दक्षिण एसियाले आतंकवादसँग कसरी जुध्ने…?

दक्षिण एसियाले आतंकवादसँग कसरी जुध्ने…?

ram naam satya

हालै भारतको राजधानी र पाकिस्तानको राजधानीमा २४ घण्टा भित्रै आतंकवादी बम विस्फोट भए, जसमा ठूलो जनहानि भयो। यी धमाकाहरूले दक्षिण एसियामा आतंकवादविरुद्धको अवस्था अझै पनि गम्भीर र जटिल देखाएको छ। दक्षिण एसियाको शान्ति र स्थिरता कायम राख्न अझ धेरै प्रयास आवश्यक छ।

 

दिल्लीमा कार विस्फोट भएपछि भारत सरकारले ठूलो सतर्कता देखायो र हतारमा कुनै निष्कर्ष निकालेन। दुई दिनपछि मात्र मन्त्रीपरिषद्को सुरक्षा समितिले यसलाई राष्ट्रविरोधी शक्तिहरूद्वारा गराइएको एक भीषण आतंकवादी घटना भनेर बतायो। सरकारले अपराधी र तिनीहरूका समर्थकहरूलाई छिटो पहिचान गरी कानुनी कठघरामा उभ्याउने प्रतिज्ञा गर्यो। उता, इस्लामाबादमा विस्फोट भएलगत्तै पाकिस्तानी सरकारले यसलाई पाक तालिबानद्वारा गराइएको आतंकवादी हमला भएको पुष्टि गर्‍यो। सोही दिन पाकिस्तान तालिबानले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लियो।

 

दुवै विस्फोटलाई हेर्दा भारत र पाकिस्तानको सुरक्षा व्यवस्थामा स्पष्ट कमजोरी देखिन्छ। दिल्ली विस्फोटका मुख्य आरोपी उमर मोहम्मद विस्फोटक पदार्थले भरिएको कार चलाएर फरीदाबादबाट दिल्ली आइपुगे। उनी लालकिलाको नजिकको पार्किङ क्षेत्रमा करिब तीन घण्टा बसे। लालकिला भारतका प्रमुख स्थलहरूमध्ये एक हो, जसमा कडा सुरक्षा हुन्छ। तर उमर कुनै सुरक्षा जांचमा परेनन्। विशेष कुरा के पनि हो भने विस्फोटको दिन र त्यस अघिल्लो दिन सुरक्षाकर्मीहरूले फरीदाबादमा उमरसँग सम्बन्धित तीन व्यक्तिको घरबाट करिब ३ हजार विस्फोटक पदार्थ बरामद गरेका थिए। तर कुनै आपतकालीन वा प्रभावकारी सतर्कता उपाय अपनाइएन।

 

इस्लामाबादमा विस्फोट जी–११ क्षेत्रमा भयो, जुन पाकिस्तानका केन्द्रीय प्रशासनिक क्षेत्रहरूमध्ये एक हो। यस्तो ठाउँमा विस्फोट गर्नु सिधै राज्य शक्तिलाई चुनौती दिने जस्तै हो। यस घटनाले राजधानी केन्द्रको सुरक्षामा रहेको कमजोरी उजागर गर्‍यो। उल्लेखनीय कुरा के हो भने यस विस्फोटको एक दिनअघि पाक सेनाले उत्तरपश्चिममा रहेको एउटा सैनिक विद्यालयमा भएको आतंकवादी हमला विफल पारेको थियो। यसबाट देखिन्छ कि पाकिस्तानमा भइरहेका लगातार आतंकवादी घटनाहरू नियन्त्रणमा आउन सकेका छैनन्। पाकिस्तान अझ ठूलो आतंकवादी जोखिमको सामना गरिरहेको छ। सायद यही कारण पाक रक्षा मन्त्री असीफले “पाकिस्तान युद्धमा छ” भनेर भने।

 

