नयाँ र पुराना पुस्ता जोड्ने प्रयत्न

नयाँ र पुराना पुस्ता जोड्ने प्रयत्न

ram naam satya

काठमाडौँ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले समाजमा नयाँ र पुराना पुस्ताबिच जोड्ने प्रयत्न हुनुपर्ने बताउनुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल, केन्द्रीय युवा परिषद्को प्रथम बैठकमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले हाम्रो समाजलाई नयाँ र पुराना पुस्ता भनेर विभाजित गर्न खोजिएको र यो राष्ट्रलाई कमजोर बनाउने रणनीतिक चाल भएको बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, “वास्तवमा हाम्रो समाज मिलेर बसेको समाज हो। एउटै परिवारको कुरा गर्नुहुन्छ भने सामान्यतया, तीन पुस्ता एउटै परिवारमा बस्ने समाज हो। विभाजन होइन, जोड्ने प्रयत्न हुनुपर्दछ। ” नेपाली समाजको पारिवारिक तथा सामाजिक ढाँचालाई कमजोर बनाउन भू–राजनीतिक चालहरू खेलिएको उहाँको भनाइ छ।

उहाँले एमालेको मिसन ग्रासरुट कार्यक्रममार्फत् प्रत्येक वडामा दस जना युवालाई परिचालित गर्ने नीति अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले पार्टीको वार्षिक कार्ययोजनामा हरेक पालिकामा युवा नेतृत्वको विकास र प्रदेश अधिवेशनदेखि युवालाई आरक्षणको नीति लिइएको बताउनुभयो।

उहाँले नेपाली समाजमा पुस्ता विभाजन मौलिक परम्पराको रूपमा रहेको र यसलाई यो सम्बन्धको रूपमा रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “जेन–जेड नेपाली परम्परा होइन। पुस्ता विभाजनको हाम्रो आफ्नै परम्परा छ। पुस्ता विभाजन विभाजनका रूपमा होइन, सम्बन्धका रूपमा छ। यसकारण, पुस्ता मिलेर बसेको समाजका रूपमा हामीले नेपाली समाजलाई स्थापित गर्न सकेका छौं। ”

उहाँले राष्ट्रको पक्षमा उभिने कि, भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउनका लागि विदेशी शक्तिको इशारामा नाँच्ने भन्ने प्रश्न खडा भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हाम्रो पार्टीले भनेको छ, आउने निर्वाचन जलाउनेका पक्षमा कि, बनाउनेका पक्षमा भनेर जनताका बिचमा जानुपर्दछ। जलाउनेहरू होइन, बनाउनेहरूले नै राष्ट्रको समृद्धिको बाटोमा लान सक्दछन् भन्ने कुरामा जनतालाई परिचालित गर्ने कुरामा युवा साथीहरू अग्रसर रहनुपर्छ भन्ने कुरा राख्न चाहन्छु। ” GP

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *