

काठमाडौं : संविधानले देशको विकासमा बाधा पुर्याएको र वर्तमान राजनीतिक संरचनाले स्थिर सरकार दिन नसकेको आरोप लगाउँदै प्रा. डा. सुरेश कुमार ढुङ्गानाले काठमाडौं क्षेत्र नम्बर–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। कानुन विषयमा लामो समय अध्ययन र अध्यापन गरेका ढुङ्गानाले देश जोगाउने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
ढुङ्गानाले दलभन्दा माथि देश रहेको उल्लेख गर्दै अहिले राष्ट्र गम्भीर संकटमा रहेको दाबी गरे। “देशको अवस्था हेर्दा संविधान नै बाधक बनेको छ। सरकार सजिलै बनाउन नसकिने, स्थिरता कायम हुन नसक्ने र विकासका काम अगाडि बढाउन नसकिने अवस्था सिर्जना भएको छ,” उनले भने।

उनले संविधानका कारण अपेक्षाभन्दा फरक शक्ति सन्तुलन बनेको र यसले देशको विकासलाई अवरुद्ध गरेको आरोप लगाए। “संविधान परिवर्तन र सरकार सुधार नगरेसम्म देश विकासको बाटोमा अघि बढ्न सक्दैन,” उनले स्पष्ट पारे।

‘दलभन्दा माथि देश’ — स्वतन्त्र उम्मेदवारको अपिल

ढुङ्गानाले काठमाडौं–३ का मतदातासँग भेट्दा सकारात्मक प्रतिक्रिया पाएको दाबी गर्दै मतदातालाई दलभन्दा योग्य व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्। “मत कसैलाई हाल्ने तपाईंको अधिकार हो, तर राम्रो र योग्य व्यक्तिलाई हाल्नुस्। दलभन्दा माथि देशलाई राख्नुस्,” उनले मतदातालाई अपिल गरे।
उनका अनुसार स्वतन्त्र उम्मेदवार विजयी भए दलहरूलाई जनताको मुद्दा सम्बोधन गर्न दबाब पर्नेछ। उनले थपे, “पुराना शक्तिप्रति जनताको चासो घट्दै गएको छ। जनता अब नयाँ शक्तिलाई अवसर दिन चाहन्छन्।”
काठमाडौं–३ मा प्रतिस्पर्धा तीव्र, मत विभाजनको सम्भावना
काठमाडौं क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेस, एमाले, माओवादीसहित पाँच प्रमुख दलहरू प्रतिस्पर्धामा रहेका छन्। स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति र विभिन्न राजनीतिक समूहहरूको सक्रियताले मत विभाजन हुने आकलन गरिएको छ।
ढुङ्गानाले स्वतन्त्र उम्मेदवार राजु पाण्डेको पोस्टर सुरुमा नकारात्मक रूपमा लिइएको र यसले मत विभाजनको संकेत देखाएको पनि उल्लेख गरे।
‘कानुन बनाउने ठाउँमा कानुन जान्ने व्यक्ति चाहिन्छ’
कानुन निर्माण गर्ने संसदमा कानुन बुझेका र अभ्यास गरेका व्यक्तिहरू जान आवश्यक रहेको ढुङ्गानाको भनाइ छ। उनले आफू लामो समयदेखि कानुन अध्ययन र अध्यापनमा संलग्न रहेको उल्लेख गर्दै संसदमा पुगेर संविधान र कानुनी संरचना सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
साथै, उनले विभिन्न आयोगहरूको संरचना र आवश्यकताबारे पनि प्रश्न उठाउँदै अनावश्यक संरचनाले राज्यको स्रोत दुरुपयोग भइरहेको आरोप लगाए।
काठमाडौं–३ मा स्वतन्त्र उम्मेदवारको सक्रियताले परम्परागत दलहरूको वर्चस्व चुनौतीमा परेको विश्लेषण गरिएको छ। मतदाताहरूको बदलिँदो मनोविज्ञान र नयाँ विकल्पको खोजीले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। NPC

