

हेमन्त मल्ल
विश्व राजनीतिमा केही क्षेत्रहरू यस्ता छन्, जसको स्थिरता वा अस्थिरताले सम्पूर्ण विश्वलाई प्रभावित गर्छ। मध्यपूर्व त्यस्तो संवेदनशील भूराजनीतिक क्षेत्र हो, जहाँको सानो तनावले मात्र विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रीय व्यापार, वित्तीय प्रणाली र राजनीतिक सन्तुलनमा गहिरो असर पार्न सक्छ। पछिल्ला वर्षहरूमा रुस-युक्रेन युद्व तथा अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावले विश्व राजनीतिलाई अस्थिर दिशातर्फ धकेलिरहेको थियो।

अहिले आएर तीन राष्ट्रबीचको सैन्य टकरावले ऊर्जा सुरक्षा, समुद्री व्यापार मार्ग, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रीय शक्ति सन्तुलनलाई समेत गहिरो रूपमा प्रभावित गर्ने सम्भावना बोकेको छ।

मध्यपूर्वको रणनीतिक महत्त्व बुझ्न सबैभन्दा पहिले त्यहाँको समुद्री मार्गहरूको महत्त्व बुझ्न आवश्यक छ। पर्सियन गल्फलाई अरब सागर हुँदै विश्व बजारसँग जोड्ने स्टेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको जीवनरेखा हो। विश्वका धेरै तेल उत्पादक राष्ट्रहरूले उत्पादन गरेको इन्धन यही मार्ग हुँदै अन्तर्राष्ट्रीय बजारमा पुग्छ। दैनिक लाखौं ब्यारेल कच्चा तेल र ठूलो परिमाणमा प्राकृतिक ग्यास यही मार्गबाट विश्वका विभिन्न देशहरूमा पठाइन्छ।

