

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा गठित पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव ई. हरि मल्लले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाली समाजको वर्तमान संकटको जड धार्मिक विकृतिमा रहेको दाबी गर्दै “धर्म र पर्व विग्रिएपछि देश विग्रिएको हो” भन्ने धारणा सार्वजनिक गर्नुभएको छ। उहाँले देश सुधार गर्न सर्वप्रथम चाडपर्व सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।
मल्लका अनुसार अहिले नेपाल राजनीतिक र आर्थिक कारणले मात्र होइन, धर्म र सांस्कृतिक अभ्यास बिग्रिएको कारण गम्भीर संकटमा फसेको छ। “दिमाग चन्द्रदेवबाट र मुटु सूर्यदेवबाट निर्देशित हुन्छ,” भन्दै उहाँले चाडपर्व वैज्ञानिक प्रकृतिसँग जोडिनुपर्नेमा जोड दिनुभयो। यस क्रममा उहाँले हाल मनाइँदै आएका धेरै पर्व र नव वर्ष वास्तविक खगोलीय गणनाअनुसार नभएकाले एक महिना अघि सार्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो।

पत्रकार सम्मेलनमा “पर्व सुधार के हो?”, “पर्व सुधार किन आवश्यक छ?”, “धार्मिक पक्षका कमजोरीहरू”, “पर्व कसरी सुधार गर्ने?”, “छाया नाप्ने विधि”, “फलित ज्योतिष”, “संक्रान्ति र पूर्णिमाबीचको १८० डिग्री सम्बन्ध” तथा “ विश्वमा पर्व सुधारको इतिहास” जस्ता विषयमा विस्तृत जानकारी दिइएको थियो।

मल्लले दरबार हत्याकाण्डजस्तो राष्ट्रिय दुर्घटना पनि गलत समयमा पर्व मनाउँदा उत्पन्न भएको नकारात्मक ऊर्जाको परिणाम भएको जिकिर गर्नुभयो। साथै, पृथ्वी नारायण शाहले रिती थिती सुधार गर्न नसकेकोमा पश्चात्ताप गरेको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै उहाँले आजको नेतृत्वले त्यो अधुरो काम पूरा गर्नुपर्ने बताउनुभयो।

सरकारले प्रारम्भिक समर्थन जनाए पनि पर्व सुधारका प्रस्तावहरू कार्यान्वयनमा लैजान नसकेको गुनासो गर्दै मल्लले राजनीतिज्ञहरूको समर्थन रहे पनि निरन्तर आन्दोलन र दबाब बिना सुधार सम्भव नहुने धारणा राख्नुभयो। सम्मेलनको अन्त्यमा उहाँले राष्ट्र सुधारका लागि नागरिक, सरकार र धार्मिक संस्थाहरू मिलेर वैज्ञानिक र व्यवहारिक पर्व प्रणाली अपनाउन आग्रह गर्नुभयो।
National Press Club (राष्ट्रिय प्रेस क्लब)