आतंकवादविरुद्धको लडाइँ एक दीर्घकालीन र व्यवस्थित परियोजना हो, जसका लागि वर्तमान संवेदनशील समस्याहरू र मूल राजनीतिक–सामाजिक समस्याहरू दुवैको समाधान खोज्दै बहुआयामिक नीतिहरू लागू गर्न आवश्यक हुन्छ। भारत र पाकिस्तानका लागि तत्कालको कार्य भनेको पक्का प्रमाणका आधारमा कानुनअनुसार आतंककारीहरूलाई कठोर सजाय दिनु हो, ताकि न्याय सुनिश्चित होस्। तर दीर्घकालीन स्थिरता चाहिने हो भने आतंकवाद जन्माउने स्रोत नै समाप्त गर्नुपर्छ।

 

दक्षिण एसियामा आतंकवादका जरा धेरै गहिरा र जटिल छन्—भूराजनीति, धार्मिक उग्रवाद, जातीय द्वन्द्व, आर्थिक–सामाजिक असन्तुलन, बाह्य हस्तक्षेप लगायतका तत्वहरूले यसलाई प्रभाव पारिरहेका छन्। यही कारण यहाँको आतंकवादविरोधी संघर्ष दशकौँदेखि कठिन बनेको छ।

 

विश्लेषकहरूको मतमा दक्षिण एसियाली देशहरूले आतंकवाद उखेलेर फाल्न तीन दिशामा विशेष ध्यान दिन सक्नेछन्। पहिलो, उग्रवादी विचारधाराको नियन्त्रणमा जोड दिनु। भारत बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। उग्रवादी विचारधाराले समुदायहरूबीच वैमनस्यता र घृणा फैलाउँछ, जसले आतंकवादी गतिविधिलाई उक्साउँछ। पाकिस्तानमा पाक तालिबानको आधार पनि उग्र धार्मिक विचारधारामै छ।

 

दोस्रो, आर्थिक–सामाजिक विकासमा समावेशिता र सन्तुलनमा जोड दिनु। दक्षिण एसियामा गरिबी अत्यन्त धेरै छ र अमीर–गरिबको खाडल अत्यन्त ठूलो। आर्थिक रूपमा कमजोर वर्ग आतंकवादी समूहहरूबाट बढी प्रभावित हुन्छन्। आतंकवादी समूहहरूले प्रायः यिनै वर्गबाट नयाँ सदस्य भर्ना गर्छन्।

 

तेस्रो, क्षेत्रीय आतंकवादविरोधी सहयोग मजबुत बनाउनु। यसको लागि भारत–पाकिस्तान सम्बन्ध सुधारतर्फ अघि बढ्नु आवश्यक छ। यदि दक्षिण एसियाका दुई सबैभन्दा ठूला देशबीचको अवरोध हटाएर केही हदसम्म मेलमिलाप स्थापित गरियो भने क्षेत्रीय आतंकवादविरोधी सहयोगका ढोका खुल्नेछन्, जसले सिमापार आतंकवाद रोक्न धेरै मद्दत पुर्‍याउनेछ। भारत र पाकिस्तान दुवैको प्रमुख कार्य विकासलाई प्राथमिकता दिनु हो। दुवै देशबीचका विवादहरूको समाधान अन्ततः वार्ताबाटै सम्भव छ। इतिहासले पनि देखाइसकेको छ कि सैन्य उपाय प्रभावकारी हुँदैन।

 

दक्षिण एसियामा आतंकवादविरोधी संघर्ष केवल क्षेत्रीय शान्ति र स्थिरताकै लागि महत्वपूर्ण छैन, यसले विश्व राजनीतिक–आर्थिक समीकरणमा पनि प्रभाव पार्छ। आतंकवादविरुद्धको मार्ग चुनौतीपूर्ण छ, लामो पनि छ, तर राम्रो भविष्यका लागि कठिनाइहरूका बाबजुद अघि बढ्दै जानैपर्छ। CRI

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *