

काठमाडौं : मुलुकको राजनीतिक अवस्था, निर्वाचन, २३ र २४ गते भएका आन्दोलन, तथा नयाँ पुस्ताको भूमिकाबारे प्रा. डा. गान्धी पण्डित, निर्मल भट्टराई र भुवन पाठकले आ–आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनीहरूको अभिव्यक्तिले आगामी चुनाव, सत्ता संघर्ष र सामाजिक रूपान्तरणको बहसलाई थप चर्काएको छ ।

प्रा. डा. गान्धी पण्डित : ‘हार स्वीकार्ने संस्कार र नयाँ पुस्ताको उदय आवश्यक’

प्रा. डा. गान्धी पण्डितले साधारण जनताले आफूले चाहेको उम्मेदवारलाई मत दिएर जिताउने अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए। उनका अनुसार २३ र २४ गतेको आन्दोलनका क्रममा सही निर्णय र सम्झौता भए पनि ती दिनमा जनताभन्दा अराजक तत्व प्रवेश गरेको दाबी गरिएको छ।

उनले निर्वाचनको मूल मर्म जित्नेले सरकार सम्हाल्ने र हार्नेले शान्तिपूर्वक स्वीकार गर्ने संस्कार हुनुपर्ने बताए। “केपी शर्मा ओलीले हारे पनि हार स्वीकार गर्नुहुन्छ,” भन्दै उनले गगन थापा र बालेन साह सरकारमा आए पनि मुद्दा नचलाउन आग्रह गरेको उल्लेख गरे। पण्डितले नयाँ पुस्तालाई राजनीतिमा अघि बढाउनुपर्ने र पुरानो पुस्ताले क्रमशः बहिर्गमनकाे बाटाे लिनु पर्ने धारणा व्यक्त गरे।

निर्मल भट्टराई : ‘चुनाव कांग्रेस–एमालेबीचको लडाइँ हो’
निर्मल भट्टराईले आयोगको प्रतिवेदन आउँदैमा तत्काल ठूलो फरक नपर्ने दाबी गर्दै अहिलेको राजनीतिक अवस्थामा कांग्रेस र एमाले दुवैको संलग्नता रहेको संकेत गरे। उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की कांग्रेसकै पृष्ठभूमिबाट आएको र उनले लोकतन्त्रविरोधी काम नगर्ने जिकिर गरे।
२३ गतेको घटनामा सरकारले कलेज ड्रेसमा आएका बालबालिकादेखि सलाई र पेट्रोल बोकेर आउनेसम्मको छानबिन गर्नुपर्ने भन्दै उनले सिंहदरबारमा दोस्रोपटक आगलागी भएको प्रसंग पनि उठाए।
भट्टराईले झापामा केपी ओली पराजित नहुने दाबी गर्दै बालेनलाई त्यहाँ लगेर भिडाउँदा हार्ने षड्यन्त्र रवि लामिछानेले गरेको आरोप लगाए। “यो चुनाव एमाले र कांग्रेसबीचको संघर्ष हो, अन्ततः यी दुईमध्ये एउटाले जित्छ,” भन्दै उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री बन्छु भनेर लेख्दैमा प्रधानमन्त्री नहुने टिप्पणी गरे।
भुवन पाठक : ‘रेमिटेन्समा चलेको देश र दिशाविहीन नयाँ पुस्ता’
भुवन पाठकले झण्डै ६० लाख नेपाली विदेशमा रहेको र उनीहरूले पठाएको रेमिटेन्सले देश चलेको उल्लेख गरे। अहिले विद्यार्थीहरूले एसईई पास गर्नेबित्तिकै विदेश जाने पासपोर्टको खोजी गर्ने अवस्था आएको उनको भनाइ छ।
२३ र २४ गतेको आन्दोलनलाई ‘अर्गानिक’ भन्दै उनले २४ गतेको घटनापछि रातभर निदाउन नसकेर राजीनामा दिएको बताए। उनले दुवै दिन भएका घटनामा संलग्न अपराधीलाई सजाय हुनुपर्ने र आन्दोलनमा सहभागी सबैको भूमिका छानबिन हुनुपर्ने माग गरे।
जेन्जी (Gen Z) को प्रतिनिधित्व गर्ने नेता को हो भन्ने प्रश्न उठाउँदै पाठकले नयाँ पुस्ताको लक्ष्य र गन्तव्य स्पष्ट नभएको टिप्पणी गरे। उनले राष्ट्रवादी शक्तिको जित हुनुपर्ने र राजा फर्किए सबैले स्वागत गर्ने दाबी पनि गरे।
वक्ताहरुले २३–२४ गतेको आन्दोलन, आगामी निर्वाचन, कांग्रेस–एमालेबीचको शक्ति संघर्ष, र नयाँ पुस्ताको भविष्यबारे फरक–फरक दृष्टिकोण प्रस्तुत गरेका छन्। एउटै घटनालाई लिएर आएका यी विविध व्याख्याले मुलुकको राजनीतिक बहस अझ तीव्र बनाएको छ। NPC

