प्रधानमन्त्री ओलीद्वारा आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

प्रधानमन्त्री ओलीद्वारा आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

प्रधानमन्त्री केपी ओलीले मंगलबार प्रतिनिधिसभामा आफ्नो चीन भ्रमणबारे जानकारी गराउनुभएको छ। उहाँले चीनसँग व्यापार तथा पारवाहन सम्झौताको प्रोटोकलमा आउँदो महिना भित्र हस्ताक्षर हुने बताउनुभयो। संसदमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले प्रोटोकलको विषयमा छलफल भइरहेको बताउनुभएको छ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले प्रधानमन्त्री ओलीलाई व्यापार तथा पारवाहन सम्झौता टुङ्गो नलागेको अवस्थामा अन्य सम्झौता कार्यान्वयन कसरी हुन्छ भनेर प्रश्न गर्नुभएपछि जवाफमा ओलीले सन् २०१६ मा आफ्नो चीन भ्रमणका बेला व्यापार तथा पारवाहन सम्झौतामा हस्ताक्षर भएको र अहिले प्रोटोकलमा हस्ताक्षरका लागि छलफल भइरहेको बताउनुभयो।

ओलीले आफू चीन भ्रमणबाट फर्किए लगत्तै सरकारबाट बाहिरिनु परेको उल्लेख गर्दै त्यसपछिको सरकारले सम्झौतामा ध्यान नदिएको व्यङ्ग समेत गर्नुभयो।

‘सन् २०१६ को मार्चमा म प्रधानमन्त्री भएर जाँदा समझदारी भएको थियो। लगत्तै म सरकारबाट हटेँ’, ओलीले भन्नुभयो, ‘पहिलो त ट्रान्जिट, ट्रान्सपोर्ट एग्रिमेन्ट कहाँ छ भनेर खोज्न समय लाग्यो। कुन पत्र मुनि परेको छ खोजियो। धुलो टकटकाएर अगाडि बढाइयो। छलफल अगाडि बढेको छ।’

उहाँले चीनसँगको संयुक्त वक्तव्यमा समेत जुलाईमा सम्झौता हुने उल्लेख रहेको बताउनुभयो।

‘आउँदो जुलाइमा प्रोटोकल तयार हुन्छ। सम्झौता पनि हुन्छ’, ओलीले भन्नुभयो’संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ। प्रोटोकल तयार गरिन्छ र हस्ताक्षर हुन्छ।’

बडुले ओलीलाई लिपुलेकको विषयमा समेत प्रश्न गर्नुभएको थियो। भारत र चीनले नेपाली भूमी लिपुलेक हुँदै नाका विस्तार गर्ने समझदी गरेका थिए। नेपालले उक्त भूमी आफ्नो रहेको दावी गर्दे आएको छ।

ओलीले जवाफमा लिपुलेक शब्द प्रयोग नगरी सीमा रक्षा गर्ने बताउनुभयो। ‘हाम्रो सीमा कुनै पनि नाममा, बहानामा कुनै पनि हिसाबले कसैसँग भूमीको, सीमाको, लेनदेन हुदैँन’, ओलीले भन्नुभयो, ‘हाम्रा छिमेकी जोसँग हाम्रो सिमाना जोडिएको छ। हाम्रो देश सानो छ। तर सानो देशले छाडी छाडी सम्झौता गर्नुपर्छ भन्ने हुँदैन। हामी कुनै पनि हिसाबले सीमाको सुरक्षा गर्छौं।’

ओलीले सीमाको विषयलाई इंगित गर्दै कतिपय विषय अझै टुंगिन बाँकी रहेको बताउनुभयो।

‘कतिपय कुरा कसरी भए ती कुरा मन्त्रालयगत र विषयगत अध्ययन गर्न समय लाग्ने भयो। यत्तिकै कुरा उठाउनु, कुरा उठाउनु र निष्कर्षमा नपुर्‍याउनु उचित हुँदैन’, ओलीको भनाई थियो।

५ असारदेखि चीनको भ्रमण गरेका ओली आइतबार स्वदेश फर्किनुभएको थियो।

चीन भ्रमणमा जानुअघि ४ असारमा पनि संघीय संसद्का दुवै सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको थियो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *