भूकम्पपीडितलाई राहत सामग्री प्रदान   

भूकम्पपीडितलाई राहत सामग्री प्रदान   

काठमाडौँ, २६ कात्तिक :

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु १० लाख बराबरका राहत सामग्री प्रदान गरेको छ ।

कम्पनीका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले नलगाड नगरपालिका र जाजरकोटका प्रमुखलाई दुई सय थान, भेरी नगरपालिकाका प्रमुखलाई दुई सय थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिमअन्तर्गत १४ नं वडाका अध्यक्षलाई तीन सय थान कम्बल हस्तान्तरण गर्नुभएको हो । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ती कम्बल प्रदान गरेको आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

 

जाजरकोट भूकम्प : दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति

त्रिवेणी (रुकुमपश्चिम), २६ कात्तिक : यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो ।

जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन आंशिक क्षति हुँदा चार भवन भने पूर्णरुपमा ध्वस्त भएका जिल्ला प्रहरी कार्यालयका जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन, चुनेचाँदे गाउँपालिका–९ मा रहेको इलाका प्रहरी कार्यालय पञ्चलादह, भेरी नगरपालिक–३ मा रहेको जिल्ला अदालत समन्वय सुरक्षा इकाइ कार्यालय र सोही ठाउँकै अस्थायी प्रहरी चौकी पूर्णरुपमा क्षति भएका हुन् ।

जिल्लामा भूकम्पले आंशिक क्षति पुर्‍याइएका २९ प्रहरी भवनमध्ये चार वटा कम जोखिम भएकाले सोही भवनबाट सेवा सञ्चालन भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । अन्य जोखिम रहेका ठाउँमा त्रिपालबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै रुकुमपश्चिममा १० वटा प्रहरी कार्यालयमा क्षति हुँदा पाँच भवन पूर्णरुपमा ध्वस्त भएका छन् भने पाँच वटामा आंशिक क्षति पुुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको पुरानो भवन बस्न नमिल्ने गरी क्षति भएको छ ।

प्रहरीचौकी पूर्तिमकाँडा, प्रहरीचौकी सोलावाङ, प्रहरीचौकी सिम्ली र इलाका प्रहरी कार्यालय आठबिसकोटका भवन पूर्णरुपमा भूकम्पले क्षति पु¥याएको छ । सिम्लीको प्रहरीचौकी अरुको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट इलाका प्रहरी कार्यालयले त्रिपालबाट सेवा दिइरहेको प्रनाउ भट्टराईले जानकारी दिनुभयो । बाँकी अस्थायी प्रहरीचौकी साँख, स्यालाखदी, पीपल, भुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने

काठमाडौँ, २६ कात्तिक : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ । समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५÷२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने बताउनुभयो । “भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न रकम र प्राविधिक पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “तत्काल अस्थायी आवास बनाउन सकिएन भने भूकम्पपीडित चिसोले कठ्याङग्रिने डर हुन्छ ।” विपद् कोषबाट रकम सिधै स्थानीय तहमा पठाउने र पालिकाले नै प्रभावितलाई प्रदान गरेर जतिसक्दो छिटो अस्थायी आवास निर्माण गर्नुपर्ने उहाँले बताउनभयो ।

सहरी विकासमन्त्री सीता गुरुङले अस्थायी आवासका लागि जस्तापाता प्वाल नपारिकन प्रयोग गर्नुपर्ने तथा अस्थायी आवास नबनाउनेलाई थप किस्ता नपाउने गरी मापदण्ड बनाउनुपर्ने बताउनुभयो । बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी प्रभावित हुने भएकाले तत्काल अस्थायी आवास बनाउन जरुरी भएको उहाँको भनाइ थियो ।

समितिका विज्ञ सदस्य डा गङ्गालाल तुलाधरले अस्थायी अवास निर्माणका लागि तत्काल रकम निकासा गर्नुपर्ने र विपद् व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्ने, प्रदेश सरकारले अनुगम गर्ने र सङ्घीय सरकारले स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा समितिका सदस्य सचिव अनिल पोखरलले जाजरकोट भूकम्पमा भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।

