राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुटौँ : मन्त्री जोशी

राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुटौँ : मन्त्री जोशी

काभ्रेपलाञ्चोक, ३० वैशाख :

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘कार्यालयस्तरीय त्रैमासिक समीक्षा एवं सङ्घ, प्रदेश तथा स्थानीयस्तरीय सेवा–प्रवाह र विकास निर्माणसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा के व्यवस्था गर्दा राजनीतिक स्थायित्व हुन्छ त्यसका लागि सबैपक्ष जुट्न आग्रह गर्नुभएको हो ।

“राजनीतिक स्थायित्वका लागि पक्ष विपक्ष नबनौँ, राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुट्नुपर्ने आवश्यकता भइसकेको छ,”, मन्त्री जोशीले भन्नुभयो, “राजनीतिक स्थायित्व दिई नागरिकको अविश्वास निस्तेज पार्नु सबैको चुनौतीको विषय भएकाले सबैपक्ष जुटौँ ।” राजनीतिक स्थायित्वले दिगो विकास र नवप्रवर्तनलाई निरन्तरता दिनसक्ने भएकाले सुन्दर देश निर्माणमा ‘सत्तापक्ष वा विपक्ष’ सबै पक्षको उत्तिकै दायित्व भएको उहाँको भनाइ थियो ।

मन्त्री जोशीले देशभक्त कर्मचारीले नै नागरिकलाई सुशासन प्रदान गर्ने बताउनुभएको छ । “जनताले अनुभूत गर्नेगरी सुशासन प्रदान गर्नु कर्मचारीकै दायित्व हो, कसरी अझ सेवा प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे समीक्षा गरी ‘कर्मचारी नै हुन् बिगार्ने’ भन्ने बाहिरको भाष्यलाई बन्द गराउन लाग्नुहोस्”, उहाँले भन्नुभयो । उहाँले कर्मचारी दुई वर्ष सरुवा नहुने प्रावधान भए पनि त्यसो नभएकोमा चिन्ता व्यक्त गर्दै त्यस विषयमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

सङ्घीय निजामती ऐन आएपछि कर्मचारीका सबै विषय हल हुनेमा आफू विश्वस्त रहेको उहाँको तर्क थियो । मन्त्री जोशीले एक सय चार स्थानीय तहमा नवप्रवर्तन कार्यक्रमलाई प्रारम्भिक चरणमा मागिएको रु ८८ करोड रकम निकासा नभई ती तहमा नयाँ कामको सुरुआत गर्न नपाएकामा दुःखेसो पोख्दै संविधान कार्यान्वयनको सिलसिलामा देखिएका कठिनाईलाई सबै मिलेर फुकाउनुपर्ने उहाँको धारणा थियो ।   

उहाँले थप्नुभयो, “तर, महिला जनप्रतिनिधिको आर्थिक अपचलनको मुद्दा नगन्य भइरहँदा पुरष जनप्रतिनिधिलाई यस विषयमा चुनौतीको चाङ पनि थपिँदै गएको छ, यसप्रति पनि विशेष सचेत रहनुहोला” । बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, पनौती नगरप्रमुख रामशरण भण्डारी, मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइबा, नमोबुद्ध नगरप्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र जिसस उपप्रमुख रिमबहादुर तामाङले सुशासनका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी चनाखो हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हुमकला पाण्डे, काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनालगायतले स्थानीय तहको सेवा–प्रवाहमा सरल एवं सहजतामा ध्यान दिन सुझाव दिनुभएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *