एमालेको ११ औं महाधिवेशन

एमालेको ११ औं महाधिवेशन

ram naam satya

काठमाडौं : नेकपा (एमाले) को आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी मंसिर २७–२९ सम्म काठमाडौंमा हुने महाधिवेशनमा २ हजार १२७ जना प्रतिनिधि सहभागी हुने पार्टीले प्रष्ट पारेको छ ।

 

पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय स्पष्ट पारेर मातहतका कमिटीलाई पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार पार्टी सदस्यताको संख्याअनुसार विभिन्न ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ । ‘अपानीमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसम्बन्धी व्यवस्था, पार्टी सदस्यको संख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरु खुलाएर मातहतका कमिटीमा पठाइएको छ’ डा. अधिकारीले भन्नुभयो, ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरुले लागु गर्नेछन् । यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज, पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’

 

एमालेले पठाएको अपानीमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचितसहित ४६४ जना प्रतिनिधि रहनेछन् । जसअनुसार केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोग २९, निर्वाचन आयोग ३०, लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन् ।

 

यसैगरी स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेशसहित) का कमिटीबाट कम्तिमा दुईजना महिलासहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठुलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । यसरी १६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्तअनुसार १ हजार १३५ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १ हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनिका एक जना युवा र एक जना महिलासहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् ।

 

संघीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानीमा भनिएको छ ‘न्यूनतमा १ हजार २०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८–८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् । सोभन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुनेछन् ।’

 

अपानीका अनुसार स्वदेशका विशेष जिल्ला अन्तर्गत १ हजार २०० जनासम्म पार्टी सदस्य बराबर कम्तिमा एक महिलासहित तीनजना निर्वाचित प्रतिनिधि रहने छन् । (सदस्य संख्या ८०० नाघेमा प्रत्येक ८०० मा थप एक, यस्तो संख्यामा कम्तिमा एक तिहाइ महिला सुनिश्चित गर्ने) यसरी विशेष जिल्ला अन्तर्गत करिब ४७ जना निर्वाचित प्रतिनिधि संख्या रहने जनाइएको छ।

 

एमाले महाधिवेशनमा दलित आरक्षण अन्तर्गतका प्रतिनिधि कम्तिमा ८१ जना रहने छन् । दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एक जना प्रतिनिधि र त्यसभन्दा माथि सदस्य भएमा दुई जना र तीनजना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तिमा एक जना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ ।

 

श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । जसअनुसार हरेक भूगोलका सात वटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तिमा तीनजना महिलासहित ७ जनाका दरले प्रतिनिधिहरु निर्वाचित भएर आउने छन् ।

 

एमालेका प्रवासमा रहेका कमिटीहरुबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तिमा तीनजना महिलासहित १० जना, अमेरिका, क्यानडा, युरोप, एशिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई जना महिलासहित पाँच जनाका दरले निर्वाचित भएर ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानीमा जनाइएको छ ।

 

केन्द्रीय विभागमा रहेका पार्टी सदस्यहरुमध्येबाट एक–एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यस्तै, केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ। पार्टीका २३ वटा जनसंगठन मध्येबाट अनुसुची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तिमा तीन जना महिलासहित ७ जना प्रतिनिधि हुनेछन् ।

 

यस अन्तर्गत खेलकुद महासंघ, किसान महासंघ, अनेरास्ववियु, युवा संघ नेपाल लगायतका ११ जनसंगठन छन् । अनुसुची २ अन्तर्गतका १२ वटा जनसंगठनबाट कम्तिमा दुई महिलासहित पाँच जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ । ‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्’ पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भन्नुभयो ।

 

यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको संख्या २ हजार ०२६ जना हुनेछन् । ्एमालेको विधानअनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । जसअनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनित गर्दा कुल प्रतिनिधिको संख्या २ हजार १२७ हुने एमालेले जनाएको छ । GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *