मोफसलमा चलचित्र गतिविधि बढ्दै

मोफसलमा चलचित्र गतिविधि बढ्दै

काठमाडौँ, २४ माघ :

चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छ । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रथम प्रदर्शनी (प्रिमियर), घोषणालगायत कार्यक्रम काठमाडौँमा केन्द्रित भइरहँदा मोफसलमा बजार बढाउन बेलाबखतमा प्रयास हुने गरेका छन् ।

काठमाडौँसँगै उपत्यका बाहिर चलचित्रसम्बन्धी गतिविधि बढाउनसके त्यसको प्रभाव व्यापारमा पर्ने चलचित्र निर्देशक मिलन चाम्सले बताउनुभयो । सोही कारण उहाँले चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शनी (प्रिमियर) मोफसलपछि काठमाडौँमा गर्दै हुनुहुन्छ ।

“हामीले एक साता लामो मोफसल भ्रमण गरिरहेका छौँ । त्यो सकिएलगत्तै धरान र पोखरामा प्रिमियर गर्दैछौँ । उपत्यकाभन्दा बढी चलचित्र भवन बाहिर छन् । यद्यपि हामीले त्यहाँ दर्शक तान्न सकेका छैनौँ”, निर्देशक चाम्सले भन्नुभयो । उहाँले धरानमा आगामी फागुन ५ गते, पोखरामा ७ गते चलचित्रको प्रदर्शनी गरेपछि मात्र काठमाडौँमा फागुन ९ गते गरिने जानकारी दिनुभयो ।

गत वर्ष चलचित्र ‘महापुरुष’ मोफसलका दुई सहर र ‘बहाव’ पोखरामा प्रदर्शनी गरिएको थियो । केही दिन अगाडि चलचित्र ‘दयारानी’ को प्रदर्शनी पोखरामा गरिएको थियो । तर, यी सामान्य गतिविधि मात्र हुन् । निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलको मागलाई ध्यानमा राख्दै आफूले चलचित्रका गतिविधि गर्ने गरेको बताउनुभयो ।

“हामीले मोफसलमा व्यापार भएन भन्छौँ । अझै कोशी र मधेस प्रदेशको धेरै सहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्नका लागि हामीले गतिविधि बढाउनु आवश्यक छ”, निर्माता बानियाँले भन्नुभयो, “केही चलचित्रले मोफसलबाट नै लगानी उठाएका छन् । हामीले कोसिस नगरी व्यापार मात्र हेरिरहेका छौँ । मैले पछिल्लो चलचित्रमार्फत सक्दो प्रयास गरिरहेको छु ।”

निर्माता बानियाँले आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौँ मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा रहेको बताउनुभयो । आगामी चैत ९ गते प्रदर्शन तय गरिएको उक्त चलचित्रको मोफसल भ्रमण र प्रदर्शनी (प्रिमियर) को तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *