

काठमाडौं : नेपाली उपभाेक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले देशमा बढ्दो स्वास्थ्य समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अहिले “हरेक घरमा क्यान्सरजस्ता रोग देखिन थालेको” बताएका छन्। उनले बजारमा उपलब्ध दाल, तेल लगायतका दैनिक उपभोग्य खाद्य पदार्थमा हानिकारक वस्तु मिसावट भइरहेको दाबी गर्दै नागरिकले स्वस्थ र सुरक्षित खानेकुरा पाउने अधिकार सुनिश्चित गर्न नयाँ सरकारलाई आह्वान गरे। उनका अनुसार विषादीयुक्त खानेकुरा सेवनकै कारण मानिसहरू सामान्य काम गर्नसमेत असमर्थ हुने अवस्था सिर्जना भइरहेको छ।
साउदले स्वास्थ्य क्षेत्रमा देखिएको अनियमितताप्रति पनि असन्तुष्टि जनाउँदै मेडिकल क्षेत्रमा “माफिया प्रवृत्ति” मौलाएको आरोप लगाए। उनले आवश्यक नहुँदा पनि नर्मल डेलिभरी नगरी अपरेशनमार्फत बिरामीबाट बढी शुल्क असुल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यस्तो कार्य रोक्न सरकारलाई कडा नियमन लागू गर्न आग्रह गरे। साथै, उनले म्याद नाघेका (date expired) खाद्य वस्तुहरूको प्रमाणसहित सम्बन्धित निकायमा जाँदा समेत आफूलाई नै गलत सावित गरिएको अनुभव सुनाउँदै उपभोक्ता अधिकार संरक्षणमा कमजोरी रहेको बताए।

उनले बढ्दो महँगीका कारण उपभोक्ताहरू थप मारमा परेको उल्लेख गर्दै पुराना ऐन–कानुनले वर्तमान समस्या समाधान गर्न नसकेको धारणा राखे। साउदले नयाँ सरकारले समयानुकूल नयाँ नीति तथा कानुन निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। खाद्य सुरक्षा, स्वास्थ्य सेवा सुधार र उपभोक्ता अधिकार सुनिश्चितताका लागि ठोस कदम चालिएन भने अवस्था अझ जटिल बन्ने उनको चेतावनी छ । NPC


