

काठमाडौं : पछिल्ला राजनीतिक घटनाक्रम, जेन्जी युवाको आन्दोलन र आसन्न निर्वाचनको सन्दर्भमा विभिन्न दलका नेताहरूले आ–आफ्ना धारणा सार्वजनिक गरेका छन्। युपि लामिछाने ले सुरक्षाको दृष्टिकोणबाट विगतमा पनि यस्ता घटनाहरू दोहोरिँदै आएको उल्लेख गर्दै पार्टी कार्यालयमा तोडफोड, झण्डा जलाउने तथा बालबालिकाको प्रयोग गरेर सामाजिक सञ्जालमा ‘भ्यु’ बढाउने प्रवृत्ति गलत भएको बताए। उनले भदौ २३–२४ गते भएको घटनाको अनुमान कसैले नगरेको दाबी गर्दै आवश्यक परे पार्टीका सबै नेतामाथि छानबिन गर्न सकिने धारणा राखे। साथै, निर्वाचनको मिति तय गर्दा फागु पूर्णिमाजस्तो महान् चाडलाई ध्यान दिनुपर्ने भए पनि मुलुकमा निर्वाचनबिना अर्को विकल्प नभएको उनको भनाइ थियो।

समीक बडाल ले जेन्जी आन्दोलनका क्रममा ठूलो क्षति भएको उल्लेख गर्दै सरकार शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गराउन गम्भीर नभएको आरोप लगाए। उनले निर्वाचन शान्ति र सुरक्षासहित सम्पन्न हुनुपर्नेमा जोड दिँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) सधैँ निर्वाचनप्रति प्रतिबद्ध र सहयोगका लागि तत्पर रहेको बताए। “कि विनाश रोज, कि विकास रोज” भन्ने नारासहित उनले सूचना प्रविधिलाई विनाशतिर होइन, विकासतर्फ लैजानुपर्ने र सामाजिक सञ्जाल नियमन आवश्यक रहेको धारणा राखे। जेन्जी आन्दोलन केवल सरकार ढाल्नका लागि मात्र गरिएको हो कि भन्ने प्रश्नसमेत उनले उठाए।


सुरेश पराजुलीले पाँच वर्षको अवधिमा काम पूरा हुन नदिँदा देश जटिल अवस्थामा पुगेको दाबी गरे। उनले जेन्जी युवाले सुशासन र भ्रष्टाचार नियन्त्रणको सामान्य माग राखेको उल्लेख गर्दै ०६२/०६३ को जनआन्दोलनको भावना कार्यान्वयन गर्न निर्वाचन हुन लागेको बताए। तत्कालीन सरकारले गोली चलाउने आदेश दिएको आरोप लगाउँदै उनले झण्डा च्यात्ने र अराजक गतिविधिमा संलग्न व्यक्तिले माफी माग्नुपर्ने धारणा व्यक्त गरे। यो निर्वाचन जनताको एकताको निम्ति भएको उनको भनाइ थियो।

राम प्रसाद भट्टराई ले मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अब निर्वाचन रोकिन नसक्ने स्पष्ट पारे। उनले जेन्जी पुस्तालाई भड्काइएको भन्ने आरोप अपमानजनक भएको बताउँदै विश्वमै छोटो समयमा प्रभाव पार्न सक्ने क्षमता युवामा रहेको टिप्पणी गरे। भदौ २३–२४ का घटनामा तत्कालीन सरकारले जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै सिंहदरबारमा आगजनी र सम्पदा क्षतिका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। निर्वाचन रोक्ने प्रयास भए आफ्नो पार्टी चुप नबस्ने चेतावनी दिँदै उनले देशका सम्पूर्ण धर्मप्रति सम्मान रहेको र नागरिकताजस्तो संवेदनशील विषयमा लापरवाही हुन नहुने धारणा व्यक्त गरे। NPC



