

काठमाडाैं : वर्तमान राजनीतिक अवस्थालाई विश्लेषण गर्दै मतदाताले अब परम्परागत शक्तिभन्दा नयाँ नेतृत्वतर्फ आकर्षित भएको डा. विजय मिश्रले बताएका छन्। उनले कुलमान घिसिङलाई मन्त्री बनाउने विषय आएमा अनौठो नहुने र बालेन शाहलाई संसदको नेता बनाउनु उपयुक्त हुने धारणा व्यक्त गरे। उनका अनुसार सात बुँदे अवधारणा मार्गनिर्देशक सिद्धान्तसरह रहेको छ भने बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदलाई प्रमाणपत्र दिएपछि संसद पूर्ण हुने र मुद्दाको अन्तिम फैसला नआएसम्म रवि लामिछाने नेतृत्वमा रहन सक्ने अवस्था बन्ने बताएका छन्। उनले बालेन शाहलाई केवल डिजिटल नेतामा सीमित नरही व्यवहारिक नेतृत्व देखाउन आग्रह गर्दै हर्क साम्पाङसँग सहकार्य भए भ्रष्टाचार नियन्त्रणमा ठोस सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

देशमा लामो समयदेखि अपेक्षित विकास नहुँदा जनतामा असन्तुष्टि बढ्दै गएको नन्द बहादुर सिंहले बताएका छन्। उनका अनुसार ३५ वर्षसम्मको विकासको प्रतीक्षापछि नयाँ पुस्ताको आन्दोलन देखिएको हो। उनले नेपालमा जातजातिको विविधता भए पनि सबैलाई एउटै “शुद्ध नेपाली” पहिचानमा एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। साथै, नेपालको स्वाभिमानमा आँच आउने कुनै पनि कार्य नगर्न, राष्ट्रिय स्रोत–साधनको सदुपयोग गर्दै उद्योग र उत्पादनमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। विदेशमा रहेका नेपालीलाई आकर्षित गर्ने वातावरण बनाउँदै सातै प्रदेशमा औद्योगिकीकरण गरी देशलाई आत्मनिर्भर बनाउने उनको मुख्य सुझाव रहेको छ।


नेपाललाई समृद्ध बनाउन ज्ञान, प्रविधि र नवउद्यमशीलताको महत्वपूर्ण भूमिका हुने डा. सागर ढकालले बताएका छन्। उनले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको आशा र भरोसा अनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन्। अमेरिका र अष्ट्रेलियाजस्ता देशको उदाहरण दिँदै उनले शिक्षा, स्वास्थ्य र प्रविधिमा सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन्। सामाजिक उद्यमशीलता र नवपरिवर्तनमार्फत देशलाई आर्थिक रूपमा बलियो बनाउँदै नेपाललाई समुन्नत र आत्मनिर्भर राष्ट्र बनाउने उनको निष्कर्ष रहेको छ। NPC


