

नेपाली खेलकुदको इतिहासमा दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) एक अभूतपूर्व राष्ट्रिय महोत्सवका रूपमा उदाएको छ। मङ्सिरको सुरुवातसँगै सुरु भएको यो क्रिकेट लहरले देशभर एकताको, उत्साहको र आशाको वातावरण सिर्जना गरेको छ। खेतका भकारी भरिने मौसमजस्तै, नेपाली क्रिकेटप्रेमीको मन पनि अहिले एनपिएलको रौनकले भरिएको छ। साँच्चै एनपिएल अब खेलकुद मात्र रहेन, सांस्कृतिक चाडकै रूप लिन थालेको छ।
पहिलो संस्करण नै विश्वकै महत्त्वपूर्ण फ्रेन्चाइज लिगमध्ये शीर्ष पाँचमा परेपछि दोस्रो संस्करण क्यानका लागि चुनौतीपूर्ण थियो। तर यस वर्ष कृत्रिम प्रकाशमुनि, नयाँ सिट व्यवस्था, स्तरीय पूर्वाधार र व्यवस्थित व्यवस्थापनले क्यानले चुनौती स्वीकार गरेको स्पष्ट हुन्छ। नेपालमा पहिलोपटक फल्ड–लाइट म्याच हेर्न पाएका दर्शकका लागि यो ऐतिहासिक क्षणभन्दा कम छैन। सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बनाउनु र दशकौँदेखि रोकिएको पूर्वाधार विस्तारले क्रिकेटको भविष्यसँग आशावादी बनाएको छ।

आर्थिक दृष्टिले पनि एनपिएलले नयाँ सम्भावना खोलेको छ। गत संस्करणको भन्दा बढी आम्दानीको क्यानको प्रक्षेपण उत्साहजनक छ। प्रायोजन, प्रसारण अधिकार, टिकट बिक्री, फ्रेन्चाइज दर्ता—सबैले एनपिएललाई खेल उद्योगको क्षेत्रमा नयाँ मोड दिएको छ। यसको सफलताले फुटबल, भलिबल, कबड्डी जस्ता अन्य खेलका लिगलाई पनि प्रेरित गर्नेछ।

तर, यति भए पनि कमजोरीहरू नदेखिएको होइन। गत वर्षको आर्थिक अनियमिततासम्बन्धी उजुरी, बोलपत्र प्रक्रियामाथिको विवाद, चिसो मौसममा रातिको म्याचका कारण खेलाडीमा परेको प्रभाव—यी विषयले व्यवस्थापनसँगै जवाफदेहिताको आवश्यकता औँल्याउँछ।

एनपिएलले खेलेको यो नयाँ अध्याय प्रशंसनीय छ। तर यसलाई दीर्घकालीन, विश्वस्त र राष्ट्रिय गौरवको चाड बनाइराख्न पारदर्शिता, पूर्वाधार विस्तार, खेलाडी संरक्षण र व्यवस्थापन सुधार अपरिहार्य छन्। यी चुनौती पार गर्न सके एनपिएलले नेपाललाई विश्व क्रिकेटको नक्सामा नयाँ उचाइमा पुर्याउनेछ।
