

काठमाडौं : नायक/निर्देशक नवल खड्काले वर्तमान समयमा इरान, इजरायल र अमेरिकाबीच बढ्दो द्वन्द्वका कारण नेपाली नागरिकको ज्यान जोखिममा पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले कलाकारहरू संवेदनशील, विश्लेषणात्मक र समाजका गहिरा समस्या बुझ्न सक्ने हुनुपर्ने बताए। उनका अनुसार कलाकारले समयअनुकूल रणनीति अपनाउन, आत्मआलोचना गर्न र चुनौती सामना गर्न सक्ने क्षमता विकास गर्न आवश्यक छ। उनले कलाकारले राजनीति गर्न सक्ने र गर्नुपर्ने भए पनि अन्धाधुन्ध संलग्नता उचित नभएको बताए। साथै, कुनै आन्दोलनमा कलाकारको संलग्नता प्रमाणित भएमा उनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा पनि व्यक्त गरे।


यसैगरी नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष तथा वरिष्ठ कलाकार रबिन्द्र खड्काले आफू चलचित्र क्षेत्रबाट राजनीतिमा प्रवेश गर्ने र नगरप्रमुख बन्ने पहिलो व्यक्तिमध्ये एक भएको दाबी गरे। उनले विगतमा कलाकारले राजनीति गर्नु हुँदैन भन्ने धारणा रहे पनि अहिले स्वतन्त्र रूपमा चुनाव जित्ने अवस्था बनेको उल्लेख गरे। उनका अनुसार दलमा आबद्ध नभएका कलाकारहरूले अझै पनि अवसर नपाउने समस्या कायम छ। उनले आफ्नो पारिवारिक पृष्ठभूमि उल्लेख गर्दै बुबाको चाहना आफूलाई उच्च राजनीतिक स्थानमा देख्ने रहेको बताए।


वरिष्ठ कलाकार लय संग्रौलाले कलाकार पनि अन्य नागरिकसरह अधिकार र जिम्मेवारी बोकेको बताउँदै संकटका बेला जनचेतना फैलाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताए। उनले देशमा भ्रष्टाचार मौलाउँदै गएको र युवाहरू परिवर्तनका प्रमुख वाहक रहेको उल्लेख गरे।


नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले संसदमा निर्वाचित कलाकारहरूलाई शुभकामना दिँदै राजनीति व्यवसायजस्तो बन्दै गएको टिप्पणी गरे। उनले योग्यता अनुसार अवसर नपाउँदा युवाहरू विदेश पलायन हुन बाध्य भएको, देश भ्रष्टाचारमा डुबेको र गम्भीर अपराधका घटनामा प्रभावकारी छानबिन नभएको भन्दै प्रश्न उठाए। साथै, कलाकारहरूले विगतका परिवर्तनहरूमा खेलेको सशक्त भूमिका सम्झाउँदै वर्तमानमा पनि सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए। NPC


