काठमाडौँ, १५ फागुनः
राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा जाउलाखेलले केपी ओली एफसीलाई २-१ गोलअन्तरले पराजित गर्यो । उसको जितमा निराजन धामी र निरज चौधरीले समान एक÷एक गोल गरे । खेलको ३९औं मिनेटमा जावलाखेलका निराजन धामीले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८२औं मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो ।
खेलको ८४औँ मिनेटमा केपी ओली एफसीका अडामा गोम्वियाकेले एक गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जाउलाखेल विजयी भयो ।
जावलाखेलले सेमिफाइनलमा (एनआरटी) न्यूरोड टिमविरुद्ध खेल्नेछ । सेमिफाइनल यही फागुन १७ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । फागुन १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ ।
राष्ट्रिय समाचार समिति (रासस)