नयाँ दल , आयातित दर्शन र अलमलिएको जनता

नयाँ दल , आयातित दर्शन र अलमलिएको जनता

ram naam satya

लाजेहाङ

नेपाल यतिबेला गम्भीर दार्शनिक सङ्क्रमणमा छ। भाषण आधुनिक छन्, शब्दावली आकर्षक छन्, प्रस्तुति चम्किलो छ। तर प्रश्न उठ्छ—के यी विचारहरूको जरा यस माटोमा गाडिएको छ ? कि ती आयातित अवधारणाका सुन्दर प्याकेज मात्र हुन् ?
आज उदार पूँजीवादलाई विश्व–दृष्टिकोण मानेर हिँड्नेहरू विकास, लगानी, सुशासन, दक्षता, विश्व–सम्पर्कका कुरा गर्छन्। तर त्यही भाषणभित्रै मठ–मन्दिरको संरक्षण, जल–जमिन–जङ्गलको रक्षा, सभ्यताको गौरव र मौलिकता जोगाउने वाचा पनि सुनिन्छ। दार्शनिक दृष्टिले हेर्दा, यहीँ गम्भीर विरोधाभास छ ।

उदार पूँजीवादको मूल तर्क र यसको सीमा

आधुनिक उदार पूँजीवादको बौद्धिक आधारमा Adam Smith जस्ता चिन्तक उभिएका छन् । बजार स्वतन्त्र भए समृद्धि बढ्छ, प्रतिस्पर्धाले गुणस्तर ल्याउँछ, निजी स्वामित्वले दक्षता बढाउँछ—यो यसको मूल तर्क हो । राज्य सानो होस्, नियमन सीमित होस्, निजी क्षेत्र सक्रिय होस्—यही मन्त्र हो ।
तर उदार पूँजीवादको केन्द्र ‘नाफा’ हो। नाफा आर्थिक तर्क हो । सांस्कृतिक तर्क होइन । बजारले मूल्य देख्छ । अर्थ देख्दैन । पहाडलाई ऊ खानी वा रिसोर्टका रूपमा देख्छ । तीर्थका रूपमा होइन । जस्तो मुकुम्लुङलाई ऊ नाफा देख्छ । आस्था देख्दैन । खोलालाई मेगावाटमा नाप्छ; स्मृतिमा होइन। मानव आत्मामा होइन । वनलाई कार्बन–क्रेडिटमा गन्छ । समुदायको आत्मामा होइन । अझ जीवहरुको जीवआत्मामा होइन ।
यसैले, उदार पूँजीवादी ढाँचाभित्र प्रकृति–संरक्षणको कुरा गर्नु सम्भव त छ, तर त्यो मूल दर्शन होइन—सुधारात्मक उपाय मात्र हो । संरक्षण प्राथमिकता होइन र पर्दैन । यो सर्त–सापेक्ष नीति हो । सार नबुझी गरिने तर्कले नेपाली समाज झन दल-दलमा फसिरहेको छ । नव युवाहरुले बिचार बिहिन मृत शहरमा लोकरिझ्याईले निम्त्याउने दन्दको वरिपरि मानवताको माँखे साँङ्लोमा जोड दिनु उपयुुक्त हुनेछ । विश्वभरी नै लोकरिझ्याईले ल्याएको खतराले निकास भन्दा पनि बिनाश गरिरहेको देखिन्छ । हराईरहेको मानवता भेट्नु विश्व मानव जगतको मुख्य चुनौती रहेको छ ।

नयाँ नेता र दर्शनको आयात

नेपालका केही नयाँ अनुहार बालेन , रबि , स्वर्णिम र कुलमान घिसिङ परिवर्तनको भाष्यसहित उदाएका छन् । पुराना दलप्रतिको वितृष्णा, भ्रष्टाचारप्रतिको आक्रोश र व्यवस्थाप्रतिको निराशाबाट जन्मिएको समर्थन उनीहरूलाई प्राप्त भएको छ । पुराना दल भित्र पनि बुढा नेताहरूले सकेनन् हामी अलि कम उमेरकाहरुले सक्नेछौ भनेर गगन , विश्व , प्रदिप र गुरुराज घिमिरेहरु उदाएका छन । खास कुरा नयाँ पुरानो भन्दा पनि बिचारको हो । विशेष माहाधीबेशनबाट आउनु र भ्रष्टाचारप्रतिको आक्रोश र व्यवस्थाप्रतिको निराशाबाट जन्मिनुमा तात्विक भिन्नता हुन्न । हुने कुरा बिचार र योजनाको हो । प्रश्न नीयतको होइन—दर्शनको हो । यदि उनीहरूले बोक्ने आधारभूत आर्थिक दृष्टि उदार पूँजीवादी नै हो भने, त्यसले नेपालजस्तो बहु–सभ्यतागत, बहु–जातीय, बहु- भाषिक , बहु-धार्मिक , बहु-साँस्कृतिक अनि विश्व मानचित्रको संवेदनशील भु-भागबाट दीर्घकालीन समन्वय सम्भव बनाउँछ कि बनाउँदैन ?

विश्व अहिले आफ्ना–आफ्ना सभ्यताको जगबाट विश्वसँग सह–अस्तित्वको बाटो खोज्दै छ । चीन आफ्नो कन्फ्युसियसी धरोहरबाट आधुनिकता निर्माण गरिरहेको छ । भारत सभ्यतागत राष्ट्रको विमर्श गरिरहेको छ। पश्चिम आफैं ‘सस्टेनेबिलिटी’ र लोकलिज्मको पुनरावलोकनमा छ । यस्तो समयमा नेपालका नयाँ भनिएका नेतृत्व यदि केवल कपी–पेस्ट गरिएको आर्थिक भाषण दोहोर्याइरहेका छन् भने, त्यो स्वदेशीय होइन—अनुकरण हो । अब संभावना छ ?

लोकरिझ्याइँ र अलमलिएको समाज

आज नेपाली समाजमा सचेत बहसभन्दा पनि लोक–रिझ्याइँको राजनीति हावी छ । प्रस्तुति, भाषणकला, सामाजिक सञ्जालको छवि—यी निर्णायक बन्दै गएका छन् । दर्शन पढ्ने, ऐतिहासिक सन्दर्भ बुझ्ने, नीतिगत गहिराइ खोज्ने प्रवृत्ति कमजोर देखिन्छ । यसको जिम्मेवारी केवल नयाँ नेतृत्वको मात्र होइन । अघिल्लो राजनीतिक पुस्ता र पुराना दलहरूले वर्षौंदेखि वैचारिक शिक्षा, राजनीतिक संस्कार र संस्थागत मजबुतीकरणमा लगानी गरेनन् । परिणामतः जनता आजित भए । आजित समाजले विकल्प खोज्यो । विकल्प खोज्ने क्रममा उसले चम्किलो अनुहारलाई दर्शन ठानेर पछ्यायो । पछ्याउँदै गैईरहेको छ । यसरी लोकरिझ्याईले मात्र राजनीति संभावना भएको भए संसारमा कहालीलाग्दो घटनाहरूको इतिहास बन्ने थिएन । तर समाज जब आक्रोशबाट निर्णय गर्छ, तब दीर्घकालीन परिणामको मूल्यांकन कम हुन्छ । पुराना असफल भए, नयाँ सफल हुन्छन् भन्ने सरल समीकरणले जटिल यथार्थ हल हुँदैन । देशले झन जटिल मार्ग हिंड्न् खोजिरहेको छ । यसको राजनीतिक निकास लोकरिझ्याई हुँदै होइन ।

सभ्यताको जग र आर्थिक मोडेलको द्वन्द्व

नेपाल केवल राज्य मात्र होइन सभ्यता हो । हिमालदेखि तराईसम्म फैलिएको धार्मिक–सांस्कृतिक धरोहर, समुदाय–आधारित जीवनशैली, स्वदेशीय मौलिक भाषिक विविधता—यी सबै मिलेर नेपालको आत्मा बनेको छ ।

यदि आर्थिक मोडेल जसले प्रत्येक चीजलाई स्रोतमा रूपान्तरण गर्छ भने, सभ्यता क्रमशः बजारको सामग्री बन्छ । मठ–मन्दिर पर्यटन–प्याकेज बन्छन् । पर्व–संस्कृति ब्रान्डिङ बन्छ । जल–जमिन–जङ्गल लगानीको अवसर मात्र बन्छ ।

यो केवल सैद्धान्तिक डर होइन । विश्वका धेरै देशले यही अनुभव गरिसकेका छन् । जब स्थानीय समुदायको निर्णय–अधिकार कमजोर हुन्छ र बजार–निर्देशित परियोजना हावी हुन्छन्, तब संरक्षण भाषणमा सीमित रहन्छ । अनि दन्दमा मुलुक फसेको धेरै उदाहरण छन् ।

