

कृष्ण पाण्डे
लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–१, जीता तथा आसपासका रमणीय र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूमा छायांकन गरिएको पञ्चेबाजा गीत “लमजुङे बाजा ” यतिबेला दर्शकमाझ चर्चा बटुलिरहेको छ। नेपाली मौलिक लोकसंस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस गीतले परम्परा र आधुनिक प्रस्तुतिको सन्तुलित संयोजन प्रस्तुत गरेको छ। गाउँघरको मौलिक परिवेश, पहिरन, रहनसहन र संस्कृतिलाई भिडियोमा सशक्त ढंगले उतारिएको छ।

गीतमा गायक रमेश परियार र शान्ति सुनारको सुमधुर तथा भावनात्मक स्वर सुन्न सकिन्छ। उनीहरूको आवाजले पञ्चेबाजाको परम्परागत मिठासलाई अझ प्रभावकारी बनाएको छ। विवाह तथा शुभकार्यमा बजाइने पञ्चेबाजाको धुनसँग मेल खाने कथा र दृश्य संयोजनले दर्शकलाई आफ्नै गाउँघरको स्मृतिमा पुर्याउने प्रयास गरेको देखिन्छ।
भिडियोमा मोडल सुनील न्यौपाने र रीना गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन्। उनीहरूको अभिनयले प्रेम, परम्परा र संस्कृतिको भावलाई जीवन्त बनाएको छ। विशेषगरी सुनील न्यौपानेका लागि यो प्रोजेक्ट अझ भावनात्मक बनेको छ, किनकि छायांकन गरिएको स्थान उनको आफ्नै जन्मथलो हो। उनले आफ्नो गाउँलाई पर्यटकीय हिसाबले पनि माथि उठाउने चाहना व्यक्त गर्दै सम्पूर्ण सुटिङ टिमलाई यहीँ आएर छायांकन गर्न आग्रह गरेको बताएका छन्। “म यस ठाउँको छोरा हुँ। यहाँको भौगोलिक बनावट, प्राकृतिक सौन्दर्य र सांस्कृतिक परिवेश देश–विदेशमा चिनियोस् भन्ने मेरो चाहना हो,” उनले बताएका छन्। भिडियो लाई इडिटिङ बिभोर पोख्ररेल ले गरेका छन भने कलर करेक्सन दिन्सन शाह मेकअपमा सीमा र सोनी ले गरेका छ्न ।

यस गीतको अर्को विशेष पक्ष भनेको बेहुलाको भूमिकामा सोही गाउँका वडा अध्यक्ष स्वयंले अभिनय गर्नु हो। स्थानीय जनप्रतिनिधि आफैंले सांस्कृतिक अभियानमा सहभागी भई अभिनय गर्नुले समुदायको एकता र सांस्कृतिक चेतनालाई झल्काएको निर्देशक दिलीप समन ले बताएका छन्। उनका अनुसार वडा अध्यक्षज्यूले केवल औपचारिक साथ मात्र नभई सक्रिय रूपमा अभिनय गरेर सम्पूर्ण टिमलाई हौसला प्रदान गरेका छन्। “उहाँको साथ र समर्थनले हामीलाई ठूलो ऊर्जा मिल्यो। गाउँको नेतृत्व तह नै संस्कृतिप्रति यति सकारात्मक हुनु गौरवको कुरा हो,” निर्देशक समनले प्रतिक्रिया दिएका छन्।
छायांकन बिशाल थापा ले गरेका हुन्। उनले प्राकृतिक , हरियाली डाँडाकाँडा, खेतबारी, खोलानाला र परम्परागत घरहरूलाई कलात्मक ढंगले क्यामेरामा कैद गरेका छन्। कोरियोग्राफी अर्जुन बिसीले परम्परागत नृत्यशैलीलाई आधुनिक प्रस्तुतिसँग समायोजन गर्दै जीवन्त बनाएका छन्। व्यवस्थापन विक्रम तामाङले सम्पूर्ण व्यवस्थापनलाई सुव्यवस्थित रूपमा सम्हालेका छन्।
निर्देशक दिलीप समनका अनुसार, “लमजुङे बाजा” केवल एउटा गीत मात्र नभई लमजुङको सांस्कृतिक चिनारी र पर्यटन प्रवर्द्धनको माध्यम पनि हो। उनले आफ्नै माटो सुहाउने कथा र परिवेशमा काम गर्न पाउँदा अत्यन्त खुशी लागेको बताएका छन्। गीतमार्फत स्थानीय कला, संस्कृति, भेषभूषा र प्राकृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको उनले स्पष्ट पारे।
समग्रमा, “लाजुङ्गुन” ले मनोरञ्जनसँगै सन्देश पनि बोकेको छ—आफ्नो गाउँ, आफ्नो माटो र आफ्नै संस्कृतिप्रतिको माया र सम्मान। स्थानीय कलाकार, जनप्रतिनिधि र निर्माण टिमको सहकार्यले तयार भएको यो प्रस्तुति लमजुङ जिल्लाको सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