 

भूकम्प प्रभावितलाई स्याङ्जाका तीन पालिकाद्वारा १२ लाख बढी सहयोग

वालिङ (स्याङ्जा) २६ कात्तिक : जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित बनेकाको सहयोगका लागि स्याङ्जाका तीन नगरपालिकाले झण्डै रु १३ लाख सहयोग गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै स्याङ्जाका गल्याङ, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले रु १२ लाख ७७ हजार तीन सय ५५ उपलब्ध गराएका हुन् ।

स्याङ्जाको गल्याङ नगरपालिकाले रु चार लाख, भीरकोट नगरपालिकाले रु तीन लाख र फेदीखोला गाउँपालिकाले रु पाँच लाख ७७ हजार तीन सय ५५ सहयोग गरेका हुन् । गल्याङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीबाट रु दुई लाख र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख गरी कूल रु चार लाख उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।

“जनप्रतिनिधि एक दिनको सेवा सुविधा र कर्मचारीको एक दिनको तलबबाट रकम सङ्कलन गरिएको छ”, उहाँले भन्नुभयो, “उक्त रकमलाई नेपाल सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा गरेका छौँ ।” भीरकोट नगर कार्यपालिकाको १०६औँ बैठकले पनि भूकम्प प्रभावितको सहयोगका लागि रु तीन लाख उपलब्ध गराएको छ । नगर कार्यपालिकाको बैठकले रु तीन लाख प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरे बमोजिम सहयोग गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

नगरपालिकाले भूकम्पका कारण क्षति पुगेका घरमा बस्न सक्ने अवस्था नभएको र जाडोको मौसम भएकाले राहतस्वरुप फाईबर सिरकहरुसमेत पठाएको छ । फेदीखोला गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारीको तलबबाट रु पाँच लाख ७७ हजार तीन सय ५५ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

अध्यक्ष सुवेदीका अनुसार गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट ५० प्रतिशत हुन आउने रु दुई लाख ४१ हजार सात सय ५०, गाउँपालिकाका स्थायी, करार, ज्यालादारी कर्मचारीको एक दिनको तलबबाट रु एक लाख पाँच हजार तीन सय ३२ र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, बाल शिक्षक, विद्यालय कर्मचारी, आईटी शिक्षकको एक दिनको तलब रु दुई लाख ३० हजार दुई सय ७३ सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको हो ।

जिल्लाबाट विभिन्न सङ्घ संस्था तथा व्यक्तिले भूकम्प प्रभावितका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने क्रम जारी रहेको छ ।

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग  

काठमाडौँ, २६ कात्तिक : गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । कम्पनीले पीडितहरुका लागि रू ३५ लाख ६८ हजार एक सय ५० बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो ।

 

‘जाजरकोट भूकम्प’ प्रतिकार्यका लागि आइएफआरसीद्वारा आपत्कालीन अपिल जारी  

काठमाडौँ, २६ कात्तिक : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ ।

उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ । आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि स्वीस फ्रयाङ्क ५० लाख बराबरको आपत्कालीन सहयोग अपिल जारी गरेको हो । आइएफआरसीले विसं २०७२ वैशाखको विनाशकारी भूकम्पपीडितका लागि पनि आपत्कालीन अपिल जारी गर्दै मानवीय सेवा उपलब्ध गराएको थियो ।

आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत हाल जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक, परामर्श) सरसफाइ,जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ । राहत वितरणका साथमा भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने यहाँस्थित आएफआरसी कार्यालयले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अकल्पनीय जनधनको क्षति हुन पुगेको थियो । भूकम्पमा एक सय पचासभन्दा बढीले अकालमा ज्यान गुमाउनुपरेको छ । भूकम्पबाट प्रारम्भिक तथ्याङ्कानुसार ३० हजार घर पूर्णरूपमा अथवा आंशिकरूपमा क्षति भएको र ३८ हजार परिवार प्रभावित भएको जनाइएको छ ।

आइएफआरसीले विज्ञप्तिमा भनेको छ, “जाजरकोटमा भूकम्प गएलगत्तै आइएफआरसी तथा आफ्ना साझेदार एवं नेपाल रेडक्रस सहित सम्बन्धित पक्षसँग मिलेर तत्काल मानवीय सेवाका काम गरिराखेको छ । रेडक्रसका दक्ष स्वयंसेवकमार्फत प्रभावितको खोजी, उद्धार तथा राहतका काम द्रुत सञ्चालनमा सहयोग गरिरहेको छ । स्वास्थ्य सेवा प्राथमिक उपचार, मनोसामाजिक सहयोग, रक्त सञ्चार तथा एम्बुलेन्स सेवा, गैरखाद्य सामग्री, वितरणजस्ता तत्कालीन सहयोग उपलब्ध गराइरहेको छ ।”

दश करोड सहयोग    

आइएफआरसीले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको थियो । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो । आइएफआरसीका महासचिव जगन चापागाईँले जाजरकोट भूकम्पपश्चात तत्काल सो रकम उपलब्ध गराउने जानकारी दिँदै नेपालमा मानवीय सेवाका थप सहयोग उपलब्ध गराउने बताउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ “ आइएफआरसीले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । हामी पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि थप सहयोग उपलब्ध गराउँछौँ ।”

आइएफआरसीका काठमाडौँस्थित कार्यक्रम संयोजक तथा प्रवक्ता हर्भे गजेउले नेपाल रेडक्रसले पहिलो दिनदेखि नै भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “आइएफआरसी तथा यसका साझेदारको सहयोगमा प्रभावित जिल्लामा महत्त्वपूर्ण आपत्कालीन सेवा तथा राहत सहयोग प्रदान गरिरहेको छ । पहाडी क्षेत्रमा रहेका यी जिल्ला पहुँचका दृष्टिबाट तुलनात्मकरूपमा कठिन छन् । अतिसङ्कटासन्न व्यक्तिसम्म पुग्नुपर्ने उद्देश्यका साथ हामी काम गरिरहेका छौँ र समय घर्किरहेको छ । यस्तो परिस्थितिमा अझ विशेषरूपमा जाडो याम आउन लागेको समयलाई ध्यानमा राखी भूकम्पबाट प्रभावित परिवारलाई नेपालमा सहयोग गर्नका लागि अन्तर्राष्ट्रिय महासङ्घले अपिल जारी गरिरहेको छ । अन्तर्राष्ट्रिय महासङ्घ तथा यसका साझेदारहरू नेपाल रेडक्रसले यस क्षेत्रमा प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन काम गरिरहेको समयमा यस प्रक्रियामा यस सोसाइटीलाई सहयोग गर्नका लागि निरन्तर सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दछन् ।”

जाजरकोटमा एनआरएनएको स्वास्थ्य शिविर

काठमाडौँ, २६ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह)ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका एनआरएनएले जनाएको छ ।

शिविरमा भूकम्पपीडितलाई हुनसक्ने सम्भावित रोगबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो । सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली काठमाडौँदेखि जाजरकोट पुगेको थियो ।

स्वास्थ्य शिविरमा आएका भूकम्पपीडितमा प्रमुखरुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका समस्या देखिएका थिए । यसअघि समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै ‘स्वास्थ्य सेवा हटलाइन’ सञ्चालनमा ल्याएको थियो ।

समितिले भूकम्पपीडितलाई समयमा राहत, उद्धार तथा स्वास्थ्योपचार गर्न नसके चिसो बढ्दै गएकाले निमोनिया, रुघाखोकीको जोखिम रहेको जनाएको छ । शिविरमा खटिएका स्वास्थ्य विज्ञले सो क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला बढी जोखिममा रहेका जनाएका छन् । भूकम्पले घर भत्काउँदाको त्रास, बढ्दै गएको चिसोलगायत कारणले गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका हुन् ।

भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारका लागि सहजीकरण गर्न आवश्यक रहेको सङ्घले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *