

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।
शनिबार बिहान ७ बजेसम्म मुख्य राजमार्गहरु बन्द भएको खबर आएको छैन । राती बन्द भएका सडक आज बिहान ५ बजेबाट सञ्चालनमा आएका हुन् ।

विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण देशभरका चारवटा राजमार्ग खण्डमा सवारी आवागमन अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

अवरुद्ध खण्डमा ताप्लेजुङको फक्ताङलुङ–बेल्ली खोलादेखि रुकुमको तादीगाउँ–डिङ्ग्रे, संखुवासभाको अर्खटेप र सिन्धुलीको १०४ किलोमिटर क्षेत्रअन्तर्गतका भाग समावेश छन् । विभागले पहिरो पन्छाउने काम भइरहेको र सडक छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मुलुकको अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको तथा पहिरो र बाढीको उच्च जोखिम रहने जनाएको छ ।
सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरूमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न विभागले आग्रह गरेको छ ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरूमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिनुभएको छ । विभागले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण सडक प्रयोगकर्तालाई सतर्क रहन अनुरोध गरेको छ ।
बनेपा : शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलान्चोकको नागरिकको जनजीवन प्रभावित बनेको छ । शुक्रवार साँझदेखि परेको बर्षासँगै काभ्रेपलान्चोक भएर बहने खोला तथा खोल्सामा पानीको बहाव बढेको छ ।
बर्षासँगै जिल्लामा रहेको रोसी खोलामा पानीको बहाव बढेर बाढीपहिरोको जोखिम बढेसँगै राजधानीबाट पूर्वी पहाडी र तराइको जिल्ला जोड्ने बिपी राजमार्गमा सवारी रोकिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले पानी बढेसँगै बिपी राजमार्ग भएर बहने रोसी खोलाको बहाव बढेर बाढी र पहिरोको जोखिम रहेकाले सवारी साधनलाई राजमार्गमा नै रोकिएको (होल्ड) गराइएको बताउनुभयो ।
उहाँले बिपी राजमार्ग भएर जाने सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, भकुन्डे र मङगलटारमा रोकिएको बताउनुभयो । उहाँले शनिवार बिहानदेखि बर्षा हुनेक्रम बढेकाले बढेकोले बाढी र पहिरोको जोखिमबाट हुनसक्ने क्षति कम गर्न सवारी रोकिएको बताउनुभयो ।
यसैगरी बर्षासँगै अरनिको राजमार्गको धुलिखेल खावा सडकमा समेत सडकमाथिबाट ढुङ्गा खस्न सुरु भएकाले अरनिको राजमार्ग भएर चल्ने सवारीसाधनलाई धुलिखेलमा र पाँचखालमा रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । बर्षा भएसँगै दसैं मनाएर गाउँबाट सहर हिंडेका तथा टीका लगाउन आफन्तकोमा हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।
काठमाडौँ : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

