

राधेश्याम विश्वकर्मा
भैरहवा (रुपन्देही) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट कारागार प्रशासनकै आग्रहमा बाहिर गएको बताउनुभएको छ । सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्यालले कारागार प्रशासनले पार्टीका नेताहरूसँग गरेको संवादको प्रमाण आफूहरूसँग रहेको दाबी गर्दै आवश्यक परे सम्बन्धित निकायमा बुझाउने जानकारी दिनुभयो ।

यद्यपि, उहाँले कारागारबाट बाहिरिने विषयसँग सम्बन्धित पत्रमा पार्टी सभापतिको कानून व्यवसायीले गरेको मस्यौदा उल्लेख गर्दा भने केही त्रुटि भएको स्वीकारोक्ति दिनुभयो ।
कार्यवाहक सभापति अर्यालले अहिले पार्टी सभापति अनुसन्धानकै क्रममा रहेको हुनाले पार्टीको महाधिवेशन गर्ने कुनै औचित्य नरहेको स्पष्ट पार्नुभयो । महाधिवेशन पार्टीको विधान अनुसार नियमित समयमै हुने उहाँको भनाइ छ ।
पार्टीका आगामी कार्यक्रमहरूबारे जानकारी दिँदै अर्यालले कार्तिक ११ गतेदेखि २५ गतेसम्म देशैभरि मतदाता परिचयपत्र बनाउनका लागि सहयोगी भूमिका निर्वाह गर्न पार्टी संयन्त्रलाई खटाउने बताउनुभयो । कार्तिक २५ गतेदेखि ३० गतेभित्र जिल्ला निर्वाचन कार्यालयमा सहजीकरण गर्ने र मंसिर १५ गतेबाट निर्वाचन केन्द्रित अन्य कार्यक्रमहरू सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेशलाई नै समेटेर वाचापत्र तयार गरिरहेको बताउनुभयो। पार्टीको घोषणापत्रमा राष्ट्र निर्माणका लागि राष्ट्रियता, जनता र राष्ट्रको विषयमा सुझाव भए उपलब्ध गराईदिन उहाँले आग्रह गर्नुभयो ।
जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको उहाँले बताउनुभयो । सरकारले उहाँहरूको आवाज नसुनेकै कारण कार्तिक २३ गते सो पुस्ता बाहिर आएको अर्यालको ठम्याइ रहेको छ । सरकारले आन्दोलनमा दमन गरेको र २४ गते विध्वंस भएकोले यस विषयमा कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँले धारणा राख्नुभयो । उहाँले राष्ट्रिय झण्डा समाएकै कारण अहिलेको सरकारलाई कारबाही गर्न नसकिने जिकिर समेत गर्नुभयो ।
अर्यालले अहिलेको सरकारले समयमै निर्वाचन गराउन सक्ने कुरामा रास्वपा विश्वस्त रहेको बताउनुभयो । निर्वाचन समयमा गराउन नसके सरकार असफल हुने र सरकारले आफैं असफल हुने काम नगर्ने आफूहरूको बुझाइ रहेको उहाँको धारणा छ । रासस


