

वेइतुंग
चिनियाँ राष्ट्रपति सी चिनफिङले सेप्टेम्बर १९ को रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमार्फत वर्तमान चीन–अमेरिका सम्बन्ध र समान चासोका विषयमा इमान्दार र गहिरो विचार–विनिमय गरे र आगामी चरणमा दुई देशबीच स्थिर सम्बन्ध विकास गर्न रणनीतिक मार्गदर्शन दिए। सीले भने—चीन–अमेरिका सम्बन्ध अत्यन्तै महत्वपूर्ण छन्। दुवै देश एक–अर्काको सफलतामा सहयोग गर्न सक्छन् र सँगै समृद्ध बन्न सक्छन्, जसबाट दुवै राष्ट्र मात्र होइन, सम्पूर्ण विश्व लाभान्वित हुन्छ। ट्रम्पले भने—अमेरिका–चीन सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो। दुवै देशले सहकार्य गरेर विश्वशान्ति र स्थिरताका लागि धेरै उपयोगी काम गर्न सक्छन्। उनले आशा व्यक्त गरे—अमेरिकाले चीनसँग दीर्घकालीन र अझ राम्रो सम्बन्ध कायम राख्नेछ।

चिनियाँ रनमिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध संकायका प्राध्यापक त्याओ तामिङले सीएमजीलाई बताए—राष्ट्राध्यक्षस्तरीय कूटनीति चीन–अमेरिका सम्बन्धमा रणनीतिक नेतृत्वको भूमिका खेल्छ। राष्ट्राध्यक्षहरूको यस वार्ताले दुवै पक्षबीच व्यापार वार्तालाई अघि बढाउनेछ र द्विपक्षीय सम्बन्ध सामान्यतया स्थिर रहनेछ।

चिनियाँ कूटनीति कलेजका प्राध्यापक ली हाईतुंगले भने—राष्ट्रपति सीले वार्तामा चीनले शान्तिलाई मूल्यवान् मानेर भविष्य निर्माण गर्ने इच्छालाई व्यक्त गरे र अमेरिकालाई सही ऐतिहासिक दृष्टिकोणको स्थापना गर्न जोड दिए। दोस्रो विश्वयुद्धमा चीन र अमेरिका सँगै लडेका मित्रताको सम्झना दिलाउनु दुवै देशले आफ्नो ऐतिहासिक जिम्मेवारी र प्रमुख राष्ट्रका कर्तव्यलाई बुझ्न मद्दत गर्छ।

चिनियाँ सामाजिक विज्ञान अकादमीअन्तर्गतको ग्लोबल स्ट्राटेजी थिङ्क ट्याङ्कका अन्तर्राष्ट्रिय राजनीति विभागका निर्देशक चाओ हाईका विचारमा—यदि चीन र अमेरिकाले चर्चित ‘टिकटक मुद्दा’ समाधान गर्न सके भने दुवै देशका कम्पनीहरूले एक–अर्काको बजारमा कारोबार गर्ने आधार तयार हुनेछ र अरू व्यापारसम्बन्धी समस्या समाधानमा पनि सहयोग पुग्नेछ।
स्थानीय विश्लेषकहरूको भनाइमा—यदि दुवै देश राष्ट्राध्यक्षहरूको रणनीतिक मार्गदर्शनमा अडिग रहन्छन् र उनीहरूको मुख्य समानतालाई दृढतापूर्वक कार्यान्वयन गर्छन् भने चीन र अमेरिकासँग मतभेद नियन्त्रण गर्ने मात्र होइन, नयाँ युगमा सहकार्य र साझा–जीतको बाटो निकाल्ने क्षमता हुनेछ।

