‘सबैमा शौचालयको पहुँच पुग्नुपर्छ’  

‘सबैमा शौचालयको पहुँच पुग्नुपर्छ’  

काठमाडौँ, १ मङ्सिर :

उपसभामुख इन्दिरा रानाले सबै नागरिकमा शौचालयको पहुँच हुनुपर्नेमा जोड दिनुभएको छ । विश्व शौचालय दिवस २०२३ का अवसरमा आज लालितपुरमा आयोजित कार्यक्रममा उहाँले कानुनमा मात्रै सीमित नभएर शौचालयको सरसफाइबारे सबैमा जनचेतनाको विकास हुन आवश्यक रहेको बताउनुभयो ।

सभामुख रानाले शौचालयको प्रयोग गर्न आफैँमा अनुशासन आवश्यक रहेको बताउँदै सुरक्षित शौचालयको प्रयोग गर्नका लागि सचेतना जरुरी रहेको बताउनुभयो ।

‘स्मार्ट वास सोलुसन’का अध्यक्ष रामदीप साहले विश्वमा तीन अर्ब मानिस शौचालय प्रयोग गर्नबाट वञ्चित रहेको बताउनुभयो । असुरक्षित शौचालयको प्रयोगबाट विश्वमा दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्य प्रस्तुत गर्नुभयो ।

नेपालमा ५० वटा शौचालयको सर्वेक्षणमा तीन वटामात्रै प्रयोग गर्न उपयुक्त रहेको जानकारी दिनुभयो । उहाँले सार्वजनिक शौचालयको प्रवद्र्धन तथा सुधारका लागि तीन तहकै सरकार लाग्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री गणेश साहले नेपालको अस्पताल र विद्यालयको शौचालय सबैभन्दा फोहर रहेको बताउनुभयो । उहाँले एक जनालाई उपचार गर्न अस्पताल लैजाँदा शौचालयका कारण बिरामी कुरुवा पनि रोगी भएर फर्किनुपर्ने अवस्था रहेको बताउनुभयो । पानीको सरसफाइ, स्वच्छताबारे सबै निकायले काम गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

वाटर यड नेपालका प्रतिनिधि तृप्ती राईले सार्वजनिक शौचालय सुधारमा विस्तारै परिवर्तन आइरहेको बताउनुभयो । उहाँले शौचालयको प्रयोगबारे प्रभावकारी नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । शौचालय बनाउँदा लैङ्गिक समानतालाई ध्यान दिएर बनाउनुपर्ने बताउनुभयो । नेभेम्बर १३ देखि १९ सम्म विश्व शौचालय दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘परिवर्तनका लागि तीव्रता’ रहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *