राजन कार्की
इच्छाशक्तिले व्यक्तिलाई महान बनाउँछ । सफलताको शिखरमा पु¥याउँछ । सडकमा चिया बेच्ने नरेन्द्र मोदी विश्वचर्चित नेत ाबने, दुईपल्ट भारतका प्रधानमन्त्री बनेका छन् । शारीरिक अपांगताका कारण खुट्टाले लेखेर झमक घिमिरे लेखिका बनिन् । भन्नुको अर्थ मोदीसँग देशभक्ति र अवधारणा थियो, उनी विश्वनेताको स्तरमा उक्लिन सफल भए । झमक घिमिरेमा आत्मबल र सोच थियो, जसले उनलाई मदन पुरस्कारबाट पुरस्कृत गरायो ।
छिमेकका मोदीजस्ता नेता अथवा आफ्नै मुलुककी झमकजस्ती कोही छन् कलमजीवी ? ३४ वर्ष भयो भ्रष्टाचार र अराजनीतिको धुवाँमा धुमिल भएको । बिद्रोह रोकियो, नाराजुलुस रोकियो, बन्दुक थामियो, बारुद पड्केको छैन तर शान्ति र स्थिरता आउन सकेन ।
बधुवा अमलेख भइसक्यो, राजनीतिको बन्धकमा परेको हामी नेपालीको आकांक्षा अमलेख हुने कहिले ? शुभदिनका लागि परिवर्तनहरु भए, उज्यालो कहिले आएन । हिजो कालरात्रि थियो, आज औंशीरात्रि छ । भनिन्छ, भाले नबासे पनि उज्यालो हुन्छ, तर नेपालको क्षितिजमा घाम उदाएन । किन ?
यी प्रश्नको जवाफ नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपाजस्ता ठूला पार्टि र नेताले दिनुपर्ने हो, सत्ताको उखु चुसेर बसेका छन्, जिम्मेवारी र जवाफदेहीता लिदैनन् ।
०४६ सालपछिको बहुदल र ०६३ सालपछिको लोकतन्त्रका दुई दर्जन सरकार बनिसके, नेताको अनुहार उही छन्, सत्ताको बागडोर हाँक्ने र सिंहदरवार तथा शितल निवासमा रजगज गर्ने उनै छन्, देश र जनताले के पाए ? उही उत्पीडन, उही अन्याय, उही असमानता । संविधान बन्यो, दुईपल्ट आवधिक निर्वाचन पनि भइसक्यो, देश र जनतालाई खुइल्याउने बाहेक केही हुनसकेन । देश कमजोर भयो, नेतृत्वको कामचोर नीतिले । जनता टाक्सिदै गए, नेतृत्वको अनैतिकताले ।
हरेक पार्टी र नेता नगदनारायण बनेका छन् । व्यभिचार यिनको नीति बनेको छ । नैतिकता र निष्ठा स्यालको सिङ झैं हराएको छ ।
हाम्रा होनहार ठानिएका र मानिएका नेताहरुको अनुहार– चाणक्यकालका मगध साम्राज्यका महानन्दजस्ता क्रुर लाग्छन्, चन्द्रगुप्त मौर्यजस्ता राजनेता बन्नलायक गुण कसैमा देखिदैन । हाम्रा नेता जनयुद्ध र जनआन्दोलनजस्ता राजनीतिक यज्ञबाट खारिएर उत्रेका हुन्् तर सतहमा जे देखियो त्यो यथार्थ होइन रहेछ । अदृश्य विदेशी ताकतको तोक्मा टेकेर र विदेशीकै भिटामिन खाएर यिनीहरु विजयश्री भएका रहेछन् ।
स्वस्थानी कथामा नवराजलाई विष्णु भगवानरुपी हात्तीले बरण गरेर लावण्य देशको राजा बनाएझैं विदेशी शक्तिले यिनलाई लोकतान्त्रिक नेपालको मौजा बकस दिएका रहेछन् । बकसमा पाएको यही मौजामा यिनीहरु मोज गरिरहेका छन् । यिनमा नीति शिक्षा, राजनीतिक शिक्षा, सैन्यशिक्षा, ब्यूह शिक्षा, देशभक्तिको ज्ञान र संवेदनशीलता केही पनि छैन । यिनीहरु सूर्यमुखी फुलजस्तै छन् र सत्ताका वरिपरि लुटपुटिइरहेका छन् । संवैधानिक दायित्व निर्वहन गर्दैनन । राजनीतिक संवाद तथा सहमतिबाट देशका अनगिन्ति समस्या समाधान गर्नतिर यिनको ध्यानै छैन । सत्ताको भागबण्डा यिनको प्राथमिकता हो । यसकारण यिनीहरु हरेक दिन सत्ता र शक्तिको खेलमा लाग्छन् । एकदोस्रालाई गाली गर्छन्, एकदोस्रालाई भ्रष्ट भन्छन् र एकदोस्रालाई बचाउँछन् । एकले दोस्रालाई कारवाही नै गर्दैनन् । ठूला दल यतिसम्म अकर्मण्य छन् कि यिनीहरुको वर्णन गर्न हजार जिब्रा भएका शेषनागले पनि सक्दैनन् । किनकि यिनीहरुको हात्तीको दाँत र छेपारोको जस्तो चरित्र छ ।
