

षट्कोण आर्ट्सले निर्माण गरेको नेपाली फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ। गत शुक्रबार आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ र डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन्। प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ।

गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ। साथै, संगीत खेम सेन्चुरीकै छ भने शब्द रमेश बिजीले लेखेका हुन्। गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो।

यो फिल्म २०८३ सालको वैशाख १८ गतेबाट प्रदर्शनमा आउने तय गरिएको छ। बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। स्वस्तिमाको नियमितभन्दा फरक भूमिकाले ‘लालीबजार’प्रति दर्शकको उत्सुकता अझ बढाएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्। क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ र प्रोडक्सन हेड रुपकप्रताप अधिकारी रहेका छन्।