त्यसैले यसलाई ऊर्जा आपूर्तिको घाँटी वा रणनीतिक चेक पोइन्टका रूपमा चिनिन्छ। अहिलेको युद्धका कारण यो मार्ग अवरुद्ध हुनाले त्यसको प्रभाव केवल मध्यपूर्वमा सीमित नभएर यसको असर विश्वव्यापी आर्थिक संकटका रूपमा देखिन थालेको छ।
अमेरिका र इरानबीचको तनाव
अमेरिका र इरानबीच तनावको ऐतिहासिक पृष्ठभूमि सन् १९७९ को इरानी क्रान्तिमा गएर ठोक्किन्छ। यस क्रान्तिले पश्चिम समर्थित शाह मोहम्मद रेजा पहलवीको शासन अन्त्य गरी इरानमा इस्लामिक गणतन्त्र स्थापना गरेको थियो। क्रान्तिपछि इरानले पश्चिमी प्रभावबाट स्वतन्त्र विदेश नीति अपनायो र इरानमा अमेरिकाविरोधी राजनीतिक धारणा बलियो बन्यो। त्यसपछि दुई देशबीच कूटनीतिक सम्बन्ध लगभग समाप्त भयो। समय-समयमा आर्थिक प्रतिबन्ध, सैन्य धम्की तथा कूटनीतिक टकरावले सम्बन्ध झन् जटिल बनाउँदै लग्यो।
तनावको अर्को महत्त्वपूर्ण पक्ष इरानको परमाणु कार्यक्रम हो। सन् २०१५ मा भएको ‘जोइन्ट कम्प्रिहेन्सिभ प्लान’ या ‘एक्सन’ नामक अन्तर्राष्ट्रीय सम्झौता भएको थियो, जसअनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने र बदलामा आर्थिक प्रतिबन्ध हटाइने सहमति भएको थियो। तर, सन् २०१८ मा डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन सम्झौताबाट बाहिरिएपछि तनाव फेरि बढ्न थाल्यो।
इजरायल र इरानबीच प्रतिस्पर्धा
इजरायल र इरानबीच लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध छ। इजरायलले इरानलाई आफ्नो राष्ट्रीय सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा ठान्छ भने इरानले इजरायललाई मध्यपूर्वमा पश्चिमी शक्तिहरूले स्थापना गरेको राज्यका रूपमा आलोचना गर्दै आएको छ। यस प्रतिस्पर्धाको मुख्य कारक हो- इरान परमाणु हतियार निर्माणको दिशामा अगाडि बढिरहेको इजरायल र अमेरिकाको आशंका। यदि इरान परमाणु शक्ति बन्यो भने मध्यपूर्वको शक्ति सन्तुलन पूर्ण रूपमा परिवर्तन हुने सम्भावना छ। दोस्रोमा ‘एक्सिस अफ रेसिस्टेन्स’ (प्रतिरोधको धुरी)का नाममा इरानले यस क्षेत्रका केही सशस्त्र समूहहरूलाई समर्थन गरेको आरोप लाग्दै आएको छ। आरोपित प्रमुख समूहहरूमा हिजबुल्लाह, हमास, हुथी पर्छन्। तेस्रोमा मध्यपूर्व ऊर्जा स्रोत, धार्मिक राजनीति र समुद्री मार्गका कारण महत्त्वपूर्ण छ। साउदी अरेबिया, टर्की, इजरायल र इरानबीच क्षेत्रीय प्रभुत्व विस्तार गर्ने तीव्र प्रतिस्पर्धा पनि छ।
‘स्ट्रेट अफ हर्मुज’को रणनीतिक महत्त्व
विश्व ऊर्जा आपूर्तिको हिसाबले ‘स्ट्रेट अफ हर्मुज’ अत्यन्त महत्त्वपूर्ण छ। पर्सियन गल्फलाई अरब सागर र त्यसपछि अन्तर्राष्ट्रीय बजारसँग जोड्ने यो मार्गबाट विश्वको करिब २० प्रतिशत तेल र एक तिहाइ ‘लिक्विफाइड नेचुरल ग्यास (एलएनजी)’ ढुवानी हुन्छ।
यदि यो मार्ग बन्द भयो भने एकतर्फ ऊर्जा संकट र अर्कोतर्फ विश्व तेल मूल्य तीव्र रूपमा बढ्नेछ। ऊर्जा सीमित तथा महँगो भएपछि उद्योग, यातायात र दैनिक उपभोगका वस्तुहरूको मूल्य वृद्धि हुने नै भयो। ढुवानी महँगो भएपछि अन्तर्राष्ट्रीय व्यापारमा असर पर्न जान्छ। कृषि उत्पादनमा प्रयोग हुने मल र इन्धनको आपूर्ति सीमित तथा महँगो हुँदा खाद्य वस्तुको मूल्य पनि बढ्नेछ। यसले विश्वभर महँगी र आर्थिक अस्थिरता निम्त्याउन सक्छ।
विश्व अर्थतन्त्रमा सम्भावित प्रभाव
ऊर्जा आयातमा निर्भर ठूला अर्थतन्त्रहरू जस्तै चीन र भारतमा यसको प्रभाव झन् ठूलो हुन सक्छ। यदि आपूर्ति अवरुद्ध भयो भने औद्योगिक उत्पादन, यातायात र आर्थिक वृद्धिमा प्रत्यक्ष असर पर्न सक्छ। नेपालले अधिकांश पेट्रोलियम पदार्थ भारतमार्फत आयात गर्ने भएकाले तेल मूल्य बढेपछि इन्धन महँगो हुनेछ। यसले ढुवानी, उद्योग र महँगी दरमा प्रत्यक्ष असर पार्नेछ।
युद्धको सम्भावित अवधि र विस्तार
युद्धको अवधि धेरै कारकमा निर्भर गर्छ। यदि सैन्य कारवाही सीमित रह्यो भने संघर्ष केही साता वा महिनामा मात्र रोकिन सक्छ। यदि युद्ध क्षेत्रीय रूपमा फैलियो भने दीर्घकालीन द्वन्द्वमा परिणत हुन सक्छ। यदि संघर्ष लेबनान, सिरिया, यमन र इराकसम्म फैलियो भने यो केही वर्षसम्म जारी रहन सक्छ।
यस्तो अवस्थामा कूटनीतिक समाधानको भूमिका महत्त्वपूर्ण हुन्छ। मध्यपूर्वमा तनाव कम गर्न ओमान र कतारजस्ता राष्ट्रहरूले मध्यस्थ भूमिका खेल्न सक्छन्। यस्तै, चीन, रुस, युरोपियन युनियन र टर्कीजस्ता शक्तिहरूले दीर्घकालीन कूटनीतिक समाधान खोज्न भूमिका वहन गर्न सक्छन्।
अन्त्यमा, अमेरिका, इजरायल र इरानबीचको तनाव केवल क्षेत्रीय द्वन्द्व मात्र होइन, यो ऊर्जा राजनीति, सामरिक प्रभुत्व, अमेरिकी मुद्राको अन्तर्राष्ट्रीय कारोबार र विश्व शक्ति सन्तुलनसँग जोडिएको जटिल भूराजनीतिक संकट हो।
यदि हर्मुज लामो समयका लागि अवरुद्ध भयो भने ऊर्जा बजारदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्य तथा आपूर्तिमा ठूलो प्रभाव पर्न सक्छ। विश्व अर्थतन्त्र मन्दीको चपेटामा पर्न सक्छ, जसले अन्तर्राष्ट्रीय बजार, उद्योग र खाद्य सुरक्षा सबैलाई असर गर्नेछ। आज परस्पर निर्भर रहेको विश्वमा एउटा क्षेत्रीय युद्धले पनि सम्पूर्ण विश्वलाई अस्थिर बनाउन सक्छ। त्यसैले दीर्घकालीन समाधान केवल सैन्य शक्ति वा दबाबबाट मात्रै होइन, कूटनीतिक संवाद, क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रीय मध्यस्थताबाट मात्र स्थायी समाधान सम्भव छ।
लेखक नेपाल प्रहरीका पूर्व डिअाईजी हुनुहुन्छ

