प्राकृतिक विपत्ति वा राज्यको असफल व्यवस्थापन

प्राकृतिक विपत्ति वा राज्यको असफल व्यवस्थापन

ram naam satya

अविरल वर्षासँगै आएको पहिरोले फेरि एकपटक नेपालको पूर्वी भूभागलाई शोकमा डुबाएको छ। इलाममा गएको शनिबार रातिको भीषण पहिरोले एकै परिवारका ६ जनासहित २१ जनाको ज्यान लिएको छ। यो केवल एक जिल्ला वा एउटा घटना मात्र होइन, यो प्राकृतिक विपत्तिको रूपमै होइन, राज्यको असफल व्यवस्थापन र पूर्वतयारीको नाङ्गो चित्र पनि हो।

 

वर्षा र पहिरो नेपालका लागि नयाँ विषय होइन। हरेक वर्ष असारदेखि असोजसम्म देशका विभिन्न भागमा पहिरो, बाढी र डुबानले जनधनको क्षति गर्छन्। तर हरेक वर्षजस्तै यस वर्ष पनि राज्यको प्रतिक्रिया ढिलो, असंगठित र असक्षम देखिएको छ। इलाममा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवक खटिए पनि घटनास्थलसम्म पुग्नै कठिनाइ भएको तथ्य आफैंले बताउँछ—हाम्रो विपद् व्यवस्थापन प्रणाली अझै पनि सडक, हवाई र संचार पूर्वाधारमा निर्भर छ, जुन विपद्को समयमा नै ठप्प पर्छ।

 

इलामका माईजोगमाई, सूर्योदय र माङ्सेबुङजस्ता पहाडी पालिकामा पहिरोको जोखिम हरेक वर्ष उच्च रहँदै आएको हो। तर, त्यही क्षेत्रमा अझै पहिरो पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती स्थानान्तरण योजना, वा जोखिम नक्साङ्कनका कामहरू प्रभावकारी रूपमा भएका छैनन्। परिणामस्वरूप, प्रत्येक वर्ष जनजीवन जोखिममा पर्दैछ, जनधनको क्षति पुनः दोहोरिँदैछ।

 

त्यसैगरी, सप्तकोशी नदीको पानीको बहाव ऐतिहासिक रूपमा उच्च स्तरमा पुगेको छ। कोशी ब्यारेजका ५६ ढोका खोल्नुपरेको अवस्था सन् १९६८ र १९८७ को भीषण बाढीको याद ताजा गराउँछ। नदीमा थुप्रिँदै गएको बालुवाले अब थोरै वर्षामा पनि ठूलो खतरा निम्त्याउने स्थिति बनाएको छ। नदी व्यवस्थापन, तटबन्ध सुदृढीकरण र माथिल्लो भागमा बालुवा नियन्त्रण गर्ने कार्यमा राज्यको बेवास्ताले कोशी अब ‘सुतिरहेको खतरा’ बनेको छ।

 

पूर्वका सडकहरू पनि ठप्प छन्। साँगामा पहिरो, धुलिखेल–पातलेखेत सडक भासिएको अवस्था, र बिपी राजमार्गको अवरोधले स्पष्ट गर्छ—नेपालका सडक संरचना अझै पनि वर्षा–सहनशील बनेका छैनन्। यस्तो अवस्थामा उद्धार र राहत पु¥याउने प्रयास पनि ढिलो हुन्छ, जसको प्रत्यक्ष असर बाँचेकामाथि पर्छ।

 

अब आवश्यक छ—प्रतिक्रिया होइन, पूर्वतयारीमा जोड। विपद् आएपछि हेलिकप्टर पठाउने भन्दा पहिले, विपद् आउन नदिने उपायमा लगानी गर्नुपर्छ। पहिरो सम्भावित क्षेत्रको समयमै पहिचान, जोखिमग्रस्त बस्तीको स्थानान्तरण, र द्रुत चेतावनी प्रणालीको स्थापना आजको अपरिहार्यता हो।

 

इलामको यो पीडा केवल प्राकृतिक विपत्तिको कथा होइन, यो हाम्रो प्रशासनिक संवेदनहीनता र योजनाहीनताको परिणाम हो। मृतकहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै, अब राज्यले चेतना र जिम्मेवारी दुबै देखाउनुपर्छ—किनकि हरेक वर्षको बाढी र पहिरोले केवल घरमात्रै भत्काउँदैन, राज्यप्रतिको जनविश्वास पनि क्रमशः बगाउँदै लैजान्छ।

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *