका नेता कार्यकर्तालाई विभिन्न तरिकाले लान्छना लगाउनु भयो त्यसमा तपाईंले आवेशको अभिव्यक्ति भनेर सच्याउनु जरुरी छ। तपाईं बर्दियाबाट निर्वाचित भएर वा निर्वाचनमा पराजय भएर पनि पटक पटक उपप्रधानमन्त्री, गृहमन्त्री जस्तो शक्तिशाली पद प्राप्त गर्नुभयो अनि बर्दियाली जनतालाई बबई सिंचाइ आयोजना बाहेक के दिनुभयो? सामान्य बाटाघाटा त जंगलमा बिरुवा हुर्किए जस्तै स्वभाविक कुरा नै हो। बरु २०७० मा दुई स्थानबाट विजयी भएर बर्दियालाई छोड्नु तपाईको कमजोरी भयो की? सोच्नु भयो कहिल्यै? तपाईं बर्दियाको नागरिक तहमा अन्तरक्रियामा कतिपटक पुग्नुहुन्छ वर्षमा? तपाईंका वरिपरी घेरालाग्नेहरुको घेराभित्र तपाईंले आम नागरिकको आवाज सुन्नुभयो की कसैका राजनीतिक र व्यापारिक स्वार्थ, सोच्नु भयो कहिल्यै? अनि मलाई अन्तरघात गरेर निर्वाचन हराइयो भनेर कसलाई भन्दै हुनुहुन्छ? मतदाताले आफ्नो स्वतन्त्र मत तपाईंलाई नै प्रकट गर्ने कारण के सिर्जना गर्नुभयो? २०६४ र २०७० का निर्वाचनमा समेत तपाईंलाई मत प्रकट गर्न आग्रह गरियो मैनापोखर क्षेत्रका कतिपाय चुनावी कोणसभामा सहजीकरण समेत गरियो। यो सबै व्यक्तिगत आकांक्षाको कारण थिएन बर्दियाली विकासको लागि थियो त्यसैले त म कहिल्यै तपाईंलाई भेट्न पुगिन।
प्रिय कमरेड,
तपाईं त किसान महासंघको अध्यक्ष पनि हो नी है? किसानको हितमा के गर्नुभयो? उत्तर छैन। त्यसैले तपाईंले पहिला बर्दियाली नागरिकप्रति न्याय गर्नुप‍¥यो अनि पार्टीका घात अन्तरघात जे भएपनि तपाईंलाई चुनाव नागरिकले जिताउनेछन्। अहिले बर्दियाली मतदाताको सन्देश ५ वर्ष संसद बाहिर बस्नुस् जसले गर्दा तपाईंको व्यस्तता पनि कम होस् र बर्दियाली मतदाता र तपाईंको बिचमा सघन अन्तरक्रिया होस्। तर तपाईंलाई यो वा त्यो कुनैपनि तरिकाले संसद छिर्ने हतारो र त्यसैको चर खोज्दा खोज्दै मतदाता तर्फ सोच्न भ्याउनु भएन। तपाईंलाई निर्वाचन त मतदाताले हराए तर पार्टीले तपाईलाई विधान संशोधन गरी उपाध्यक्ष र संगठन विभाग प्रमुखको महत्वपुर्ण जिम्मेवारी दिएर न्याय गरेको छ त्यो भूमिका निर्वाह गर्नुस्। संगठन विभाग जस्तो जिम्मेवारी सहि तरिकाले निर्वाह गर्न सक्नुभयो भने सांसद त के अध्यक्ष नै पाउनुहुन्छ, यति सामान्य कुरा नबुझ्नु भएकै हो भन्ने त लाग्दैन तर बुझेको जस्तो देखिएन। पार्टीका संगठित सदस्यको संख्या सम्म यकिन गर्न सक्नु भएन भने कसैले प्रधानमन्त्रीको कुर्सीमा राखिदियो भने पनि मुलुक कसरी चलाउनुहुन्छ कमरेड?
