

प्रा. डा. युवराज संग्राैला
जसले जे भनोस, प्रधानमन्त्री सुसिला कार्कीको राष्ट्रप्रतिको निष्टामा कसैले शंका गर्नुपर्दैन । तर, सत्तामा रहेका व्यक्तिका वरिपरि मकैबारीमा बादर घुमेझैं, दोग्ला मानिसको घुइचो लाग्छ । प्रधानमन्त्रीलाई मेरा केही सुझाव छन् ।

१. थुप्रै हातहतियार लुटिएका छन । प्रहरीको मनोबल कम्जोर छ । उनिहरुमा केही महिनापछिको निर्वाचनमा सुरक्षा दिने मनोबल छैन। लुटिएका हातहतियार निर्वाचनमा प्रयोग हुन सक्छन। अतः, आन्दोलनकारी नवयुवाहरु, सार्बजनिक बौद्धिक, व्यवसायी र मानव अधिकारकर्मी र राजनीतिक दलका प्रतिनिधि सहित एउटा गोलमेच गरि निर्वाचनलाई जेष्ठमा सारी स्वच्छ निर्वाचनको व्यवस्था गर्नु राम्रो हुन्छ।
२. उद्यमीहरु र उद्योगपतीमा मनोत्रास ब्याप्त छ। सयौं होटलहरु जलाइएका छन, नीजीलगानीका स्कुलहरु जलाइएका छन। अपराधीले सडकमै लुट्न थालेका छन। जेन्जीका नाममा धम्क्याएर चन्दा असुल्ने अपराध बढेका छन। प्रधानमन्त्रीले उनीहरुलाई पुनः उत्पादन र सेवा ब्यापारमा सकृय पार्नुपर्छ।

३. आन्दोलनहरु सुधार परीवर्तनका लागि हुन्छन। त्यस्ता आन्दोलनले २०४६ सालमा झैं नागरिकमा उत्साह भर्नुपर्छ। अहिले निरासा र त्रासको बादल छ। राष्ट्रीय एकता निर्माण गरि राष्ट्रीय अखण्डताको संरक्षण गर्नुपर्छ।
४. खुल्ला समाज र जनता सँग जोडिएका राजनीतिक संगठनहरुलेनै राज्यमा स्थायित्व निर्माण गर्छन। एकथरीलाई निषेध गरेर अँध्यारोमा राजनीति गर्नेहरुबाट देश अगाडि कदापी जाँदैन। हामी बुद्धको करुणा र शान्तिको सिद्धांत मान्ने मानिस हौं। समताले मात्र यस्तो अवस्था निर्माण गर्छ। अतः राष्ट्रलाई मुल्यहीन होइन मान्यताको मार्गमा नै हिडाउनुपर्छ। दण्डहिनता स्वीकार्य हुन्न तर स्वइच्छाचारीता अस्वीकार्य हुन्छ। अतः डढाईएका अदालत, सरकारी वकिल र प्रहरीका कार्यलयलाई उद्धारगरि न्यायप्रणालीलाई बाटोमा ल्याउनु आवस्यक छ।
यी केही तत्काल गर्नुपर्ने कुरा हुन। आम नागरिकले परीवर्तनले चाहेको नयाँ राजनीतिको उदयका लागि नयाँ बाताबरण तयार गर्नुपर्छ। अबको नेतृत्व नवयुवाहरुले नै गर्ने हो। तर धेरै कुरा सिक्नुपर्छ बुझ्नुपर्छ। यो बाटो समात्नुको बिकल्प छैन। राजनीतिमा सत्ता र विकल्पका नाममा षडयन्त्रले फेरीपनि मौका नपाओस। प्रधानमन्त्रीले नयाँ इतिहास निर्माण गर्ने अवसर पाउनुभएको छ। यो पूरा होस।


