

डडेलधुरा : लक्ष्मी दत्त भट्ट ले जय मातृभूमि पार्टी का तर्फबाट डडेलधुरा क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवारका रूपमा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले सदियौँदेखि समाजमा जरा गाडेर बसेको जातपात तथा छुवाछुत अन्त्य गरी भेदभावमुक्त समाज निर्माण गर्ने पहिलो लक्ष्य रहेको बताए। मानवतावादी विचारक जयपृथ्वी बहादुर सिंहले अघि सारेको मानवतावादको मार्गलाई आत्मसात गर्दै सबै मानिसलाई सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। अन्तरजातीय विवाह गर्ने जोडीलाई ऋण दिने घोषणाले मात्र समाज नजोगिने उल्लेख गर्दै उनले विभाजनभन्दा एकता र सामाजिक समरसतालाई प्राथमिकता दिने बताए।
भट्टले वन क्षेत्रमा बसोबास गर्ने हिमानी सभ्यतासँग सम्बन्धित समुदायको हक–हित संरक्षण, कला, धर्म, संस्कृति र इतिहासको जगेर्नाका लागि विशेष अभियान सञ्चालन गर्ने जनाए। विगत २४ वर्षदेखि नागरिकलाई बन्धक बनाएको आरोप लागेका दलहरूको राजनीतिक स्वार्थ, भ्रष्टाचार र शोषणको अन्त्य गर्दै राज्यलाई सेवा केन्द्रका रूपमा विकास गर्ने उनको दाबी छ। झोले कार्यकर्तालाई पोस्ने, राज्यकोष दोहन गर्ने र विकासका नाममा अनियमितता गर्ने प्रवृत्तिको छानबिन गरी दोषी ठहरिए कानुनी कारबाही तथा राज्यकोषमा रकम फिर्ता गराउने प्रतिबद्धता उनले व्यक्त गरे। चुनावका बेला मात्र देखिने प्रवृत्तिको अन्त्य गर्दै नागरिकको दैलो, खेतबारी र वनपाखामा पुगेर नीतिगत सुधारका लागि छलफल गर्ने उनले बताए।

डडेलधुरालाई प्राचीनकालदेखि ऐतिहासिक, धार्मिक र व्यापारिक केन्द्रका रूपमा विकास गर्न पूर्व–पश्चिम द्रुतमार्ग तथा सेती–काली करिडोर निर्माणको पहल गर्ने योजना उनले सार्वजनिक गरे। परशुराम धाम र उग्रतारा क्षेत्रमा वैदिक शिक्षा, योग, आयुर्वेद, दर्शन र संस्कृतिको अध्ययनका लागि विश्वविद्यालय स्थापना गर्ने लक्ष्य पनि उनको छ। स्थानीय पेशा, कृषि, पशुपालन र धार्मिक पर्यटनको आधुनिकीकरण गर्दै राज्यकोषबाट लगानीको ग्यारेन्टी गर्ने तथा आत्मनिर्भर समृद्ध डडेलधुरा निर्माण गर्ने उनको अठोट छ। साना तर व्यवहारिक कामबाट परिवर्तन सुरु गर्ने भन्दै प्रत्येक वडामा स्थानीय युवालाई तालिम दिएर सैलुन स्थापना गर्ने योजना अघि सारेका भट्टले समग्र विकासका लागि आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन्। NPC


