एन्कोरेज, २२ चैत :

अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गर्नु भएको छ । एक वर्षभित्र अर्थमन्त्री येलेनको चीनको यो दोस्रो भ्रमण हो ।

चीनमा रहँदा उहाँले केही औद्योगिक क्षेत्रमा चीनले व्यापक लगानी गरेपछि त्यसबाट उत्पन्न चासो र चिन्ताप्रति चिनियाँ अधिकारीहरुसँग छलफल गर्नु हुनेछ ।

यही अप्रिल ३ देखि ९ तारिखसम्म हुने अर्थमन्त्री येलेनको भ्रमण दक्षिणी शहर ग्वान्झाउबाट सुरु हुनेछ । ग्वान्झाउमा येलेनले त्यहाँ रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिनुका साथै चिनियाँ अधिकारीहरुसँग छलफल गर्नु हुनेछ । उहाँले ग्वान्झाउमा चीनका उपप्रधानमन्त्री हे लिफेङर ग्जान्झाउका प्रान्तीय गभर्नर वाङ वाइझोङसँग भेटवार्ता गर्नु हुनेछ ।

त्यसपछि अर्थमन्त्री येलेन बेइजिङका लागि प्रस्थान गर्नु हुनेछ । बेइजिङमा उहाँले चिनियाँ प्रधानमन्त्री लि क्याङ, अर्थमन्त्री लान फोआन र केन्द्रीय बैंकका गभर्नर पान गोङसेङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री येलेनसँगै यात्रारत पत्रकारले सोधेको प्रश्नमा येलेनले चीनले कतिपय औद्योगिक क्षेत्रमा अत्यधिक लगानी गरेकाले त्यसतर्फ हामीले चासो राख्नेछौं भन्नुभयो । चीनको यस लगानीबाट अमेरिका र अन्य मुलुकमा रहेका उद्योग व्यवसायमा पनि असर पर्ने खतरा छ, येलेनले भन्नुभयो ।

अर्थमन्त्री येलेनले चीनले खासगरी सोलार व्याट्री, विद्युतीय सवारीसाधन र ब्याट्रीमा बढाएको लगानीबाट अमेरिकी अर्थतन्त्रमा पनि असर पर्ने खतरा देखिएको बताउनुभयो । अमेरिकाले यी सामानको उत्पादन देशभित्रै गरेर आत्मनिर्भर हुन चाहेको छ, तर चीनले अतिरिक्त अनुदान दिएपछि चिनियाँ कम्पनीका सामान सस्तिएका छन् ।

चिनियाँ सामानमा थप कर लगाउनेतर्फ अमेरिकाले विचार गरिरहेको छ कि भन्ने प्रश्नमा येलेनले अमेरिकी उत्पादनको संरक्षण गर्ने उपायहरु हामीसँग रहेका छन् भन्नुभयो ।

विश्वकै दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यावसायिक सम्बन्धलाई स्थायित्व प्रदान गर्न बाइडेन प्रशासनले कार्य गरिरहेको बताइएको छ ।

गत वर्ष जुलाई २०२३ मा निकै तनावपूर्ण सम्बन्धका बीच भएको वार्ता निकै फलदायी रहेको थियो । खासगरी ताइवान मामिलालाई लिएर दुबै देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । तर आर्थिक तथा वित्तीय नीति सम्बन्धमा छलफल गर्न दुबै देशबीच संयुक्त कार्यसमूह गठन भएको थियो ।

यो कार्यसमूहको बैठक यसै महिना बस्दैछ, अर्थमन्त्री येलेनले भन्नुभयो ।

अमेरिकी अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार येलेनको चीन भ्रमणका अवसरमा चिनियाँ समकक्षीसँग चीनको गलत व्यापार अभ्यासका विषयमा दबाब दिइने छ । चिनियाँ सामानको व्यापक आयातले अमेरिकी फर्म र कामदारमाथि निकै असर गरेको अमेरिकी अधिकारीहरुको भनाई छ ।

चिनियाँ सामानको यस किसिमको आप्रवाहलाई टुलुटुलु हेरेर बस्न सकिन्न, अमेरिकी उप अर्थमन्त्री जे शामबागले बताउनुभयो ।

(रासस / एएफपी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय