चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

चिनियाँ भाषा प्रशिक्षण प्रारम्भ, मेहनत गर्न प्रशिक्षार्थीलाई मन्त्री तामाङको सुझाव

काठमाडौँ, २९ जेठ :

देशका पर्यटन व्यवसायीका लागि सञ्चालित छैटौँ चरणको चिनियाँ भाषा प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्त रूपमा प्रशिक्षणको उद्घाटन गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्सँगको सहकार्यमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले सञ्चालन गरेको यो प्रशिक्षण आगामी छ महिनासम्म जारी रहने छ ।

त्यस अवसरमा मन्त्री तामाङले भाषाले सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने र समृद्ध राष्ट्र चीन नेपालको पर्यटनको ठूलो स्रोत भएको बताउँदै चिनियाँ भाषा अप्ठेरो भए पनि नेपालको पर्यटन क्षेत्रको जनशक्तिको लागि अपरिहार्य हुँदै गएको उल्लेख गर्नुभयो ।
उहाँले चिनियाँँ र भारतीय पर्यटककोे आर्कषण हाम्रो मुलुक भएकाले धेरैभन्दा धेरै पर्यटक छिमेकी देशहरूबाट भित्र्याउन हामीले उनीहरूलाई आकर्षक ‘प्याकेज’ उपलव्ध गराउन जरुरी छ भन्नुभयो ।
भाषाका दृष्टिले भारतीयसँग व्यवहार गर्न नेपालीलाई सहज भए पनि चिनियाँ भाषा अलि कठिन भएकाले मेहनत गर्न प्रशिक्षार्थीलाई सुझाव दिनुभयो ।

राजदूत छन्ले नेपालीहरुले चिनियाँ भाषा तुलनात्मकरूपमा चाडै सिक्ने र प्रष्ट रुपमा बोल्ने गरेको अनुभव सुनाउनुभयो । चिनियाँ भाषा पुरानो इतिहास मात्र नभएर वैज्ञानिक विकासको आधार भएको उहाँले बताउनुभयो । धेरै व्यापारी र लगानीकर्ता नेपाल आउने तयारीमा रहेका जानकारी दिँदै उहाँले चिनियाँ भाषा जानेका जनशक्ति उनीहरुको पहिलो आवश्यकता हुन् भन्नुभयो । साथै उहाँले दुई देशको आत्मीयता विस्तार गर्न पनि भाषा सिक्न आवश्यक भएको बताउनुभयो । चिनियाँ नागरिकलाई पनि नेपाली भाषा सिकेर नेपालको कला संस्कृतिसँग जोडिन चिनियाँ राजदूतले आग्रह गर्नुभयो ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिकमत सिंहऐरले पर्यटन आतिथ्यतामा भाषा शक्तिशाली अस्त्र रहेको उल्लेख गर्दै विश्वको दोस्रो ठूलो भाषाको तालीमले नेपालमा चिनियाँ पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजदूतमार्फत चिनियाँ सरकारलाई अझ धेरै नाका खुला गर्न अनुरोध पनि गर्नुभयो ।

परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले यसअघि तालिम पाइसकेका दुई सयजना प्रशिक्षार्थी देशका विभिन्न पर्यटन व्यवसायमा सक्रिय रहेका जानकारी दिँदै राजधानी बाहिर पनि चिनियाँ भाषा कक्षा सञ्चालनको माग रहेको बताउनुभयो ।

(रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *