मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

महोत्तरी, ३० फागुन :

मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी मन्दिर)बाट थालिएको सो यात्राका सहभागी चौथो दिन महोत्तरी प्रवेश गरेका हुन् । सहभागीलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रवारि नेपाल प्रवेशद्वारमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले स्वागत गरेका थिए ।

गत शुक्रबार ठेराकचुरीबाट श्रीरामको प्रतिमा राखिएको डोला अघि लगाउँदै यात्रा सुरु भएको थियो । सोही दिन जनकपुर पुगेपछि अग्निकुण्ड मठबाट सीताको प्रतिमा राखिएको डोला मिसिएपछि सीताराम सङ्कीर्तन गाउँदै पहिलो दिन परम्पराअनुसार धनुषाको हनुमानगढीमा सहभागी बास बसेका थिए । यसैगरी दोस्रो दिन भारतको कल्याणेश्वर र तेस्रो दिन भारतकै गिरिजास्थान बास बसेका सहभागी आज चौथो दिनको विश्रामका लागि मटिहानी आइपुगेका हुन् ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन् ।

डोला आगमनसँगै प्रत्येक विश्रामस्थलमा भजन, कीर्तनसहित धार्मिक मेला आयोजना हुँदै आएको परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आइपर्ने अन्य कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध स्थानीय (रात्रिबासको थलो)ले विभिन्न सङ्घसंस्थाको समन्वयमा गर्दै आएका छन् । यसैअनुसार आज मटिहानीमा यात्रीको सुविधाका लागि खानेपानी, प्राथमिक उपचार र बाससहितका प्रबन्ध मिलाइएको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । डोला आफ्नो ठाउँ आइपुगेको अवसरमा दर्शन, आराधना र सहभागीको स्वागतका लागि आज मटिहानी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

यात्राको चौथो दिन मटिहानी आइपुगेका सहभागी अब आठौँ दिनसम्म महोत्तरी रहनेछन् । चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा एक सय ३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । यसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् ।

अघि त्रेतायुगमा श्रीराम र सीताले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा १८औँ शताव्दीमा सुुरु भएको बताइएको छ । रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक (अलौकिक) भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गो खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरूले संयोजन, समन्वय गर्दै आएका छन् ।

फागुन औँसीबाट सुुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी यो यात्रा सम्पन्न गरिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामस्थलको परम्परा रहँदै आएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *