वेस्टइन्डिजमाथि नेपालको ऐतिहासिक जित

वेस्टइन्डिजमाथि नेपालको ऐतिहासिक जित

ram naam satya

काठमाडौँ  : नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रलाई पराजित गर्दै इतिहास रचेको छ। शनिबार शारजहाँमा सम्पन्न खेलमा नेपालले दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनायो। जवाफमा वेस्टइन्डिज ९ विकेट गुमाउँदै १२९ रनमै रोकियो। यससँगै नेपालले लगातार ९ हारपछि टेस्ट राष्ट्रविरुद्ध पहिलो विजय दर्ता गरेको छ।

नेपालको बलिङ र फिल्डिङ प्रभावशाली रह्यो। कुशल भूर्तेलले प्रारम्भमै केयल मायर्सलाई रन आउट गर्दै सुरुआती सफलता दिलाए। उनले ४ ओभरमा १७ रन मात्र दिँदै २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले पनि १–१ विकेट लिए।

ब्याटिङमा कप्तान पौडेलले ३८ रन बनाए भने कुशल मल्लले ३० रन जोडे। गुलशन झाले २२ तथा दीपेन्द्रले १७ रनको योगदान दिए।

वेस्टइन्डिजतर्फ जेसन होल्डरले ४ विकेट लिए तर टोलीलाई जित दिलाउन सकेनन्। तल्लोक्रममा अकेल हुसैन र फाबिएन एलेनले आक्रामक खेल प्रदर्शन गरे पनि नेपालको बलिङ अगाडि टिक्न सकेनन्।

यो जितले नेपाललाई आगामी ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा ठूलो आत्मविश्वास दिने निश्चित भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *