

काठमाडौँ : मंसिर २९ गते दिउँसो १३:४५ बजे राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले अन्तर जिल्ला मतदानको व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगका कामु प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ। मुलुकभित्र विभिन्न कारणले आफ्नो स्थायी ठेगानाबाहिर बसोबास गरिरहेका नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित उक्त ज्ञापनपत्र पेश गरिएको हो।
ज्ञापनपत्र बुझाउन नागरिक समाजका अध्यक्ष फणीन्द्र नेपाल, उपाध्यक्ष रणबहादुर चन्द र महासचिव प्रवीण नेपालको उपस्थिती रहेको थियो। उनीहरूले वर्तमान अवस्थामा रोजगारी, शिक्षा, व्यवसाय तथा अन्य कारणले ठूलो संख्यामा नागरिक एक जिल्लाबाट अर्को जिल्लामा बसाइँ सरेको उल्लेख गर्दै, मतदाता जहाँ रहे पनि मतदान गर्न पाउने व्यवस्था लोकतन्त्रको आधारभूत आवश्यकता भएको बताएका छन्।

नागरिक समाजका प्रतिनिधिहरूले अन्तर जिल्ला मतदानको व्यवस्था नहुँदा लाखौँ मतदाता मतदानबाट वञ्चित हुने अवस्था सिर्जना भएको दाबी गरे। उनीहरूका अनुसार संविधानले प्रत्याभूत गरेको मताधिकार व्यवहारमा कार्यान्वयन हुन नसक्नु लोकतान्त्रिक प्रणालीका लागि गम्भीर चुनौती हो। त्यसैले प्रविधिको प्रयोग, अस्थायी मतदाता परिचयपत्र वा विशेष मतदान केन्द्रको व्यवस्था गरेर अन्तर जिल्ला मतदानलाई व्यवहारमा उतार्न सकिने सुझाव पनि ज्ञापनपत्रमा समेटिएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै कामु प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नागरिक समाजले उठाएको विषय सैद्धान्तिक रूपमा सही र समयसापेक्ष रहेको प्रतिक्रिया दिनुभयो। तर उहाँले कानुनी, प्राविधिक र व्यवस्थापकीय जटिलताका कारण आसन्न निर्वाचनमा यस्तो व्यवस्था गर्न सम्भव नभएको स्पष्ट पार्नुभयो। अन्तर जिल्ला मतदान लागू गर्न निर्वाचन कानुन संशोधन, पूर्वतयारी र पर्याप्त स्रोत आवश्यक पर्ने उहाँको भनाइ थियो।

यद्यपि निर्वाचन आयुक्त भण्डारीले आगामी दिनमा यस विषयमा गम्भीर छलफल गरी दीर्घकालीन समाधानतर्फ आयोग सकारात्मक रहेको संकेत गर्नुभयो। नागरिक समाजले भने मताधिकारको पूर्ण उपयोग सुनिश्चित नभएसम्म दबाबमूलक पहललाई निरन्तरता दिने जनाएको छ।



