

काठमाडौं : हालै सम्पन्न निर्वाचनको परिणामले अपेक्षा विपरीत अवस्था सिर्जना गरेपछि विभिन्न राजनीतिक नेताहरूले आत्मालोचना, सुधार र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
डा. डिला संग्रौलाले निर्वाचन परिणामले कसैलाई पनि स्पष्ट दुईतिहाइ बहुमत नदिएको भन्दै जनताको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताइन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी संसदसम्म पुग्नु परिवर्तनको संकेत भएको उल्लेख गर्दै कमजोरीका कारण राजीनामा दिनेभन्दा आत्मालोचना गर्दै सडकबाट जनताको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गरिन्। उनका अनुसार भ्रष्टाचार अन्त्य गर्न विशेष आयोग गठन गर्नुपर्छ र भएका सबै भ्रष्टाचारका फाइलहरू खोल्नुपर्छ। साथै किसानले मल सहज रूपमा पाउनुपर्ने र नेपाली नागरिक रोजगारीका लागि विदेशिन नपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले राजनीतिमा मूल्य, निष्ठा र जनताको चिन्ता भन्दा सत्ताको चिन्ताले प्राथमिकता पाउँदा मतदाताले परम्परागत चिन्हमा मतदान नगरेको उल्लेख गरिन्। लोकतन्त्रमा हार–जित स्वाभाविक रहेको बताउँदै उनले आफ्नो पराजय स्वीकार गरेको जनाइन्। गगन थापा व्यक्ति मात्र नभई विचार, संघर्ष र वर्तमान आवश्यकता भएको उनको भनाइ थियो। उनले एमाले र कांग्रेसको गठबन्धनले संविधान संशोधनको विषयलाई पनि अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।

यसैबीच, एमाले नेता शेरबहादुर तामाङले निर्वाचन परिणाम यस्तो आउला भनेर नसोचेको भए पनि परिवर्तन आउने संकेत भने पहिल्यै देखिएको बताए। उनका अनुसार पुराना राजनीतिक दलहरू कमजोर बन्दै गएका बेला नयाँ दलहरू उदाएका छन् र अब पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे गम्भीर रूपमा सोच्नुपर्ने अवस्था आएको छ।

उनले चुनावी अभियानका क्रममा एमालेका प्रतिनिधिहरूलाई जनताले राम्रो स्वागत गरे पनि मत परिणाम फरक आएको उल्लेख गरे। अब पार्टीलाई एकताबद्ध बनाएर जनताको कुरा सुनेर एजेण्डा तय गर्दै अघि बढ्नुपर्ने उनले बताए। कुनै एक नेतालाई मात्र दोष लगाएर उम्किने ठाउँ नरहेको भन्दै उनले सबै भ्रष्टाचारका प्रकरणहरूको छानबिन हुनुपर्ने र भ्रष्टाचारमा संलग्न व्यक्तिलाई एमालेले पार्टीमा स्थान नदिने स्पष्ट पारे।
तामाङले चीन र भारतको भूराजनीतिक प्रतिस्पर्धाले नेपाल संकटमा पर्न सक्ने चेतावनी पनि दिए। SPP ले देशलाई बर्बाद गर्ने भएकाले यस्ताे सैनिक परियाेजनालाई रास्वपाकाे सरकारले अघि बढाए सरकारले नसाेचेकाे अान्दाेलन गर्ने चेतावनी दिए । आगामी सरकारले आर्थिक वर्षको बजेट र बढ्दो ऋण व्यवस्थापनमा चुनौती सामना गर्नुपर्ने उनको भनाइ थियो। एमाले अध्यक्ष अाेलीकाे राजीनामा सम्बन्धमा कडा प्रतिक्रिया दिदै अाफ्नाे निर्वाचन क्षेत्र जाेगाउन नसक्नेले अध्यक्षकाे राजीनामा माग्न नसुहाउने तर्क दिए । अन्य विषयमा भने केन्द्रीय समितिको बैठकपछि मात्र धारणा सार्वजनिक गरिने उनले बताए।

यसैगरी, राजनीतिक विश्लेषक टेकेन्द्र जोशीले निर्वाचन परिणामलाई विश्वसनीय भएको प्रतिक्रिया दिए। उनले नेपाली कांग्रेसले लामो समयदेखि राजनीति गर्दै आए पनि सबै जनता अाफ्नै पक्षमा छन् भन्ने भ्रमित धारणा रहेको बताए। जनताको इच्छा र चाहना बुझ्न नसक्दा पुराना राजनीतिक दलहरूको अवस्था कमजोर भएको उनको विश्लेषण थियो।
जोशीका अनुसार पुराना राजनीतिक दलहरूले आत्मपरिवर्तन गर्दै आफ्नो राजनीतिक संस्कृति र कार्यशैली बदल्न आवश्यक छ। सामाजिक तथा आर्थिक परिवर्तनलाई सम्बोधन गर्न सके मात्र देशले सकारात्मक दिशा लिन सक्ने उनको भनाइ थियो। फरक परिस्थितिमा भएको यस निर्वाचनपछि देश कुन दिशा र अवस्थामा जाने भन्नेबारे अझै स्पष्ट नभएको उनले बताए। NPC


