

हेमन्त केसी
काँक्रेविहार (सुर्खेत) : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन सङ्घीय सरकारले विशेषको पहलकदमीको आवश्यकता रहेको बताउनुभयो ।

पछिल्लो पटक गठन भएको सरकारले आयोजनालाई समस्याग्रस्त आयोजनाको रूपमा राख्ने तयारीको चर्चाबीच आयोजनास्थल पुगेर सम्बद्ध पक्षहरूसँग छलफल गरेका मुख्यमन्त्री कँडेलले यही अवस्थामा कामको गति नबढ्ने र थप भएको समयमा समेत आयोजना सम्पन्न नहुने अवस्थाले आयोजनाको भविष्यलाई लिएर चिन्ता हुनु स्वभाविक रहेको भन्दै सङ्घीय सरकारले यस सम्बन्ध विशेष पहल लिनुपर्ने धारणा राखेका हुन। छलफलमा मुख्यमन्त्री कँडेलले सङ्घीय सरकारको कार्यक्षेत्र रहेपछि प्रदेशको चासो र चिन्ताको भएकोले राष्ट्रिय गौरवको यो आयोजना निर्माणको गतिलाई यही अवस्थामा छाडन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो , थपिएको समयमा पनि साठी प्रतिशतको आसपासमा मात्र काम भएको रहेछ, यही गतिले अर्को चार वर्षमा पनि सम्पन्न हुने छाँट देखिदैन। मुख्यमन्त्री कँडेलले राष्ट्रिय गौरवको भनेपनि सङ्घीय सरकारले जति पहल लिनु पथ्र्यो, त्यो मात्रामा पहल नभएको बताउनुभयो । मुख्यमन्त्री कडेल आयोजनास्थल बबई पुगेर प्रमुखसहित निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग स्थलगत अवलोकन ,छलफल गनुभयो ।

छलफलको क्रममा मुख्यमन्त्री कँडेलले आयोजनाको अहिलेको कार्य प्रगति हेरेर समस्याग्रस्त आयोजनाको रूपमा राख्ने तयारी भन्दा कामको गति बढाउने गरि विशेष योजना निर्माण गर्न सङ्घीय सरकारले पहल लिनु पर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा चाँडै नै सङ्घीय सरकारको ध्यानाकर्षण गराइने जानकारी गराउनुभयो ।
छलफलमा आयोजना प्रमुख सुरेन्द्र पौडेलले आयोजनाको कार्य प्रगति अपेक्षा भन्दा कमजोर रहेकोले थपिएको समयमा काम सम्पन्न हुन नसक्ने बताउनुभयो । उहाँले आयोजनाका सन्दर्भमा आफूहरूको अधिकार सीमित रहेकोले माथिल्लो निकायबाट यस सम्बन्धमा विशेष पहल हुनुपर्ने बताउनुभयो । वि.स. २०७१÷७२ आर्थिक वर्षमा सुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको समग्र प्रगति हालसम्म करिब ५७ प्रतिशत पुगेको छ । करिब साढे पाँच महिना बाँकी रहँदा आयोजनाको अन्तिम म्याद २०८२ चैत रहेको छ । आयोजनामा अझै १० जना उच्च तहका प्राविधिक पद रिक्त छन्, जसले कामको गति प्रभावित पारेको छ ।
योजनामा प्राविधिक जनशक्तिको नहुँदा आयोजना समयमा सम्पन्न गर्ने नसकिने आयोजनका सिनियर डिभिजनल इन्जिनियर भरत पाठकले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणका प्राविधिककमा समेत आयोजनाका डिजाइन बुझ्न सक्ने क्षमता भएको प्राविधिक नहुँदा आयोजनाले गति लिन समस्या भएको पाठकको भनाई थियो ।
भेरीगङ्गा नगरपालिका– ११ चिप्ले, सुर्खेतमा अवस्थित यो आयोजनाले भेरी नदीको पानी १२.२ किलोमिटर लामो गुरुङमार्फत बर्दिया जिल्लाको बबई नदीमा ल्याउने योजना रहेको छ । यसबाट ४६ दशमलव ६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । पहिलो चरणमा सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोभेक ले तोकिएको समयभन्दा एक वर्षअघि नै २०७६ वैशाखमा सुरुङ कार्य सम्पन्न गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सो वर्ष चिप्लेमा सुरुङको ‘ब्रेकथ्रु’ उद्घाटन गरेका थिए । तर, दोस्रो चरणको काम भने पछिल्ला वर्षहरूमा सुस्त गतिमा भएको छ । रासस


