

जाजरकोट, फागुन ९ : कुशे गाउँपालिका वडा नम्बर ८ का स्थानीय दीपक परियारले गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि विपक्षी दल तथा दलित समुदायप्रति तुच्छ व्यवहार गरेको आरोप लगाएका छन्। उनले बस्नेतले प्रयोग गरेका शब्द र व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका हुन्।
परियारले एक वक्तव्य जारी गर्दै बस्नेतले दलित समुदायप्रति अपमानजनक शब्द प्रयोग गरेको दाबी गरे। “दलित समुदायलाई तुच्छ देखाउने र अपमान गर्ने व्यवहार अस्वीकार्य छ,” उनले भने, “यस विषयमा तत्काल माफी मागिनुपर्छ र स्पष्ट जवाफ दिनुपर्छ।”

चुनाव जित्ने प्रक्रियामाथि पनि प्रश्न

परियारले हरिचन्द्र बस्नेतले दुई कार्यकालसम्म कसरी चुनाव जिते भन्ने विषयमा पनि प्रश्न उठाएका छन्। उनले धार्मिक प्रतीकको प्रयोग गरेर मत प्रभावित गरेको आरोप लगाउँदै निष्पक्ष राजनीतिक अभ्यासमाथि शंका व्यक्त गरे।

उनले गाउँपालिकाका विद्यालयहरूमा शिक्षक नियुक्ति गर्दा आफ्नै पार्टी निकट व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप पनि लगाए। “दरबन्दी वितरणमा निष्पक्षता देखिएको छैन,” परियारले दाबी गरे।
ठेक्का प्रक्रियामा अनियमितताको आरोप
परियारले गाउँपालिकामा भएका विकास निर्माणका ठेक्काहरूमा पनि अनियमितता भएको आरोप लगाए। उनका अनुसार केही ठेक्काहरूमा बस्नेतको परिवारका सदस्यको नाम प्रयोग गरेर कोटेसन हालिएको थियो।
“जनप्रतिनिधिले आफ्नो पदको दुरुपयोग गरेर पारिवारिक लाभ लिने प्रयास गरेको देखिन्छ,” उनले भने।
व्यक्तिगत अपमानको समेत आरोप
परियारले बस्नेतका भाइ, जो स्थानीय विद्यालयका प्रधानाध्यापक रहेको बताउँदै, लुगा सिलाएको रकम नदिने र उल्टै अपमानजनक व्यवहार गर्ने गरेको आरोप पनि लगाए। “पैसा माग्दा उल्टै दशैंमा मासु–भात खान आउनु भनेर अपमान गर्ने गरेकाे पनि” उनले बताए।
उनले आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएको स्पष्ट पार्दै यो विषय व्यक्तिगत नभई सामाजिक सम्मान र समानताको मुद्दा भएको बताए।
कुशे गाउँपालिकामा जनप्रतिनिधिमाथि लागेको यी आरोपहरूले स्थानीय तहको पारदर्शिता, सामाजिक समानता र उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ। सरोकारवाला निकायले यस विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने परियारको माग रहेको छ। NPC