तीर्थ बालेन र ब्रान्ड राजनीति

बराहक्षेत्रलाई विश्वको पहिलो तीर्थस्थलका रूपमा प्रचार गर्ने बालेनको तर्क सस्तो लोकप्रियताको लागि मात्र हो भनेर भन्न सकिन्छ । बिना गहिरो दार्शनिकि आस्था र ऐतिहासिक अध्ययनलाई तिलान्जली दिएर, पुरानोको बदलावमा बिसय उचाल्नु मात्र नयाँ हुनु होइन । यसो भनी रहदा यी विषयलाई विश्वमञ्चमा लैजानु आफैंमा गलत होइन । तर यसको उद्देश्य के हो ? आध्यात्मिक पुनर्जागरण ? कि पर्यटन–उद्योग विस्तार ?
यदि तीर्थलाई ब्रान्ड बनाइयो भने, त्यसपछि लगानी, होटल, सडक, व्यापार आउँछन् । तीर्थ आस्था मात्र रहँदैन । आर्थिक इकाइ बन्छ । यहाँ दार्शनिक प्रश्न उठ्छ—के तीर्थको पवित्रता र बजारको तर्क सँगसँगै बाँच्न सक्छन् ?

उदार पूँजीवादी सोचले यसलाई अवसर भन्छ । स्वदेशवादी सोचले सावधानी भन्छ । यहीँबाट विभाजन स्पष्ट हुन्छ ।

आयातित दर्शन र स्वदेशीय संकट

नेपालको नयाँ राजनीति यदि आयातित शब्दावली र अन्तर्राष्ट्रिय रिपोर्टको भाषामा मात्र सीमित छ भने, त्यो गहिराइ होइन—अनुकरण हो । स्वदेशीय भनेको विश्वसँग टकराव होइन । आफ्नो जगबाट विश्वसँग संवाद हो । दर्शन आयात गर्न सकिन्छ, तर त्यसलाई जस्ताको तस्तै लागू गर्दा स्थानीय सन्दर्भ भत्किन सक्छ । नेपालजस्तो संवेदनशील भूगोलमा अन्धाधुन्ध बजार–केन्द्रित विकासले वातावरणीय संकट निम्त्याउन सक्छ । सांस्कृतिक रूपमा देश कमजोर बनाएर समाजमा अत्यधिक व्यापारीकरणले पहिचानको संकट झन गहिरो बनाउन सक्छ ।

नयाँ पुस्ता, र स्वदेशीय दृष्टि

देशलाई दलदलबाट निकाल्ने पुस्ता खोज्ने समय आएको छ—तर त्यो पुस्ता केवल उमेरले नयाँ होइन । दृष्टिकोणले नयाँ हुनुपर्छ । जसले विकासलाई केवल जीडीपीमा मात्र नाप्दैन । जसले संरक्षणलाई नीति–कागज मात्र होइन, अस्तित्वको प्रश्न मान्छ । जसले बजारलाई साधन ठान्छ, लक्ष्य होइन । जसले सभ्यतालाई ब्रान्ड होइन, आधार मान्छ । र नेपाललाई न त अन्ध–समाजवादले जोगाउँछ, न त अन्ध–पूँजीवादले यसरी स्विकार्दछ । बरु सामुदायिक समाजबादलाई आफ्नो लक्ष्य ठान्छ । यहीँबाट देशको निकास खोज्नु पर्दछ । नेपाललाई जोगाउने शक्ति त्यहीँ छ जहाँ समुदाय सशक्त र शक्तिशाली हुन्छ, राज्य उत्तरदायी हुन्छ र बजार सीमित–नियन्त्रित साधन बन्छ ।

निष्कर्ष
आज नेपाली समाज आजित छ—पुरानाबाट निराश, नयाँबाट आशावादी, तर दार्शनिक रूपमा अलमलिएको छ । यो अलमल हटाउन भाषण होइन, बहस चाहिन्छ । नाराको सट्टा विचार चाहिन्छ । अनुकरणको सट्टा स्वदेशीय प्रज्ञा चाहिन्छ ।

यदि हामीले आयातित दर्शनलाई नै मुक्तिको मन्त्र ठानेर आफ्नै सभ्यताको जग भत्कायौँ भने, विकासको नाममा अस्तित्व गुम्ने खतरा छ । नेपाललाई यस्तो पुस्ता चाहिएको छ जसले विश्वसँग प्रतिस्पर्धा होइन, सह–अस्तित्व खोजोस्—आफ्नो पहिचानबाट, आफ्नो माटोबाट, आफ्नो सभ्यताको आधारबाट नत्र, हामी चम्किलो भाषण सुन्दै बस्नेछौँ, र हाम्रो पहाड, हाम्रो वन, हाम्रो जंगल र हाम्रो तीर्थ क्रमशः पोस्टर र प्रचार–पत्रमा सीमित हुँदै जानेछ । यही चेतावनी आजको बहसको केन्द्र हुनुपर्छ । नकि नयाँहरुको गफ ।

लेखक- स्वदेशवादी अभियानको अभियन्ता हुन् ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *