राष्ट्रिय पार्टी बन्यो श्रम संस्कृति पार्टी

राष्ट्रिय पार्टी बन्यो श्रम संस्कृति पार्टी

ram naam satya

धरान : प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

स्थापना भएको चार महिनामै सो पार्टीले प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक मत प्राप्त गरी राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भएको हो । सुनसरी–१ बाट पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) ३५ हजार ७४१ मतसहित विजयी हुनुभएको छ। यस्तै भोजपुरबाट ध्रुवराज राई १६ हजार ६६३ मत र खोटाङबाट आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भएपछि पार्टीले कोशी प्रदेशमा मात्र प्रत्यक्षतर्फ तीन सिट प्राप्त गरेको छ ।

समानुपातिकतर्फको पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीले ३ लाख ४७ हजार ७८५ मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।

‘जेन–जी’ आन्दोलनपछि संसद् विघटन भई नयाँ जनादेशका लागि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो । तत्कालीन नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले गत कात्तिकमा मात्र यो पार्टी दर्ता गर्नुभएको थियो । छोटो अवधिमा पार्टी दर्ता भएकाले देशभर सङ्गठन विस्तारको समय नपाए पनि प्राप्त नतिजा उत्साहजनक रहेको पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकमा थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टी बन्न सफल हुनु हाम्रा लागि ठुलो उपलब्धि हो ।”

सुनसरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार ‘अञ्जुलीमा माटो’ चुनाव चिह्न रहेको श्रम संस्कृति पार्टी ३२ हजार २३० मत प्राप्त गरी पहिलो भएको हो ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० हजार ३६९ मतसहित दोस्रो स्थानमा रहेको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ प्राप्त गरेको मतको तुलनामा समानुपातिकमा ३ हजार ५११ मत कम पाएको छ भने रास्वपाले प्रत्यक्षको तुलनामा समानुपातिकमा ३ हजार ४२० मत बढी प्राप्त गरेको छ ।

अन्य दलमध्ये नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ हजार ८७ मत, नेपाली कांग्रेसले ४ हजार ९९२, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३ हजार ९२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४४८ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ३२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुनसरी–१ मा खसेको कुल ८८ हजार ५०२ मतमध्ये ८५ हजार ३८२ मत सदर र ३ हजार १२० मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्क छ ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *