सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

काठमाडौँ, २५ वैशाखः

अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ ।

बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले सरकार निजी क्षेत्रको अभिभावक पनि भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । “राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन”, उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन र सहजीकरण गर्ने हो ।”

त्यसअवसरमा मन्त्री पुनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटसँग मौद्रिक नीतिको सामाञ्जस्यता कायम गरिने समेत जानकारी दिनुभयो । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको उहाँको भनाइ थियो ।

“सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्देश्य र नीति एउटै हुन्छ”, उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिन्छ ।”

मन्त्री पुनले गत वर्षको तुलनामा यस वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायनमा हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको बताउनुभयो । पुनले संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चित उद्देश्य प्राप्तिका लागि सहकार्य गरिने पनि उल्लेख गर्नुभयो ।

“सबैको जोड संविधानले निर्दिष्ट गरेको आर्थिक नीतिभित्र बसेर निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने, सहजीकरण गर्ने र मनोबल उठाउने गरी काम गर्ने हो”, उहाँले भन्नुभयो, “त्यसका लागि सरोकारवालाबीचमा छलफल र परामर्श भइरहेको छ ।”

उहाँले अर्थतन्त्रमा राम्रो गरिरहेको नीतिले निरन्तरता पाउने स्पष्ट पार्नुभयो । मन्त्री पुनले राज्य निजी क्षेत्रको अभिभावक भएकाले निर्धक्कसँग आफ्ना कुरा राख्न निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो । मुलुकको अवस्थितिअनुसारको आर्थिक नीति हुनुपर्ने चर्चा गर्दै मन्त्री पुनले नेपालको भू–राजनीतिक अवस्थितिअनुसार तत्काल प्रवर्द्धन गर्नुपर्ने क्षेत्र सूचना प्रविधि भएको आफूहरुलाई लागेको उल्लेख गर्नुभयो ।

“हाम्रो भू-अवस्थितिअनुसार सूचना प्रविधि क्षेत्रमा केन्द्रित हुँदा त्यसबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने र लगानी आउने सम्भावना बढी हुन्छ भन्ने हामीलाई लागेको छ”, मन्त्री पुनले भन्नुभयो, “बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने सोच बनाएका छौँ ।” यस्तै बजेटमा ऊर्जा, पर्यटन, कृषि, ठूला र मझौला पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *