देउवाबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वास

देउवाबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वास

ram naam satya

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नु भएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।

शनिबार काठमाडौँमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो।

उहाँले पार्टीमा पुर्‍याउनु भएको योगदानको मूल्याङ्कन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनु भयो। त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताबाट आगामी दिनमा पनि अभिभावकीय भूमिका अझ बढी सक्रिय भएर लाग्न आग्रह गरेको छ। बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताउनु भयो।

नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा शनिबार केन्द्रीय कार्यसमिति बैठक बसेको हो।

 

निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शनिबार नयाँ बानेश्वरमा बैठक बसेको हो। यो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आधिकारिक मान्यतापछिको पहिलो बैठक हो।

बैठकले निर्वाचन आयोगले नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधान अनुसार मान्यता दिएको भन्दै यो कसैको जितहार नभएको प्रष्ट पारेको छ। ‘यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ’, बैठकको पहिलो निर्णयमा भनिएको छ।

 

बैठकले सहकार्यका लागि सबै नेतालाई अनुरोध गर्दै फागुन २१ गते निर्वाचनमा सशक्त सहभागी हुन आह्वान गरेको छ। ‘यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति र सबै भातृ तथा शुभेच्छुक संस्थाका साथीलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ’, बैठकको निर्णयमा भनिएको छ।

विभिन्न कारणले पार्टीबाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सबै साथीलाई पार्टीमा पुनः जोडिन आह्वान गरेको छ। बैठकले यो नयाँ अध्याय भएको भन्दै रूपान्तरणका लागि सबैसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *