

काठमाडौं : राजधानीको भृकुटिमण्डपमा बुधबार सम्पन्न नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन ऐतिहासिक र राजनीतिक दृष्टिले चर्चाको केन्द्र बनेको छ। माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायतका १० वाम घटकहरूबीच एकता घोषणा गर्दै नयाँ पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ।
यस ऐतिहासिक एकता घोषणामा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन्। खनाल पछिल्ला दिनमा एकता प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै अलग दल गठनको तयारीमा रहेको भनिएको थियो। तर गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि उनले अन्ततः एकता सम्मेलनमा भाग लिएर नयाँ राजनीतिक समीकरणप्रति समर्थन जनाएका हुन्।

नवगठित पार्टीको संयोजकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्। नेता महेन्द्रराय यादवले गरेको प्रस्तावलाई सम्मेलनले अनुमोदन गरेको हो।

पार्टीका वरिष्ठ नेता वामदेव गौतमले देशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग राखे। उनले बारम्बार सरकार परिवर्तन हुने प्रचलनलाई अन्त्य गर्दै जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित नेतृत्वको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

घोषणा समारोहमा नेता गौतमले समाजवादको अर्थ र दिशाबारे प्रश्न उठाएपछि संयोजक प्रचण्डले हास्य र विचारमिश्रित शैलीमा जवाफ दिएका थिए। प्रचण्डले भने, “समाजवादबारे उहाँले लेखेको पुस्तक पढ्दै छु। उत्पादनमा कार्यकर्तालाई लगाउनुपर्ने सुझाव राम्रो छ—सायद त्यो जिम्मा उहाँलाई नै दिनुपर्छ।”
सह–संयोजक माधवकुमार नेपालले नयाँ पार्टी देशको कम्युनिस्ट आन्दोलनको मूलधार र जनताको आशा–भरोसाको केन्द्र हुने दाबी गरे। उनले भने, “आज हामीले ऐतिहासिक काम सम्पन्न गरेका छौं। यो एकता सिङ्गो नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउनेछ।”
नेपालले जेन–जी पुस्तालाई पनि साथ दिन आग्रह गर्दै भने, “हामी भ्रष्टाचार, अन्याय र विकृतिविरुद्धको अभियानमा युवासँग हातेमालो गर्न तयार छौं।” उनले जेन–जी आन्दोलनका केही युवाहरू पार्टी प्रवेश गरेको जानकारी पनि दिए।
संयोजक प्रचण्डले देशको राजनीतिक सङ्कट समाधानका लागि वामपन्थी र देशभक्त शक्तिहरूबीच एकता भएको बताए। उनले भने, “पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ। अब यो आन्दोलनलाई ध्रुवीकृत र सुदृढ बनाउने अभियान सुरु हुन्छ।”
उनले नयाँ पार्टीलाई देशको नम्बर एक राजनीतिक शक्ति बनाउने संकल्प लिँदै भने, “हामीलाई कसैले रोक्न सक्दैन। देशभर एकता घोषणा र चुनावी अभियान सञ्चालन हुनेछ।”
प्रचण्डले आगामी दिनमा अन्य वामपन्थी शक्ति र यहाँसम्म कि एमालेसँग पनि राष्ट्रिय हितका मुद्दामा सहकार्य गर्न तयार रहेको बताए। उनले भने, “हामी १० घटक एक ठाउँमा आयौं भनेर पुग्यौं भन्ने होइन। जससँग मिल्न सकिन्छ, एकता गर्छौं; नसक्नेहरूसँग मोर्चा बनाएर अघि बढ्छौं।”
कार्यक्रममा नेता देव गुरुङले नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरे। घोषणापत्रमा लोकतान्त्रिक गणतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय स्वाभिमान प्रमुख एजेन्डा बनाइएको छ।
समापन मन्तव्यमा संयोजक प्रचण्डले आजको दिनलाई नेपाली कम्युनिस्ट इतिहासमा कहिल्यै नबिर्सिने दिनका रूपमा चित्रित गरे। उनले भने, “नेपालको इतिहासमा पहिलोपटक १० वटा घटक एउटै मंचमा आए। यो एकता अभूतपूर्व र असाधारण छ।”
नेता खनालको अप्रत्याशित सहभागिता, युवापुस्तासँग सहकार्यको घोषणा र वाम एकताको पुनः सूत्रपातसँगै नेपाली वाम राजनीतिमा नयाँ अध्यायको सुरुवात भएको सबै वक्ताहरूको निष्कर्ष थियो।

