

मौलिक जरोकिलो पार्टीले मूलधारको मध्यमार्गी राजनीतिक शक्तिको निर्माणका लागि जेनजी पुस्तासम्मको बृहत्तर एकताको खुला आह्वान गरेको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा २०८२ साल भदौ २३ र २४ गते जेनजीको आह्वानमा भएको आन्दोलनमा ज्यान गुमाएका ७२ जना सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, सम्पूर्ण घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। विज्ञप्तिमा नेपालको राजनीतिक व्यवस्था र अवस्थामा रुपान्तरण ल्याई देशको पुनर्जागरणका लागि नयाँ, जिम्मेवार र मध्यमार्गी राजनीतिक शक्ति निर्माण गर्न इच्छुक नवयुवा, आन्दोलनका अभियान्ता, विभिन्न दलका कार्यकर्ता, पेशा–व्यवसायमा आवद्ध देशभक्त नागरिक तथा संघ–संस्थाहरूसँग सहकार्य, छलफल र एकताको पहल गर्न आह्वान गरिएको छ।
पार्टीले यस अभियानलाई संस्थागत रूप दिन सर्वोच्च परिषद्को निर्णय अनुसार अधिकार सम्पन्न वार्ता समिति गठन गरेको जनाएको छ। उक्त समितिमा केन्द्रीय प्रवक्ता डा. अरुण पौडेल संयोजकका रूपमा रहने छन् भने जेनजी आन्दोलनकारी धिरेन्द्र चन्द सोडारी र सम्झना बन्जारा घिमिरे सदस्यका रूपमा रहने छन्। पार्टीले सबै सरोकारवालाहरूसँग खुला छलफल, वार्ता र बहसमार्फत राष्ट्रिय स्तरको बृहत्तर एकीकरण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रेस विज्ञप्ति :-
मूलधारको मध्यमार्गी राजनितिक शक्तिको निर्माणका लागि जेन्जी पुस्तासम्मको बृहत्तर एकताका लागि मौलिक जरोकिलो पार्टीको खुल्ला आह्वान :
जेनजीको आह्वानमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यानगुमाएका ७२ जना सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली एवं सम्पूर्ण घाइते योद्वाहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दै उक्त आन्दोलनको मर्म अनुसार नेपालको राजनितिक व्यावस्था र अवस्था दुबैमा रुपान्तरण ल्याई नेपालको पुनर्जागरणका लागि मूलधारको मध्यमार्गी राजनितिक शक्ति को निर्माण गर्न – इच्छुक जेनजी नवयुवा , आन्दोलनका अभियान्ता, समूह, राजनितिक दल, विभिन्न पेशा व्यवसायमा आवद्व देशप्रेमी व्यक्तिहरु एवं संघ संस्था संग सहकार्य , कार्यगत एकता, धुर्वीकरण , वृहतर एकताका लागि हरेक विषयमा खुल्ला छलफल , वार्ता, बहस्, गरी बृहत्तर एकीकरण गर्न मौलिक जरोकिलो पार्टी सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछ। यस कार्य सम्पादन गर्न पार्ट्रीको सर्वोच परिषदको निर्णय अनुसार केन्द्रीय प्रवक्ता अरुण पौडेल (पि.एच.डी स्कलर) संयोजक , धिरेन्द्र चन्द सोडारी ( जेनजी आन्दोलनकारी ) सदस्य, सम्झना बन्जारा घिमिरे सदस्य रहने गरी अधिकार सम्पन्न एक वार्ता समिति गठन गरिएको छ।