लोकतन्त्रको झ्याली पिट्छन् र जनतालाई रत्नपार्कमा चटकेले देखाउने चटकजसरी सत्ता र शक्ति राजनीतिमा भुलाउँछन् ।
पञ्चायत हुन्न भनेर फालेर हालेको नयाँ लुगा थियो बहुदल, त्यसलाई जनयुद्धले च्यातचुत पारिदियो । त्यसपछि देशलाई सुहाउने, जनताले खोजेको नयाँ राजनीतिक पोसाक लोकतन्त्र हो भनियो । यसमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली यति ठूलो समस्याका रुपमा खडा गरियो कि यो पद्धतिमा जनअसन्तोष बढेपछि दिल्लीका १२ बुँदेका मतियार दलहरुका लागि निल्नु न ओकल्नुको गाँस हुन पुगेको छ । अग्रगमनको नारासहित जातजाति उचालेर राजा र हिन्दूधर्म फालियो, संघीयता ल्याइयो, गणतन्त्र धान्न यिनका लागि बाबुको बिहे देखिन थालेको छ ।
भनिन्छ, सर्पको विष झार्न नजान्नेले सर्पलाई नचलाउनु । समस्या पहाड बनेर टाउकामा बज्रिएपछि हाम्रा नेताहरु काँचोवायु बर्बराएजस्तो बरबराउन थालेका छन् । तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु भन्ने उखानझैं सिद्धान्तहीन ठूला दलहरु सडकमा पोखिन थालेको जनाक्रोशलाई फेरि दमनका माध्यमबाट समन गर्न अग्रसर भएका छन् ।
एकदशक लामो जनयुद्ध गर्ने माओवादीले देखायो– मार्न सजिलो छ, बचाउन–बनाउन गाह्रो । बिगार्न सहज छ, निर्माण गर्न मुस्किल । १७ हजार मारिए, तिनका आफन्तजन आज पनि मुटु गाँठो पारेर ज्यूँदै मरिरहेका छन् । गोरखा फुजेलका नन्दप्रसाद छोराका हत्यारालाई कारवाही गर भनेर अनसन बस्दाबस्दै ज्यान गुमाउन पुगे, उनकी धर्मपत्नी गंगामाया न्यायका लागि पलपल मरिरहेकी छिन् । ओखलढुंगामा मारिएका उज्जनकुमार श्रेष्ठकी दिदी न्यायका लागि संघर्ष गरिरहेकी छिन् ।
सरकार बाँकेमा दिउँसै खुँडाले मान्छे मार्ने रिगललाई माफी दिन्छ, बालकसहित ८ प्रहरी मार्ने रेशम चौधरीलाई आममाफीको घोषणा गर्छ । अदालतका विचाराधीन रहेका अनगिन्ति फौजदारी मुद्दाहरुलाई फैसला गर्नबाट रोक्छ ।
न्यायका लागि अर्जुनदृष्टि कहीँ छैन । पद्धतिको मृत्यु, नैतिकताको मृत्यु, संसद र सरकारको मृत्यु, न्यायको मृत्यु कसैलाई दुख्दैन । न मानवाधिकार आयोग केही गर्नसक्छ, न अदालत ? नागरिक समाज र अधिकारकर्मीहरु त मलामी हुन्, छिनछिनमा न्याय मरिरहेको छ र उनीहरु दिनदिनै मलाम गइरहेका छन् । शायद यो हत्याराले हाँकेको मलामीको देश हो । हत्यारालाई कारवाही गराएर बिधि बसाल्न कोही खडा हुन सक्दैनन्, मलाम जान जो जुनसुकै बेला तैयार छन् ।
जनता सडकमा निस्किए भने तिनीहरुमाथि टियर ग्यास, पानीको फोहरा, लाठी बर्साइन्छ । राज्यदमन गरिन्छ । समस्याको पहिचान र समाधानका लागि प्रयास नै हुँदैन ।
कस्तो जंगलराजका रुपमा लोकतन्त्र आएछ ।
समस्या समानुपातिक, संघीयतामा छ, गणतन्त्र र धर्मनिरपेक्षतामा छ र पद्धति र प्रणालीमा छ । समस्या नेतृत्वको नैतिकहीनतामा छ । समस्याले राष्ट्र जेलिएको छ । समस्या जवाफदेही कसको भन्ने प्रश्नमा छ । यी समस्याहरुमा राष्ट्रिय बहस हुनुपर्ने हो । ठूला दलहरु समस्यालाई जालझेल गरेर टङ्ग्याउने र यसैगरी अपराधिक राजनीति चलाइरहने मूडमा छन् । विधिको शासन स्थापित गर्न यिनीहरु तैयार छैनन् । जहाँ पनि राजनीतिकरण गरेर लाभ लिने यिनको उद्देश्य छ ।
यसकारण संवैधानिक शासन छैन । सेटिङ र अपराधिक राजनीतिले देश चलाइरहेको छ ।
सत्तालाई पञ्चदेवलको हण्डी सम्झेकाहरुले जतिसुकै भागबण्डाको सन्तोष असन्तोष प्रकट गरे पनि राजतन्त्र, हिन्दूअधिराज्य, जनजिविका र संघीयता विरोधी आँधी उठेको छ । यो जनउभारलाई जसरी पनि तुहाउने प्रपञ्चमा ठूला दलहरु लागेका छन् । पटक पटकको जनजागरण दबाएजस्तै अहिलेको जनविद्रोह दबाउन सकिएला तर दबाइएको घाउमा खिल पल्टियो भने क्यान्सर हुने खतरा बढी रहन्छ । हेक्का रहोस् ।
राजनीतिलाई नदीजस्तै प्राकृतिक रुपमा बग्न नदिएकाले देश जटिल र दुरुह अवस्थामा पुगिसक्यो । जनअपेक्षाअनुरुपको वातावरण धमिल्याउने काम ठूला राजनीतिक नेताहरुले नै गरेका हुन् । उनीहरुको भागबण्डा र सिण्डिकेटले, कसैलाई काखा र कसैलाई पाखा गर्ने नीतिले, निषेध र विभेदपूर्ण चरित्रले तिनका झोलेलाई बाहेक कसैलाई सन्तुष्ट पार्न सकेन । ठूला नेताका गलत क्रियाकलापका कारण आज राज्यका कुनै निकाय सुशासनयुक्त छैनन् । सम्पूर्ण राज्य संयन्त्रमात्र होइन, यहाँसम्म कि नैतिक र विवेकशील नागरिक उत्पादन गर्ने विश्वविद्यालयहरु समेत भ्रष्टाचारमय बनेका छन् । देशका भविष्य युवाहरु निरन्तर विदेश पलायन भइरहेका छन् । मुलुकको हाडछालामात्र बाँकी छ, राजनीतिले देखाउन लायक केही गरेन । राजनीति र बागमती ः उस्तै महारोग, महामारीको स्रोत बन्न पुगेको छ ।
मुस्ताङको खच्चर चराउने गोठालोजस्तो भएर देश चल्दैन । गोवर भरिएको खप्परले लोकतन्त्र चलाउन सकिदैन । माओको देश चीनमा उदारवाद आइसक्यो, समाजवादी भारतमा ऐतिहासिक परिवर्तन भइसक्यो, हाम्रा नेताहरु जनतालाई भेडाबाख्रा चराएझैं चराउन खोज्दैछन् । हवल्दारी चल्ने दिन समाप्त भइसकेको हेक्का नराख्दा हाम्रा ठूला नेताहरु जनताको नजरमा घृणाका पात्र बनिसकेका छन् । सत्य बुझ्नेका लागि राजनीतिक नेतृत्व तावाबाट उफ्रेको माछा आगोमा परेजस्तो हुनुपर्ने हो । अझै यिनलाई चेत खुलेको छैन । जनताको राजनीति गर्नेले जनतालाई नै शासन गर्ने हुन् । जनताका नाममा अर्काका लागि राजनीति गर्नेहरु बकस र ज्याला खाने भरियामात्र हुनसक्छन् । हो, यही भिन्नता नबुझ्दा हाम्रा एकजना नेता पनि राजनेता बन्न नसकेका हुन् ।
हरेक दल, हरेक नेता डन पाल्छन्, माफियासँग साँठगाँठ गर्छन्, विदेशीसँग अँध्यारो कोठामा गुप्तगु गरिरहेका देखिन्छन् । भ्रष्टाचार यिनको मूल चरित्र हो । जनताको अपेक्षासँग यिनलाई कुनै सरोकार नै देखिन्न । ढाँट्छन्, पेटभरि ढाँट्छन् र भन्छन्– प्रतिगमनको खतरा बढ्यो । यथार्थमा यिनीहरु आफै प्रतिगमनकारी हुन् ।
अनैतिकताको, सिद्धान्तहीनताको, अकर्मण्यताको बेग त हाने, यिनले हिमालदेखि पहाडहुँदै तराईसम्मको ५४ हजार बर्गमाइलको मुलुकमा विकास, समृद्धि, शान्ति र समानताको लागि डाँफेले बेग हानेजसरी बेग हान्ने कहिले ? हाम्रा नेताहरु दयाका पात्र छन्, यिनीहरुमाथि दयामात्र गर्न सकिन्छ ।
अहिले उठेको जनविद्रोह सुनामी बन्यो भने भन्न सकिन्न, नेपालले श्रीलंकाको भन्दा भयानक परिणाम भोग्नुपर्ने छ ।
अन्तमा, पार्टी नेताहरुलाई मार्टिन लुथर किङको भनाई– ‘जबसम्म मानिस आफ्नो व्यक्तिगत स्वार्थको संकीर्ण दायराभन्दा माथि उठेर समग्र मानवताको बृहत् हितसम्म पुग्दैन, तबसम्म उसको जीवन सार्थक ठहर्दैन ।’