प्रिय कमरेड अन्त्यमा, तपाईं प्रखर वक्ता र बिचारको सिर्जनाकार पनि हुनुहुन्छ, ब्लेडको धार जस्तै तर त्यसको उचित प्रयोग गर्न सकिएन भने त्यसैले कसैको जीवन समाप्त पार्छ र जानियो भने अप्रेशन गरेर पुनर्जीवन दिन सकिन्छ। २०६७ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा पनि सरकार ढाल्न पार्टीमा एक्लै परें भन्दै सहयोगको याचना प्रचण्ड सामु समर्पित हुनुभयो। आज फेरि केपी ओलीको सरकार ढाल्न त्यस्तै भूमिका देखिंदै छ। पटकपटकका गल्ती क्षमायोग्य नहुन सक्छन्। अहिले स्थिर सरकार चाहिएको छ। विगतका सरकारका तुलनामा राम्रा काम भएकाछन्, वैदेशिक सम्बन्धहरु सुधार भएकाछन्, परनिर्भरताबाट मुलुक अन्तरनिर्भरतातर्फ उन्मुख हुँदैछ, श्रम सम्बन्धहरु सुदृढ हुँदैछन्, आर्थिक सुचकहरुमा उल्लेख्य सुधार भएको छ, आयात घट्ने र निर्यात बढ्ने क्रममा छ, यो त सबै स्वतन्त्र अन्तर्राष्ट्रिय संस्थाहरुको प्रतिवेदनले देखाएको छैन र? अनि पार्टीले निर्वाचनमा केपी ओलीको नेतृत्वमा पुर्णअवधि स्थायी सरकार दिने बाचा गरेको छ। तपाईंले अर्को निर्वाचन नहुँदासम्म संसदीय निर्वाचन र माधव नेपालले अर्को महाधिवेशन नहुँदासम्म अध्यक्षको निर्वाचन परिणाम जे आएको थियो त्यसलाई स्वीकार गर्नुनै राजनीतिक संस्कार हो। आज फेरि प्रचण्डको अस्थिर मानसिकताको मतियार बन्नुभयो र सरकार ढाल्न लाग्नुभयो भने नेपाली नागरिकले तपाईंलाई कहिल्यै माफी गर्नेछैनन्। माधव नेपाल र झलनाथ खनालले नेतृत्व गरेको पार्टी र सरकार पनि हामीले देखे भोगेकै हो, माधव नेपाललाई हटाएर आफ्नै पार्टीबाट प्रधानमन्त्री बनेका झलनाथ ईतिहासमा लोकेन्द्रबहादुर चन्दको जति पनि काम गर्न नसकेको यथार्थ होइन र? ईतिहासको अभिलेख अलि अलि नागरिकतहमा पनि अवश्य होला। आशा छ बर्दियाली नागरिकको मतादेशको अपमान गरेर यो वा त्यो तरिकाले संसद प्रवेश गर्नु वा सरकार परिवर्तनको खेलमा लाग्नु भनेको बर्दियाली मतदाताको अपमान हो। एउटा नेताले मतदातासँग बदला लिने होइन उनीहरुको सन्देश स्वीकार गरेर आफुलाई सुधार गर्ने हो। २०७४ को निर्वाचनमा कसैले आवश्यकता देखेन र बर्दिया गइएन यसबिचमा तपाईंले गर्ने राजनीतिक अभ्यासले आगामी निर्वाचनमा सहयोग वा असहयोग कुन प्रयोजनले बर्दिया जाने भन्ने निर्धारण गर्नेछ। अन्तमा म राजनीति शास्त्रको विद्यार्थी पनि भएकोले कम्युनिष्ट पार्टीमा समस्या हल गर्ने विधि र पद्धति हुन्छन् त्यसको कार्यान्वयनमा यहाँको विशेष भूमिका रहोस्। नैतिक नेतृत्व इतिहासमा कहिल्यै हार्दैन भन्ने इतिहास पढ्नु भएकै होला। अब उप्रान्त तपाईंलाई हाँसोको पात्र बनाएर सामाजिक सञ्जालमा मजाक गरेको हेर्न नपरोस्।
तपाईंको शुभेच्छुक,
एस.तिमिल्सीना,
बढैयाताल गा.पा.– ७, बर्दिया

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *