

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरू उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।
प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।

रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।
नवनियुक्त १५ मन्त्रीले लिए शपथ
प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त १५ जना मन्त्रीले शपथ लिएका हुन।
प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन् ।
त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्री निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन र वातावरणमन्त्री गीता चौधरी, श्रम, रोजगार मन्त्री दीपक साह र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पद तथा गोपनीयताको शपथ लिएका छन् । GP


