भूकम्पपीडितलाई कलाकर्मीको सहयोग 

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग 

काठमाडौँ, २३ कात्तिक :

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ ।

कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट रु ३९ हजार आठ सय ३१ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितको घाउमा मल्हम लगाउने सानो प्रयास गरेका छौँ ।”

चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको तर्फबाट उक्त कोषमा रु एक लाख सहयोग गर्ने अध्यक्ष नवल खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबैले आ–आफ्नो स्थानबाट सहयोगी भावना देखाउनु आवश्यक छ । निर्माता सदस्यलाई पनि सहयोगका लागि अपिल गरेका छौँ ।”

चलचित्र निर्माता सन्तोष सेनले उक्त कोषमा रु ६१ हजार पाँच सय सहयोग गरेको जानकारी दिनुभयो । यस्तै गायक सुनिलसिंह ठकुरीले नेपालगञ्जमा यही कात्तिक २४ गते हुने ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिलसिंह ठकुरी’ नामक साङ्गीतिक कार्यक्रम (कन्सर्ट)बाट प्राप्त हुने आम्दानी कोषलाई सहयोग गर्ने बताउनुभयो ।

विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग

कर्णाली, २३ कात्तिक : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ ।

प्रदेश तथा जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षसहित बुधबार बसेको प्रदेश सचिवालयको बैठकले पश्चिम नेपालमा सम्भावित विनाशकारी भूकम्पको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नागरिकका लागि विपद् जोखिम आवास बीमा तथा प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बीमा गर्न सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपपहासचिव तथा कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा, विपद् व्यवस्थापन विशेष कार्ययोजना निर्माण, साधन स्रोत र जनशक्तिको उचित परिचालन गरी तत्काल पुनःस्थापना गर्न सचिवालय बैठकले तीनै तहका सरकारलाई अनुरोध गरेको छ ।

भूकम्पबाट ध्वस्त सबै संरचनाको पुनःनिर्माणका लागि एउटा सवल पुनःनिर्माण प्राधिकरण गठनको समेत बैठकबाट माग गरिएको उपपहासचिव यादवले बताउनुभयो । “उद्धारका बाँकी कामलाई पूर्णता दिँदै उपचार, राहत, पुनःस्थापन तथा पुनःनिमाणका काममा जोड दिन सरकारलाई अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो । यस्तै, उद्धार, राहत, अस्थायी बसोबास, खाना, लत्ताकपडा, उपचार र क्षतिको विवरण सङ्कलन तथा पीडितलक्षित मनोपरामर्शका लागि पूर्ण क्षति भएका वडामा केन्द्रीय तथा प्रदेश समिति सदस्यको नेतृत्वमा टोली परिचालन गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिइएको छ ।

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मुलुकमा आइपर्ने विषम् परिस्थिति तथा महाविनासकारी अवस्थाको प्रतिकार्यका लागि पूर्वतयारी, रोकथाम तथा जनताको जीउधनको सुरक्षा गर्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने अवस्थाका विषयमा सङ्घलगायत तीनै तहका सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि माओवादी केन्द्र कर्णाली प्रदेशले सरकारको राहत कोषमा रु पाँच लाख जम्मा गर्ने निर्णय गरेको छ ।

‘भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’

भेरीगङ्गा (सुर्खेत), २३ कात्तिक : जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सरकारले त्यहाँ मनोमरामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । भूकम्पका कारण धेरैले आफन्त गुमाएका छन् । उहाले भन्नुभयो, “अहिले पनि परकम्प जाने क्रम जारी छ, नागरिक त्रासमा छन् । यस्तोे अवस्थामा व्यक्तिमा मनोसामाजिक समस्या देखिनसक्छ । त्यसैले तीनै तहका सरकारले राहत र पुनस्थापनासँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिएर काम गर्नुपर्छ ।”

मनोविद् रावतले भूकम्पपछि सबै निकाय राहत वितरणमा मात्रै केन्द्रित भएको उल्लेख गर्दै मानसिकरुपमा पनि पीडित समस्यामा परेकाले सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच कर्णाली प्रदेश सरकारले भूकम्पपछि मनोसामाजिक समस्या निम्तिन सक्नेतर्फ ध्यान दिएर मनोविमर्शकर्ता खटाएको जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रभावित क्षेत्रमा चिकित्सक र मनोविमर्शकर्ता परिचालन गरेको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले मनोसामाजिक समस्याको व्यवस्थापनका लागि विभिन्न साझेदार संस्थासँग मिलेर मनोविमर्शकर्ता खटाइएको जानकारी दिनुभयो । विभिन्न महामारी फैलिन सक्नेतर्फ सचेत भएको उल्लेख गर्दै उहाँले बालबालिकामा पोषणको समस्या आउन नदिने गरी काम सुरु गरिएको बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *