

भैरहवा (रुपन्देही) :
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघियता असफल भएको भन्नेहरुलाई प्रदेशलाई अधिकार र कानुनविहीन बनाउनेहरूले नै जवाफ दिनुपर्ने बताउनुभएको छ । यादवले वर्तमान राज्य संरचना र निर्वाचन प्रणालीका कारण जनताले उचित प्रतिनिधित्व पाउन नसकेको र संघियताको लाभ जनतासम्म नपुगेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले बुधबार रुपन्देहीको धकधईमा आयोजना गरेको विशाल जनप्रदर्शन तथा जनसभामा बोल्नुहुदै यादवले प्रदेश सरकारहरुलाई अधिकार नदिइएकोमा असन्तुष्टि जनाउनुभएको हो । उहाँले भन्नुभयो, “संघियताले के ग¥यो, प्रदेशहरूलाई अधिकार पनि छैन, कानुन पनि छैन, शासन पनि छैन, प्रशासन पनि छैन, अनि काम कसरी हुन्छ त ?”
यादवले अधिकार सम्पन्न प्रदेश बनाउनुपर्ने र प्रदेशको व्यवस्थापन प्रदेशलाई नै हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले वर्तमान निर्वाचन प्रणालीमा व्याप्त असमानतालाई अन्त्य गर्न समानुपातिक प्रतिनिधित्वको दायरा बढाउनुपर्ने माग राख्नुभयो । अध्यक्ष यादवले निर्वाचन प्रणालीमा बदलाव ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले महिला, दलित र अन्य समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । महिला र दलितका लागि निर्वाचनमा सधैँ आरक्षण सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । यस्तै यादवले राष्ट्रिय सभामा जनसंख्याको अनुपातमा प्रतिनिधित्व नभएकोमा पनि प्रश्न उठाउनुभएको छ । उहाँका अनुसार जनसंख्याको आधारमा सबैको हिस्सेदारी हुनुपर्छ ।

यादवले देशको महँगो निर्वाचन प्रणाली बनाएको भन्दै सरकारको कडा आलोचना गर्नुभएको छ । यादवले वर्तमान प्रणालीमा गरिबको छोराले चुनाव लड्न नसक्ने अवस्था आएको भन्दै यसलाई तुरुन्तै समानुपातिक निर्वाचन प्रणालीले प्रतिस्थापन गर्नुपर्ने माग गर्नुभयो । हालका सात प्रदेश समाधान नभएको भन्दै उहाँले जाति, भाषा र भूगोलको आधारमा १०, १२ वा १४ प्रदेश बनाइनुपर्ने समेत जिकिर गर्नुभयो । यादवले प्रदेशलाई पूर्ण अधिकार दिन कांग्रेस र कम्युनिष्टहरूले नचाहेको आरोप समेत लगाउनुभयो । उहाँले यस विषयमा कुनै भ्रममा नरही, जनता समाजवादी पार्टीले पूर्ण अधिकार सम्पन्न प्रदेश र न्यायोचित निर्वाचन प्रणालीका लागि निरन्तर संघर्ष गर्ने स्पष्ट पार्नुभएको छ ।

यादवले अहिलेको संविधान विभेद र असमानतामा आधारित रहेको तथा यसलाई आधा भन्दा बढी जनसंख्याले स्विकार नगरेको हुदा यसको पुर्नलेखन, परिमाजर्नमा पनि जोड दिनुभयो । रासस

