शिक्षामन्त्री र विद्यार्थी सङ्गठनहरूसँग छलफल

शिक्षामन्त्री र विद्यार्थी सङ्गठनहरूसँग छलफल

काठमाडौँ, १८ चैत :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गर्नुभएको छ । विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा आज विद्यार्थीसँग छलफल गरिएको हो ।

छलफलमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबाट विद्यार्थीले भोगिरहेका समस्या र समाधानका उपायबारे शिक्षामन्त्रीले सुझाव माग्नुभएको थियो । समग्र शिक्षा प्रणालीको रूपान्तरण र विश्वविद्यालयमा विद्यार्थीको शैक्षिक जीवन सुधार गर्नका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववीयुका अध्यक्ष समिक बडाल, अखिल क्रान्तिकारीका नेता इन्द्र भुसाल र पवन कार्की, अनेरास्ववियुका नरेश न्यौपाने, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका हिमांशु, लोकतान्त्रिक विद्यार्थी सङ्गठनका समर साह, राप्रविसंका मदन शाहीलगायत सहभागी थिए ।

छलफलमा विद्यार्थी सङ्गठनहरूले शिक्षामन्त्रीलाई विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था परिमार्जन गर्न, राजनीतिक भागबन्डा बन्द गर्न, विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू गर्न, निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्न, निजी विद्यालयहरूमा छात्रवृत्ति र शुल्क अनुगमन गरी समान शिक्षा लागू गर्न सुझाव दिएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *