

काठमाडाै : प्रा. डा. सुरेन्द्र केसीले युवालाई प्रेरित गर्दै राजनीतिक परिवर्तनको दिशा निर्वाचनबाट तय हुनुपर्ने बताएका छन्। उनले वर्तमान नेतृत्वमाथि टिप्पणी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक खुबी भनेको परिस्थिति अनुसार पल्टुराम गर्ने शैली भएको आरोप लगाए। केसीका अनुसार युवाले नतिजा कस्तो आउँछ र त्यसलाई कसरी पूरा गर्ने भन्ने चुनौती स्वीकार गर्न सिक्नुपर्छ, किनकि लोकतन्त्रमा परिणामभन्दा पनि प्रक्रिया बलियो हुनु आवश्यक हुन्छ।
चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलकै बीच पछिल्लो समय देखिएको ‘जेन्जी आन्दोलन’को मूल उद्देश्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनु भएको दाबी पनि उनले गरे। उनले १४ देखि २७ वर्ष उमेर समूहका युवाको प्रतिनिधित्व हुने खालका उम्मेदवार नउठाइनु आन्दोलनको एक कारण भएको उल्लेख गर्दै दलहरूले युवा पुस्ताको आवाजलाई गम्भीर रूपमा नलिएको आलोचना गरे।

डाक्टर केसीले राम्रो भए पनि नराम्रो भए पनि निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने र त्यसबाट आएको नतिजालाई सबै पक्षले स्वीकार गर्नुपर्नेमा जोड दिए। उनले विश्वकै ठूलो राजनीतिक प्रयोगजस्तै संविधान सभाबाट नेपाल गुज्रिसकेको स्मरण गराउँदै छिमेकी चीनबाट आउने आर्थिक तथा राजनीतिक प्रभावप्रति पनि सचेत रहनुपर्ने चेतावनी दिए। उनका अनुसार राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर पारदर्शी र स्थिर राजनीतिक अभ्यासतर्फ देश अघि बढ्नुपर्छ।


राजा नन्द माण्डव्यले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कुनै पनि सदस्य नरहेको स्पष्ट पार्दै रविन्द्र मिश्र विजयी भएर संसद पुगेमा राष्ट्रिय पोशाकमै उपस्थित हुन आग्रह गरेका छन्। उनले आफू कसैको पैसामा चुनाव नलडेको र आफ्नै विवेकले राजनीतिक यात्रामा लागेको बताए। पार्टीमा जाँदा तोडफोड होइन एकता कायम गर्नुपर्ने धारणा राख्दै उनले कुनै सर्त नराखी निस्वार्थ रूपमा मिश्रलाई सहयोग गरेको उल्लेख गरे। आफूभन्दा रविन्द्र मिश्र अझ उत्कृष्ट नेता भएको भन्दै हार्दैमा राजनीति नसकिने, मृत्यु भएपछि मात्र राजनीतिक यात्रा अन्त्य हुने टिप्पणीसमेत गरे।


रविन्द्र मिश्रले पैसा नबाँड्ने र ढाँटेर भोट नमाग्ने अडान दोहोर्याउँदै राजा नन्द माण्डव्यले हृदयदेखि आफूलाई समर्थन गरेको बताए। उनले राप्रपा सबैभन्दा उत्कृष्ट पार्टी बन्न सक्ने दाबी गर्दै भ्रष्टाचार गरेर खानु आमाको रगत पिएर खानु सरह भएको कडा अभिव्यक्ति दिए। चुनाव जित्ने कुरामा आफू ढुक्क रहेको उल्लेख गर्दै सांसदहरू राष्ट्रिय पोशाकमा संसद् उपस्थित हुँदा संस्थाको गरिमा अझ बढ्ने धारणा पनि राखे।
मिश्रले पृथ्वीनारायण शाहले तीन पटक प्रयासपछि सफलता हासिल गरेको इतिहास स्मरण गर्दै आफू पनि तेस्रो प्रयासमा जित हासिल गर्ने विश्वास व्यक्त गरे। उनले सबै स्वतन्त्र उम्मेदवारलाई साथ दिन आग्रह गर्दै राजनीतिक प्रतिस्पर्धा विचार र इमानदारीका आधारमा हुनुपर्नेमा जोड दिए। नेताहरूको पछिल्लो अभिव्यक्तिले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय पहिचान, पारदर्शिता र नैतिक राजनीतिबारे बहस थप चर्किने संकेत गरेको छ।

कमल कोइरालाले मानव अधिकारको संरक्षण, नागरिकका मौलिक हक सुनिश्चितता र जनताको पहुँच विस्तारलाई आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताएका छन्। उनले कृषि, जलविद्युत्, औद्योगिक तथा दिगो विकासका क्षेत्रमा व्यवहारिक र कार्यान्वयनयोग्य नीति निर्माण गरी कृषक, उद्यमी, व्यवसायी र सरोकारवालाले भोग्दै आएका कानुनी जटिलता समाधान गर्ने योजना सार्वजनिक गरे। साथै सुशासन, समावेशिता, न्यायमा पहुँच, विधिको शासन तथा युवा र जेन्जी अभियानका प्रमुख एजेण्डालाई निशर्त कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गरे।
उनले कला, साहित्य, संगीत, खेलकुद, रङ्गमञ्च, सिनेमा, सम्पदा, संस्कृति र वातावरणीय सन्तुलनलाई संरक्षण गर्दै पर्यावरणीय न्यायसहितको दिगो पर्यटन नीति निर्माण गर्ने बताए। डिजिटल अर्थतन्त्र र प्रविधिको विकासलाई प्राथमिकतामा राख्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने धारणा राखेका कोइरालाले समग्र राष्ट्रिय विकासमा प्रविधिको उपयोग अपरिहार्य भएको उल्लेख गरे।
कोइरालाले राष्ट्रियता, राज्य संरचना, शक्ति बाँडफाँड, शक्ति पृथकीकरण, चेक एन्ड ब्यालेन्स तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्पष्ट कानुनी आधार निर्माण गर्ने आवश्यकता औंल्याए। साथै निर्वाचन क्षेत्र केन्द्रित स्थानीय सरोकारका मुद्दा पहिचान गरी समाधानमुखी नीति बनाउने र स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै जनमुखी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने आफ्नो लक्ष्य रहेको बताए। NPC

