‘अञ्जिला’ छायाङ्कनमा   

‘अञ्जिला’ छायाङ्कनमा   

काठमाडौँ, १९ कात्तिक :

नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण गरिएको छ । गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा यसको छायाङ्कन भइरहेको निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो ।

“प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ, मैले दोस्रो बायोपिक निर्देशन गरेको हुँ”, निर्देशक चाम्सले भन्नुभयो, “अञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहेता पनि प्रस्तुतीकरण फिल्मी शैलीमै छ ।”

नेपालमा जीवनीबाट प्रभावित (बायोपिक) चलचित्र बन्ने क्रमले केही समययता निरन्तरता पाएको छ । भारतसँगै हलिउडमा त्यस्ता चलचित्र धेरै नै बन्ने गरेको पाइएता पनि नेपालमा भने त्यो सङ्ख्या न्यून छ ।

व्यापारिकरूपमा त्यस्ता चलचित्र असफल हुँदा निर्माताले आँट गर्न सकेका छैनन् । दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गर्नुभएका निर्देशक चाम्सले पुनः अर्को चलचित्र तयार गरिरहनुभएको छ ।

उहाँले यसअगाडि गोर्खालीको वीरताको कथामा ‘गोर्खा वारियर’ निर्देशन गर्नुभएको थियो । इलाम, झापा र काठमाडौँमा छायाङ्कन हुने चलचित्रमा खेलाडी सुब्बा स्वयंले आफ्नो भूमिका निर्वाह गरिरहनुभएको छ । यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतले पनि अभिनय गरिरहनुभएको छ ।

चलचित्रमा यम थापाको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको छायाङ्कन निर्देशन रहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *